चिसिँदै टर्की अमेरिका सम्बन्ध

अमेरिकी विरोधबीच टर्कीले भित्राएको ‘एस–४००’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जमिनबाट आकाशमा प्रहार गर्ने सबैभन्दा अत्याधुनिक प्रणाली हो 
एजेन्सी

अंकारा — अमेरिकी विरोधका बाबजुद टर्कीले रूससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी इस्तानबुल पुगेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी राजधानी अंकारास्थित एक विमानस्थलमा शुक्रबार आइपुगेको हो ।

टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रूसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ । टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य हुन् तर टर्कीले रूससँग पनि नजिकको सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको देखिन्छ । टर्कीले एक सय एफ–३५ लडाकु विमान किन्न अमेरिकासँग सम्झौता गरिसकेको छ ।


बीबीसीका अनुसार एफ–३५ का लागि टर्कीले ठूलो रकम खर्च गरिसकेको छ । टर्कीले रूसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबर रकम खर्च गरिसकेको छ । अमेरिकी अधिकारीले नेटो हवाई प्रतिरक्षा प्रणालीमा उक्त क्षेत्रका लागि रूसी ‘एस–४००’ प्रणाली अमिल्दो भएको दाबी गर्छन् । रूसी प्राविधिकहरूले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले उक्त विमानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिक राख्न चाहँदैनन् ।


अमेरिकाले रूसी प्रतिरक्षा प्रणाली पूर्णरूपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने जनाएको छ । त्यसका साथै अमेरिकी अधिकारीले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएको छ ।

नेटो सदस्य राष्ट्रका लागि रूसबाट यस प्रकारका हतियार तथा प्रतिरक्षा प्रणाली खरिदको सम्झौता अभूतपूर्व हो । अमेरिकी चेतावनीसँगै दुई नेटो मुलुकबीच द्वन्द्व बढ्ने देखिएको छ ।


टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि ‘अमेरिकाले आफ्नो देशविरुद्ध आर्थिक प्रतिबन्ध नलगाउनेमा आफू विश्वस्त रहेको’ बताएका छन् । अमेरिकाले यसअघि नै टर्कीलाई हवाईजहाज पठाउन रोक्दै पाइलट तालिमसमेत स्थगित गरिसकेको छ ।


यद्यपी, २९ सदस्यीय नेटोमा दोस्रो ठूलो सेना रहेको टर्कीमाथि अमेरिकाले तत्कालै कुनै प्रतिबन्ध लगाइहाल्ने निर्णय भन्न गर्न कठिन छ । सिरिया, इराक र इरानसँग सीमा जोडिएको टर्की रणनीतिक स्थानमा समेत छ । त्यसका साथै अमेरिकाको मुख्य सहयोगी टर्कीले सिरिया द्वन्द्वमा संलग्न विद्रोहीलाई हातहतियार उपलब्धसमेत गराउँदै आएको छ ।


एस–४०० ले कसरी काम गर्छ ?

एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीअन्तर्गतको राडारले लामो दूरी रेखदेख गर्न सक्छ । उक्त राडारले कुनै पनि नौलो वस्तु पहुँचमा देखिनेबित्तिकै नियन्त्रण गाडीमा सूचना दिन्छ । त्यसलगत्तै अर्को गाडीमा रहेको राडारले सम्भावित लक्ष्य तय गर्छ । नियन्त्रण गाडीबाट क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा निकट र राम्रो अवस्थामा रहेको गाडीमा सूचना दिइन्छ जसले भूमिबाट आकाशमा क्षेप्यास्त्र प्रहार गर्छ । उक्त क्षेप्यास्त्रलाई लक्ष्यसम्म पुग्न राडारले सहयोग गर्छ ।

प्रकाशित : असार २७, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्

इरानले तेल ट्यांकरमा अवरोध गर्‍यो : बेलायत

एजेन्सी

लन्डन — बेलायतले खाडी क्षेत्रमा आफ्ना तेल ट्यांकरलाई इरानी पानीजहाजहरूले रोक्ने प्रयास गरेको जनाएको छ । बेलायत सरकारका प्रवक्ताका अनुसार आफ्ना ट्यांकरमाथि अवरोध पुर्‍याउन खोज्ने तीनटा इरानी पानीजहाजलाई धपाइएको जनाएका छन् । बेलायतले ‘अन्तर्राष्ट्रिय कानुनविपरीत’ इरानले आफ्ना ट्यांकरलाई रोक्ने प्रयास गरेको भन्दै उक्त कार्यको भर्त्सना गरेको छ । 


