अमेरिकाद्वारा इरानमाथि साइबर आक्रमण

एजेन्सी

वासिङटन — वासिङटनअमेरिकाले इरानी अस्त्र प्रणालीमा साइबर आक्रमण गरेको अमेरिकी सञ्चारमध्यले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै साइबर आक्रमण गरिएको अमेरिकी अखबार वासिङटन पोस्टले जनाएको छ । 

साइबर आक्रमणपछि ‘इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणाली’ काम नगर्ने बनेको पत्रिकाले जनाएको छ । अमेरिकी सैनिक जासुसी ड्रोन गोली हानी खसाल्ने इरानी कदमको प्रत्युत्तरमा आक्रमण गरिएको न्युयोर्क टाइम्स पत्रिकाले जनाएको छ ।

तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरेकाले ड्रोनलाई गोली हानी खसालेको’ जनाएको थियो । इरानी समाचार संस्थाले ‘मोबाराक क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको उल्लेख गरेको थियो तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि रहेको दाबी गरेको थियो ।

साइबर आक्रमणका कारण इरानी अस्त्र प्रणालीमा भएको क्षतिबारे भने स्वतन्त्र पुष्टि भएको छैन । घटनाबारे इरानले हालसम्म कुनै प्रक्रिया जनाइसकेको छैन । अमेरिकी अखबारहरूका अनुसार ‘इरानलाई थप परमाणु हतियार निर्माण गर्नबाट रोक्न आक्रमण आवश्यक भएको’ राष्ट्रपति ट्रम्पको भनाइ छ ।

अमेरिकी सञ्चार माध्यमले स्रोत उल्लेख गर्दै ‘साइबर आक्रमणको योजना केही साताअघि बनाइएको’ लेखेका छन् । वासिङटन पोस्ट र एपी समाचार संस्थाले अमेरिकी आक्रमणपछि इरानी कम्प्युटर प्रणाली काम नलाग्ने भएको जनाएका छन् तर न्युयोर्क टाइम्सले आक्रमणका कारण इरानी कम्प्युटर प्रणाली केही समय मात्र सम्पर्कविहीन भएको थियो ।

अमेरिकी गृह मन्त्रालयले शनिबार इरानले अमेरिकी कम्प्युटर प्रणालीमा साइबर आक्रमण गर्ने प्रयास गरिरहेको बताएको थियो । वासिङ्टन पोस्टका अनुसार इरानले अमेरिकी जलसेना जहाज सञ्चालन प्रणाली ह्याक गर्ने प्रयास गरिरहेको थियो ।

ओमानको खाडीमा गतसाता गरिएको तेल ट्यांकर लक्षित आक्रमणमा इरानको हात रहेको अमेरिकाको दाबी छ । इरान र पश्चिमा शक्तिहरूबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा हटेपछि दुई देशबीच तनाव चुलिएको हो ।

ओमानको खाडी तेल ट्यांकरहरूको आवतजावत हुने प्रमुख रणनीतिक जलमार्ग हो । इरानी अधिकारीले भने आक्रमणसँग ‘इरानको कुनै सम्बन्ध नभएको’ बताएका छन् । जापानी स्वामित्वको कोकुका करेजस र नर्वेली स्वामित्वको फ्रन्ट अल्टेअरमा विहिबार ट्यांकरमाथि आक्रमण भएलगत्तै चालकदलका सदस्यहरूको उद्धार गरिएको थियो ।

इरानविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउँदै आएको छ । जसका कारण इराने आर्थिक कठिनाइ खेप्दै आएको छ । अमेरिकाले गतवर्ष इरानको ऊर्जा, जलयातायात र वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाएपछि वैदेशिक लगानी रोकिइसकेको छ । अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यातसमेत प्रभावित हुँदै आएको छ ।

अमेरिकी प्रतिबन्धसँगै अमेरिकाका कुनैपनि कम्पनीले इरान तथा इरानी कम्पनीसँग साझेदार रहेका कम्पनीसँग व्यापार गर्न पाउँदैनन् जसका कारण इरानमा विदेशी सामान तथा विदेशी कच्चा पदार्थको प्रयोगले बनाइने सामानको अभाव छ ।

प्रकाशित : असार ९, २०७६ ०९:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘ट्रम्पको पत्र उत्कृष्ट’

एजेन्सी

सोल — उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र पाएको जनाएका छन् । उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार किमले उक्त पत्र ‘उत्कृष्ट’ रहेको भन्दै प्रशंसा गरेका छन् ।

केसीएनएले किमले पत्रको बेहोराबारे गहन ढंगले सोचविचार गर्ने जनाएका छन् । पत्र प्राप्त भएपछि किमले ‘ट्रम्प असाधारण साहस भएको व्यक्ति भन्दै उनको प्रशंसासमेत गरेको जनाइएको छ ।

गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमले आफूलाई ‘एक सुन्दर पत्र’ पठाएको बताएका थिए तर किमले प्राप्त गरेको पत्र ट्रम्पले कहिले र कसरी पठाए भन्नेबारे केही उल्लेख गरिएको छैन । पत्रबारे हालसम्म अमेरिकी राष्ट्रपति कार्यालय हाइटहाउसले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

ट्रम्प र किमबीच यसअघि दुई पटकसम्म शिखर वार्ता भइसकेका छन् । गत फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको शिखर बैठक बिनानिष्कर्ष टुंगिएको थियो । त्यसयता दुई देशबीच वार्ताका कुनै पहल भएका छैनन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको उत्तर कोरिया भ्रमणपछि परमाणु निशस्त्रीकरण विषयमा अवरुद्ध वार्ता सुचारु हुन सक्ने आशाबीच ट्रम्पको पत्रको प्रशंसाबारे समाचार सार्वजनिक भएको हो ।

ट्रम्प र किमबीच भियतनाममा भएको शिखर बैठकमा कुनै सहमति हुन नसके पनि पछिल्लो समय दुवै नेता एकअर्काप्रति नरम देखिएका छन् । केही समययता ट्रम्पले किमबारे सकारात्मक टिप्पणी गरेका छन् । यसै महिनाको सुरुमा उनले किमको नेतृत्वको प्रशंसा गर्दै उनीसँग उत्तर कोरियाको विकासका लागि प्रचुर सम्भावना रहेको धारणा व्यक्त गरेका थिए । गत महिनामा जापान भ्रमणका बेला ट्रम्पले किम ‘निकै चलाख व्यक्ति’ भएको बताउँदै उनले उत्तर कोरियाबाट ‘राम्रा कुरा निस्कने’ आशा व्यक्तगरेका थिए ।

दक्षिण कोरियाली नेता मुन जाए–इनसँग आगामी साता सोलमा भेटवार्ता तय गरेका ट्रम्प उत्तर कोरियासँग वार्ता सुचारु गर्ने तयारीमा रहेको अनुमान गरिएको छ । अमेरिकाले प्योङयाङले परमाणु कार्यक्रम त्यागोस् भन्ने चाहन्छ तर प्योङयाङले भने आफूविरुद्धका प्रतिबन्ध फुकुवा पूर्वसर्तका रूपमा अघि सार्ने गरेको छ ।

प्रकाशित : असार ९, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×