कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायत भ्रमणअगावै ट्रम्प विवादित 

प्रधानमन्त्री तथा सत्तारूढ दलको नेतामा बोरिस जोन्सन उत्तम रहेको दाबी गरे
नवीन पोखरेल

लन्डन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको सत्तारूढ दल कन्जरभेटिभको नयाँ नेताका लागि पूर्वविदेशमन्त्री ‘बोरिस जोन्सन उत्तम विकल्प भएको’ बताएका छन् । 

बेलायत भ्रमणअगावै ट्रम्प विवादित 

प्रधानमन्त्री टेरेजा मेले आउँदो जुन ७ देखि लागू हुने गरी दलको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरिसकेकी छन् । कन्जरभेटिभको नयाँ नेता नै देशको आगामी प्रधानमन्त्री हुनेछन् । त्यस अर्थमा ट्रम्पले बोरिसलाई नयाँ प्रधानमन्त्रीमा सिफारिस गरेका हुन् । कन्जरभेटिभले आगामी जुलाई अन्त्यसम्म नयाँ नेता चयन भइसक्ने जनाएको छ ।


सामान्यतया विदेशी नेताले अर्को देशको आन्तरिक राजनीतिबारे टिप्पणी गर्नु कूटनीतिक वृत्तमा राम्रो मानिँदैन तर बेलायत भ्रमणमा आउनुअघि एक बेलायती अखबारसँग कुरा गर्दै ट्रम्पले त्यस्तो बताएका हुन् । ‘द सन्’ सँग कुरा गर्दै ट्रम्पले भने, ‘मेरो विचारमा बोरिसले निकै राम्रो काम गर्नेछन् ।’ कन्जरभेटिभ दलका अन्य नेताले पनि आफ्नो समर्थन चाहेको ट्रम्पले दाबी गरे । उनले भने, ‘मैले चाहेँ भने जसलाई पनि समर्थन गर्न सक्छु ।’


यसैबीच, बकिङहम दरबारले राष्ट्रपति ट्रम्पको तीनदिने राजकीय भ्रमण तालिका सार्वजनिक गरेको छ । भ्रमणको पहिलो दिन सोमबार ट्रम्प र फस्ट लेडी मेलानियालाई बेलायती महारानी, राजकुमार चार्ल्स र उनकी धर्मपत्नी क्यामिलाले लन्डन बकिङगम राजदरबारमा औपचारिक स्वागत गर्ने कार्यक्रम छ । प्यालेस गार्डेनमा ‘सेरेमोनियल’ स्वागतपछि ट्रम्प दम्पतीले गार्ड अफ अनर अवलोकन गर्नेछन् ।


त्यसपछि रानी, उनका नाति राजकुमार हयारीले अतिथिहरूलाई चित्रकला प्रदर्शनी कक्ष लानुअघि दिवाभोज आयोजना गर्ने तय भएको छ । प्रदर्शनी कक्षमा अमेरिका र बेलायती राजदरबारबीचको ऐतिहासिक सम्बन्धबारे संकलित चित्र समावेश हुनेछन् । दिउँसो ट्रम्प, मेलानिया र डुक अफ योर्क एन्ड्रियु सहिदप्रति श्रद्धाञ्जली दिने तथा विश्व सम्पदा सूचीका धरोहर घुम्ने जनाइएको छ ।

भ्रमणको पहिलो दिन राजदरबारमा व्यस्त भए पनि दोस्रो दिन मंगलबार भने ट्रम्प दम्पती राजनीतिक भेटघाटमा व्यस्त रहनेछन् । त्यस दिन बेलायती प्रधानमन्त्री टेरेजा मेसँग ब्रेकफास्ट बैठकपछि सेन्ट जेम्स प्यालेसमा डुक अफ योर्कसँग बैठक तय भएको छ । ट्रम्पले अन्य बेलायती तथा अमेरिकी व्यापारीसँग समेत भेट्ने कार्यक्रम छ । दिउँसो ट्रम्प प्रधानमन्त्री मेसँग वार्ता र दिवाभोजका लागि सरकारी निवास डाऊनिङ स्ट्रिट जाने कार्यक्रम छ । त्यही त्रममा पत्रकार सम्मेलन पनि हुनेछ ।


भ्रमणको अन्तिम दिन ५ जुनमा महारानी एलिजाबेथ द्वितीय र युवराज चार्ल्ससँगै राष्ट्रपति ट्रम्प पोर्टसमथमा आयोजित ‘डि डे स्मृति समारोह’ मा भाग लिनेछन् । उता, ट्रम्पको राजकीय भ्रमणबारे विभिन्न राजनीतिक टीकाटिप्पणीसमेत भएको छ ।


बेलायतको प्रमुख प्रतिपक्षी दलका नेता जेरमी कोर्बिनले राष्ट्रपति ट्रम्पसँग हुने रात्रिभोज बहिष्कार गर्ने जनाएका छन् भने लन्डनका मेयर सादिक खानले उनलाई फासिस्टको संज्ञा दिँदै चर्को आलोचना गरेका छन् । बेलायती अखबार ‘द अब्जर्भर’ मा प्रकाशित लेखमा मेयर खानले ट्रम्पले अँगालेको नीति रंगभेद तथा सभ्य समाजका लागि अनुपयुक्त भएको खरो टिप्पणी गरेका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?