बेलायती रक्षा मन्त्रालयका अनुसार इरानी पानीजहाज तथा बेलायती ट्यांकरको बीचमा बेलायती नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेर इरानी जहाजलाई मौखिक चेतावनी दिएको थियो । गतसाता इरानले जिब्राल्टार टापुनजिकै आफ्नो ट्यांकर कब्जा गरिएपछि त्यसको बदला लिने बताइरहेका बेला उक्त घटन भएको हो ।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले इरानी रेभोल्युसनरी गार्ड कोरको स्वामित्वका जहाजहरूले ‘ब्रिटिश हेरिटेज’ नामक ट्यांकरलाई खाडीबाट स्ट्रेट अफ होर्मुजतर्फ जाँदै गर्दा अवरोधको प्रयास गरेका जनाएका छन् । सञ्चारमाध्यमका अनुसार त्यसलगत्तै ट्यांकरको सुरक्षामा सँगै रहेको बेलायती नौसैनिक जहाज एचएमएस मन्ट्रोजले जहाजतिर बन्दुक ताकेर फर्कन चेतावनी दिएपछि इरानी जहाज फर्केका थिए ।

गत साता बेलायती रोयल मरिनको सहयोगमा एक इरानी तेल ट्यांकरलाई जिब्राल्टारमा कब्जामा लिइएको थियो । युरोपेली संघले लगाएका प्रतिबन्ध उल्लंघन गर्दै उक्त ट्यांकर सिरियातर्फ गइरहेको भन्दै नियन्त्रणमा लिइएको थियो । उक्त घटनापछि इरानी विदेश मन्त्रालयले बेलातयी राजदूतसँग सोधपुछ गर्दै बेलायतले ‘समुद्री डकैती’ शैलीमा आफ्नो ट्यांकर कब्जा गरेको भन्दै विरोध जनाएको थियो । घटनापछि एक इरानी अधिकारीले ट्यांकर फिर्ता नभए बेलायती ट्यांकर कब्जा गर्ने चेतावनी दिएका थिए ।

इरानी राष्ट्रपति हसन रौहानीले बुधबार आफ्ना ट्यांकर वरपर सैन्य जहाज खटाएर त्रसित मानसिकता प्रदर्शन गरेको भन्दै बेलायतप्रति व्यंग्य गरेका थिए । यी पछिल्ला घटना इरान र अमेरिकाबीच चर्कंदो तनावमाझ भएका छन् ।सन् २०१५ को इरानी परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेसँगै दुई देशबीचको तनाव चुलिएको छ । तर सम्झौताका पक्षधर बेलायतसहित अन्य युरोपेली देशहरूले सम्झौताप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

यद्यपि, पछिल्लो समय बेलायत र इरानबीच देखिएको तनावका कारण परमाणु सम्झौता संकटमा परेको आंकलन गरिएको छ । यसअघि गत जुनमा दुइटा तेल ट्यांकरमाथि गरिएको आक्रमणमा इरानले गरेको बेलायतको आरोप छ ।
आरोप झूटो : इरान
‘तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अवरुद्ध गरेको बेलायतको आरोप झूटो’ भएको इरानले दाबी गरेको छ । ‘बेलायती तेल ट्यांकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा कुनै सत्यता नरहेको’ इरानी गार्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘विगत २४ घण्टामा बेलायतसमेतका कुनै पनि जहाजमाथि आक्रमण गरिएको छैन,’ विज्ञप्तिमा उल्लेख छ । बेलायत सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दैर् ‘तीनवटा इरानी पानीजहाजमा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्यांकरमा आक्रमण प्रयास गरेको’ दाबी गरेको थियो ।

एचएमएस मोन्ट्रोज युद्धपोतले इरानी आक्रमणलाई निस्तेज बनाएको बेलायतको भनाइ छ । तर विदेशी जहाज नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले ‘तत्कालै, निर्णायक र तीव्रता’ का साथ गर्न सक्ने इरानले दाबीसमेत गरेको छ । जिब्राल्टारको तटीय क्षेत्रबाट गत जुलाई ४ मा इरानी तेल ट्यांकरलाई बेलायतले नियन्त्रणमा लिएपछि दुवै देशबीच तनाव जारी छ । करिब २० लाख ब्यारेल तेल बोक्ने क्षमताको ‘ग्रेस १’ नामक तेल ट्यांकर बेलायती रोयल मरिनको सहयोगमा जिब्राल्टरका भन्सार अधिकारी तथा प्रहरीले नियन्त्रणमा राखेको छ ।

इरानी सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै इरानी राष्ट्रपति रौहानीले बेलायतले होर्मुजको जलक्षेत्रमा असुरक्षा बढाएको र त्यसको नतिजा बेलायतले भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित : असार २६, २०७६ २१:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×