कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै भेटिएन भारतीय वायु सेनाको एएन-३२ विमान

काठमाडौँ — चीन सिमाना नजिकैबाट सोमबारदेखि हराइरहेको भारतीय वायु सेनाको एएन-३२ विमान अहिलेसम्म फेला परेको छैन । विमानमा चालक दलका ८ जना र ५ जना सुरक्षाकर्मीसहित १३ जना सवार थिए । 

अझै भेटिएन भारतीय वायु सेनाको एएन-३२ विमान

एएन-३२को कुनै अत्तोपत्तो नलागेपछि वायु सेनाले खोजी कार्यलाई तीव्र बनाएको छ । बुधबार मौसम अनुकूल नहुँदा खोजी कार्य प्रभावित भएको थियो । दिउँसोदेखि मौसम सफा भएपछि खोजी कार्यलाई पुनः सुचारु गरिएको छ ।


अरुणाञ्चल प्रदेशबाट एएन-३२ सम्पर्क बाहिर गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमान खोजीका लागि इन्डियन एयर फोर्सले विशेष मिसनमा प्रयोग गर्ने सी-130जे र एएन-३२ र एमआई-१७ हेलिकप्टर परिचालन गरेपनि हालसम्म कुनै संकेत मिलेको छैन ।


असामको जोरहाट हवाई अड्डाबाट सोमबार १२.२५ बजे एएन-३२ उडेको थियो । १:३० मा अरुणाञ्चल प्रदेशमा एड्भान्स लेन्डिङ गर्ने तालिका थियो । ग्राउण्ड स्टेशनसँग विमानको १ बजेदेखि सम्पर्क टुटेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।


सेनाले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आईएसआरओ) का स्याटालाईट र नौसेनाको पी८आई विमान खोजी कार्यका लागि परिचालन गरिएको छ । आईएसआरओको कार्टोस्याट र रीस्याट भूउपग्रहले विमान हराएको स्थानको तस्बिरहरु लिइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ । नौसेनाको विमानले इलेक्ट्रो अप्टिकल र इन्फ्रा रेड सेन्सरबाट झोरहाट र मेचुकाको घना ज‌ंगलमा खोजी कार्य गरिरहेको छ ।


एयर फोर्सका प्रवक्ता अनुपम बनेर्जीले घना जंगलमा विमान खोज्ने कार्य निकै चुनौतीपूर्ण रहेको बताउँदै खोजी कार्यका लागि सम्पूर्ण स्रोत साधान प्रयोग गरिरहेको बताएका छन् ।


सन् २००९ को जुनमै यही मोडलको विमान मेचुका नजिकैको गाउँमा दुर्घटना भएको थियो । उक्त विमानमा पनि १३ जना नै सवार थिए । जसमध्ये ७ जना भारतीय वायु सेनाका सदस्य र बाँकी भारतीय आर्मी थिए ।


सन् २०१६ को जुलाई २२ मा पनि भारतीय वायु सेनाको एएन-३२ विमान बंगालको खाडीमा उड्ने क्रममा हराएको थियो । २९ जना सवार उक्त विमानमा चालक दल सदस्य ६ जना थिए । त्यसबेला हराएको विमान खोज्न पनडब्बी सहित, १६ वटा पानीजहाज र ६ वटा सैन्यविमान प्रयोग गरिएको थियो । उक्त विमानबारे कुनै जानकारी नपाएपछि सेप्टेम्बर १५ मा मिसन टुंगाइएको थियो । विमानमा सवार सबै २९ जनालाई नै मृत घोषित गरिएको थियो ।


भारतीय वायु सेनाले एएन-३२ मोडलको विमान सन् १९८४ देखि प्रयोग गर्दै आएको छ । यो मोडलको विमान उसले महत्वपूर्ण मिसनहरुमा प्रयोग गर्ने गरेको छ । यो विमानमा ४० जनासम्म अटाउन सक्छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?