कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा अब्बल नेपाली युवा

दिनेशजंग शाह

न्युयोर्क — नेपाली मुलका एक विद्यार्थी, न्युयोर्क सिटीको हाइस्कुलस्तरीय इन्जिनियरिङ प्रतिस्पर्धामा अब्बल ठहरिएका छन् । ‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ नाम दिइएको इन्जिनियरिङ प्रतियोगितामा जीवन बाँस्तोला उत्कृष्ट भएका हुन् । 

सुर्खेतमा जन्मिएका १९ वर्षीय बाँस्तोलाले बनाएको काठको पुलले प्रतिस्पर्धामा अन्य सहभागीको डिजाइनलाई उछिनेको हो । ‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ खासगरी कलेज जान तयारी गरिरहेका हाइस्कुलका विद्यार्थीबीच हुने विज्ञान संकायको प्रतियोगिता हो ।


हरेक वर्ष ‘न्युयोर्क सिटी गर्भेमेन्ट’ को भूमि एवं जल संरक्षण विभागको आयोजनामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने गर्छ । प्रतियोगिताका सहभागीले आआफनो विधाका विषयमा प्रश्नोत्तर एवं प्रयोगात्मक दुवैखाले परीक्षाको सामना गर्नुपर्छ । जोन ब्राउन हाइस्कुलमा आयोजित प्रतियोगितामा ‘द ग्रोबर क्लिभल्यान्ड हाइस्कुल’ को स्टिम रिसर्च टिमको नेतृत्व बाँस्तोलाले गरेका थिए ।


प्रतियोगितामा हाइड्रोलिक प्रेस प्रयोग गरेर पुलको स्तरीयता जाँच गरिन्छ । काठबाट बनाइने पुलको तौल सकेसम्म कम हुनुपर्ने र त्यसले अधिकतम वजन धान्नुपर्ने नियम छ । बाँस्तोलाले बनाएको १२.७ ग्रामको पुलले २४.४ किलोग्राम वजन धान्ने पुलले उपाधि जितेको हो ।


बाँस्तोलाको उत्कृष्ट सिर्जनालाई न्युयोर्कका स्थानीय सञ्चार माध्यमहरूले प्राथमिकतासाथ समाचार प्रकाशन/प्रसारण गरेका थिए । कान्तिपुरसँगको कुराकानीमा बाँस्तोलाले भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने इच्छा रहेको बताए । उनले भने, ‘भविष्यमा उच्च प्रविधिकै आफ्नै कम्पनी खडा गर्ने सपना पनि छ ।’ सफलताको अर्थ सधैं महान् बन्नु मात्र नरहेको तर्क गर्दै बाँस्तोलाले कर्मको निरन्तरता र कडा परिश्रमबाट सफलता प्राप्त गर्न सकिने आफ्नो विश्वास रहेको बताए । ‘भविष्यमा कहींकतै आफ्नो जन्म देशको नाम राख्न सकिन्छ भन्ने मेरो ध्याउन्न छ,’ उनले भने ।


‘द ग्रोबर क्लिभल्यान्ड हाइस्कुल’ को साइन्स रिसर्च टिमका अब्बल विद्यार्थी बाँस्तोला, तीन वर्षअघि आफ्ना परिवारसँगै नेपालबाट अमेरिका आएका हुन् । विद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल उनले हालै १२ कक्षा पूरा गरेका छन् ।


हालै भएको विद्यालयको दीक्षान्त समारोहमा उनले भौतिकशास्त्रमा गोल्ड मेडल पाएका थिए । अमेरिकी राष्ट्रपति अवार्डसमेत जितेका बाँस्तोलालाई न्युयोर्क सिटी काउन्सिलले ‘एजुकेसन एक्सिलेन्सी’ अवार्ड पनि प्रदान गरिसकेको छ ।

प्रकाशित : श्रावण १३, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?