पेट्रोल ट्याङ्कर विस्फोट तान्जानीयामा कम्तीमा ६० को मृत्यु

रासस/सिन्ह्वा

दार एस सलाम — पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । 

प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । “हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,” प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए ।

उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् ।

जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो ।

ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो ।

प्रकाशित : श्रावण २५, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ मा नाम र राजधानी तोक्ने प्रकिया सुरु

सन्तोष सिंह

(धनुषा) — प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेशको नाम राजधानी तोक्ने प्रक्रिया थालेका छन् । प्रदेशसभा कार्य सञ्चालन पहिलो संशोधन नियमालीले प्रदेश २ को नाम र राजधानी तोक्ने मार्ग खुलाएपछि सभामुख यादवले प्रक्रिया अघि बढाएका हुन् ।

पहिलो पटक संशोधन भएको नियमावलीको व्यवस्थाअनुसार सभामुख यादवले प्रदेशको नमाकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ताको सूचना आइतबार निकाल्ने तयारी रहेको प्रदेश २ संसद् सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार प्रदेशको नामासम्बन्धीको प्रस्ताव दर्ता गराउने समय साउन २६ देखि भदौ १२ गतेसम्म तोकिने छ ।

शनिबार सर्वदलीय बैठक बोलाएर सभामुख यादवले प्रदेशको नाम र राजधानीको प्रस्तावका लागि सूचना निकाल्ने निर्णय गराएका हुन् । नियमावली संशोधन मस्यौदा समिति सभापति रामसरोज यादवले पहिलो संशोधन नियमावलीसम्बन्धी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव शनिबार सर्वसहमतिबाट पारित भएपछि सभामुख यादवले प्रदेशको नामसम्बन्धी प्रस्तावका लागि सूचना निकाल्ने तयारी गरेका हुन् । नियमावलीको नियम ७३ पछि राजधानी र प्रदेशको नमाकरणको निर्णयसम्बन्धी व्यवस्था थप गरिएको छ ।

संशोधित नियमावलीमा नमाकरणसम्बन्धी प्रस्तावको लागि दर्ताको सूचना सभामुखले तोके बमोजिम हुने र दुई जना सांसदको समर्थनसहित कुनै पनि प्रदेशसभा सदस्यले प्रस्ताव सचिवलाई बुझाउने व्यवस्था गरिएको छ । दर्ता भएको प्रस्ताव समितिमार्फत टुंगो लगाएर दुई तिहाइ बहुमतको प्रक्रियाबाट पारित भएपछि सभामुखले प्रस्ताव बमोजिमको नाम कायम गर्न सक्ने छन् ।
नाम र राजधानीबारे प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विभाजित छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरबारे एक मत भए पनि प्रदेशको नामबारे एउटै दलका सांसद्‌मा पनि फरक मत देखिन्छ । सता पक्ष समाजवादी पार्टी र राजपा प्रदेशको नाम मधेस र राजधानी जनकपुर राख्ने तयारीमा छन् । प्रतिपक्ष नेकपा र नेपाली कांग्रेसका सांसद मधेसको विकल्पमा मिथिला, मिथिला–भोजपुरा र जानकी प्रदेशको पक्षमा छन् । नाम र राजधानी तोक्न आवश्यक दुई तिहाइ भने सता पक्ष र प्रतिपक्ष कसैसँग छैन ।

प्रदेश २ मा सत्ता पक्ष समाजवादी २९ र राजपाको २५ सांसद छन् ।

प्रकाशित : श्रावण २५, २०७६ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्