कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा चक्कु आक्रमण, ३ को मृत्यु, १८ घाइते 

रोयटर्स/एएफपी

कावासाकी — जापानको कावासाकीमा भएको चक्कु आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको  छ । मृत्यु हुनेमा विद्यालय जान बस कुरिरहेकी एक ११ वर्षीया बालिका छन् । मृतकमध्ये अर्का ३९ वर्षीय पुरुष छन् । राजधानी टोकियोको दक्षिणको कावासाकी सहरमा गरिएको आक्रमणमा कम्तीमा १८ घाइते छन् ।

करिब ५० वर्षीय पुरुष आक्रमणकारीले घटनालगत्तै आफैंलाई घाँटीमा चक्कु प्रहार गरेका थिए । उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


टोकियोको दक्षिणतर्फ रहेको कावासाकी सहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै हुने गरेका थिए । अधिकारीका अनुसार आक्रमणको कारण थाह हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार दुवै हातमा चक्कु बोकेका आक्रमणकारीले एक निजी विद्यालयका विद्यार्थीमाझ जथाभावी प्रहार गरेका थिए । त्यसलगत्तै एक बसमा चढेका आक्रमणकारीले बसभित्रका केही मानिसलाई पनि दुवै हातले चक्कु प्रहार गरे ।

जापानी समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्दृत गरी जनाएअनुसार आक्रमणकारीले 'म तिमीहरुलाई मार्न चाहन्छु' भन्दै चक्कु प्रहार गरेका थिए । उनको नाम सार्वजनिक गरिएको छैन । स्थानीय अस्पतालका उपनिर्देशक कियोशी मात्सुडालका अुनसार ११ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आक्रमणमा घाइते १८ को उपचार भइरहेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले 'घटनाप्रति दुःख व्यक्त गर्दै आफूलाई निकै रिस उठेको' बताए । 'यो निकै दुखदायी घटना हो,' उनले भने, 'म मृतकहरुप्रति समवेदना प्रकट गर्दै घाइतको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।'

स्थानीयहरुले मृतकप्रति शोक व्यक्त गर्दै आक्रमणस्थलमा पुष्पगुच्छा राखेका छन् । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

जापानमा मानसिक रोगीहरुको उपचार केन्द्रमा सन् २०१६ मा पूर्व कर्मचारीले चक्कु आक्रमण गरी १९ जनाको ज्यान लिएका थिए । आक्रमणका बेला उनले 'मानसिक रोगीलाई आफूले अन्त्य गर्न चाहेको' बताएका थिए । सन् २००१ मा ओसाकाको एक प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ८ विद्यार्थीको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७६ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?