अस्ट्रेलियाको ट्राफिक नियममा कडाई

गाडी चलाउँदा मोबाइल प्रयोग गरे हजार डलर जरिवाना
नारायण खडका

अस्ट्रेलिया — अस्ट्रेलियामा सवारी साधन चलाइरहेको अवस्थामा मोबाइल फोनको प्रयोग गरे हजार अस्ट्रेलियन डलर (करिब ८० हजार रुपैया) जरिवाना हुने भएको छ । अधिकारीका अनुसार यो निमय क्वीन्सल्याण्ड राज्यमा केही महिनापछि लागु हुने छ । यसलाई विश्वकै कडामध्येको एक ट्राफिक नियम मानिएको छ । 

स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गर्दै क्वीन्सल्याण्डमा सवारी साधन चलाउँदा मोबाइलको प्रयोगकै कारण भएका दुर्घटनामा २ महिनाको अवधिमा ४० जनाको मृत्यु भएपछि यो नियम ल्याइएको हो । राज्यका यातायातमन्त्री मार्क बेलीले नयाँ नियम आवश्यकता अनुसार ल्याइएको बताउँदै यथाशिघ्र लागू गरिने बताए ।


उनले कडा जरिवाना र दोस्रोपटक सोही आरोपमा समातिए लाइसेन्स खारेज हुने नियम समेत प्रस्ताव गरेका छन् । उनको प्रस्तावलाई राज्यकी प्रिमियर एनास्टेसिया पालासेले समेत समर्थन गरेकी छिन् । उनले धेरै ब्यक्तिले सवारी साधान चलाइरहेको बेला मोबाईलमा ध्यान दिने गरेकाले दुर्घटना बढिरहेको जनाइन् ।


अस्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीमा सवारी चलाएको बेला मोबाइलको प्रयोग गर्नेलाई कडा जरिवाना भएपनि यो नयाँ नियम अहिले लागु भइरहेको भन्दा करिब अढाई गुणा ज्यादा हो । यस नियम विपरित कार्य गरेको पाइएमा अंक प्रणालीमा चल्ने अस्ट्रेलियाको लाइसेन्सको अंक समेत गुम्ने गरेको छ । जम्मा १२ अंक मात्र हुने यहाँको

लाइसेन्समा सवारी साधन चलाउँदा मोबाइल चलाएको भेटिए ४ अंकसम्म जरिवाना हुने गरेको छ ।


आर्थिक र अंक दुबै जरिवाना हुने यहाँको नियम अनुसार बिभिन्न राज्यहरुमा फरक फरक प्रावधान राखिएको छ । नर्दन टेरिटोरीमा सबैभन्दा कम २ सय ५० डलर र सबैभन्दा बढी दक्षिण अस्ट्रेलियामा ५ सय ३४ डलर जरिवाना तोकिएको छ । तर क्युन्सल्याण राज्यमा अहिले लागु गरिएको ४ सय डलर जरिवानालाई राज्य सरकारले एकैचोटी बढाएर १ हजार डलर बनाएको हो । यसका साथै यही आरोपमा दोस्रोपटक समेत समातिए लाइसेन्स खारेज गरिने भएको छ ।


अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेहरुको संख्या समेत धेरै रहेको छ । अस्ट्रेलियाको यातायात मन्त्रालयको तथ्यांक अनुसार गएको मे महिनामा मात्र १ सय ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् जुन पछिल्लो ५ बर्षको अनुपातभन्दा झण्डै १० प्रतिशतले बढी हो । यसैगरि पछिल्लो एक बर्षमा मात्र अस्ट्रेलियामा १ हजार २ सय ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको सरकारी तथ्यांक छ ।


यहाँका प्रहरी तथा अन्य सरकारी निकायहरुले सवारी सुरक्षा सम्बन्धि बिभिन्न जानकारीहरुका साथै चेतावनी दिने गरेका भएपनि सवारी दुर्घटना हुने क्रम बढिरहेकाले अधिकारीहरु कडा नियम लगाउन बाध्य हुनुपरेको जनाइएको छ । ‘सवारी चलाउँदा मोबाइल गाडीको बन्द लकरमा राख्न हामी सबैलाई अनुरोध गछौं ।’ अधिकारीहरुले भनेका छन् ।

प्रकाशित : असार १५, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

राउतले मागे एक करोड बिरुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक करोड बिरुवा मागेका छन् । प्रदेश २ का जिल्लाहरूमा वृक्षरोपण गर्न भन्दै उनले प्रधानमन्त्रीसँग निमका एक करोड बिरुवा मागेको जानकारी वन तथा वातावरण मन्त्रालय स्रोतले दिएको छ । 

‘राउतले बिरुवा माग गरेको जानकारी प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ,’ स्रोतले कान्तिपुरलाई भन्यो, ‘के कति बिरुवा व्यवस्थापन गर्न सकिन्छ, खोजिदिनुस् भनेर हामीलाई आग्रह गरिएको छ ।’

राउतको मागअनुसारको परिमाणमा बिरुवा उपलब्ध गराउन भने नसकिने मन्त्रालय र वन तथा भूसंरक्षण विभागले जनाएको छ । सरकारले आगामी आवमा देशभर अभियानमार्फत ५ करोड बिरुवा रोप्ने घोषणा गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत आव २०७६/७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेको छ ।

त्यसको औपचारिक सुरुवात शनिबार प्रधानमन्त्री ओलीबाट भएको छ । शनिबार देशभरि करिब २० लाख बिरुवा रोपिएको मन्त्रालयको दाबी छ ।

प्रकाशित : असार १५, २०७६ १९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×