भाकपाका नेताद्वय यचुरी र राजा पक्राउ

(एजेन्सी)

श्रीनगर — भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सिताराम यचुरी र नेता डि राजा शुक्रबार पक्राउ परेका छन् । नेताद्वयलाई विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।

उनीहरू जम्मु–कश्मीर क्षेत्रका पार्टी नेता तथा कार्यकर्तालाई भेट्न जाने क्रममा पक्राउ गरिएको पार्टीले जनाएको छ । घटनाप्रति भाकपा ले विरोध जनाउादै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ ।

जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयविरुद्धमा भाकपा नेता/कार्यकर्ताले देशव्यापी प्रदर्शन गर्दै आएका छन् । उनीहरू जम्मु–कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन् । भारतको केन्द्रीय सरकारले लोकतन्त्रविरोधी कदम चालेको भाकपाको भनाई छ ।

भाकपा महासचिव यचुरी र नेता राजाले जम्मु–कश्मीर भ्रमणका क्रममा आफूहरूलाई कुनै अवरोध नहुने वातावरण मिलाउन राज्यका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गरेका थिए । येचुरीले पार्टीको लेटरहेडमा मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत सार्वजनिक गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्

नोबेल विजेता मोरिसन रहिनन्

(एजेन्सी)

वासिङटन — नोबेल पुरस्कार विजेता लेखिका टोनी मोरिसनको मंगलबार निधन भएको छ । अमेरिकामा प्रभावशाली अश्वेत महिलाको परिचय कमाएकी मोरिसन साहित्यतर्फको नोबेल पुरस्कार विजेता हुन् ।


पारिवारिक स्रोतका अनुसार छोटो समयका लागि बिरामी परेकी मोरिसनको मंगलबार निधन भएको हो। उनी ८८ वर्षकी थिइन्।

परिवारद्वारा जारी विज्ञप्तिमा ‘एक असल आमा, हजुरआमा तथा काकीले आफ्नो परिवार तथा साथीहरूको माझमा शान्तिपूर्ण रूपमा देहत्याग गरेकी’ जनाइएको छ। परिवारले विज्ञप्तिमार्फत ‘मरिसनलाई चिन्ने र माया गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको’ छ।

सन् १९७० मा पहिलो उपन्यास ‘द ब्ल्युएस्ट आई’ प्रकाशन गरेकी थिइन्। उनका ११ उपन्यासमध्ये अधिकांश लोकप्रिय छन्। उनका सुला, सङ अफ सोलोमन, टार बेबी, बिलोभेड, ज्याज, प्याराडाइज, लभ, अ मर्सी, होम र गड हेल्प द चाइल्ड उपन्यास प्रकाशित छन्।

सन् १९९३ मा स्विडिस एकेडेमीले उपन्यासमार्फत अमेरिकी जीवनको वास्तविकताको पक्ष उजागर गरेको जनाउँदै ‘बिलोभेड’ कृतिका लागि साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरेको थियो। उनी साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला हुन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई सन् २०१३ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए। उनी ‘र्‍यान्डम हाउस’ को सम्पादक बन्ने पहिलो अफ्रिकी–अमेरिकी महिलासमेत हुन्।

प्रकाशित : श्रावण २१, २०७६ २१:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्