भारतमा छैटौं चरणको चुनाव आइतबार

एजेन्सी

नयाँदिल्ली — भारतको लोकसझा निर्वाचनअन्तर्गत छैटौं चरणको मतदान शुक्रबार हुँदै छ  । अधिकारीहरूले चुनावका लागि शुत्रबारदेखि मौन अवधि सुरु भएको जनाएका छन्  ।

छैटौं चरणको निर्वाचन यही मे १२ अर्थात् आइतबार हुँदै छ । यस चरणमा ५९ निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कंग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्राज्ञ सिंह ठाकुरसहित ९ सय ६८ को राजनीतिक फैसला हुँदै छ ।

छैटौं चरणमा उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्य प्रदेश, बिहार र पश्चिम बंगालका ८/८, नयाँदिल्लीका ७ र झारखण्डका ४ वटा निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भाजपा ४४ स्थानमा विजयी भएको थियो । भारतमा गत अप्रिल ११ देखि सुरु लोकसभा चुनाव मे १९ मा सकिनेछ ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

बेगुसरायमा एक सुर

करुणा पराजुली, अशेष घिमिरे

विश्व पुँजीवाद, दक्षिणपन्थ र सामाजिक फासीवाद विरुद्ध नागरिक स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा भारतमा कन्हैया कुमारले जसरी मुद्दा उठाइरहेका छन्, त्यसले धेरै युवालाई आकर्षित गरेको छ  । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) मा उनको उदय  ।

जेएनयु छात्र संघमा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनको तर्फबाट अध्यक्षमा निर्वाचित । मोदी सरकारका दक्षिणपन्थी नीतिहरूका विरुद्धमा उनको भाषण । देशद्रोहको आरोपमा गिरफ्तार अनि तिहार जेल चलान । जेलबाट रिहाइपछि जेएनयु प्राङ्गणमा उनको नारा ‘हम लेके रहेंगे आजादी’ । भारतबाट हैन, भारतभित्र बेरोजगारी, अशिक्षा, गरिबी, भोकमरी र पुँजीवादबाट आजादी अर्थात् स्वतन्त्रता । यो नाराले पाएको व्यापकता, चर्चा र विवाद । एकपछि अर्को बौद्धिक बहसका मञ्चहरूमा उनको जबर्जस्त उपस्थिति । र अहिले लोकसभा निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को तर्फबाट विहार बेगुसराय क्षेत्रबाट उम्मेदवारी । राजनीतिप्रति चाख राख्ने जोकोहीका लागि ३२ वर्षीय कन्हैया कुमारको यो राजनीतिक यात्रा रोचक छ ।

कन्हैयाकुमारले उम्मेदवारी दर्ताकै बेलाबाट विग कर्पोरेटको हैन, आम जनताको सहयोगमा चुनाव लड्ने घोषणा गरे । परम्पराभन्दा फरक ढंगले चुनावी मैदानमा खडा भएका उनको यो अभियान सामाजिक सञ्जालमा पछ्याएर धित मरेन । हाम्रो सानो टोली उनको चुनावी अभियान अध्ययन र अवलोकन गर्न रातारात बेगुसराय पुग्यो । प्रत्यक्ष स्थलगत अवलोकनले भारतीय लोकतन्त्र र त्यसमा पनि भारतीय वामपन्थीहरू कसरी चुनाव लडिरहेका छन्, नजिकबाट नियाल्ने अवसर मिल्यो ।

अग्रजले हाँक्ने, युवा खट्ने
बिहान ७ बजे हामी पुग्दा, विहाटस्थित कन्हैयाको घर युवाहरूले भरिएको थियो । कन्हैया भने केही साथीसँग ‘मर्निङ वाक प्रचार’मा निस्किसकेका रहेछन् । यो समय कन्हैया घरदैलो र गाउँका मानिसहरूसँग कुराकानी गर्दारहेछन् । करिब ८ बजे घरकै मेसमा तयार भएको खाजा (प्रायः पुरी तरकारी) खाएर उनी पार्टीले निर्धारण गरेको रुटमा ‘रोड शो’ र चुनावी सभामा निस्किए । ‘हम लेके रहेंगे आजादी’ लेखिएको र कन्हैयाले डम्फु (डफली) बजाउँदै गरेको तस्बिर अंकित टिसर्ट लगाएका जोशिला युवाहरूले नारा लगाउँदै अगुवा–पछुवा गाडी र मोटरसाइकलको लामो लर्को लगाए । अर्कोतिर प्रचारका लागि दिल्ली, पटना र भारतका अन्य क्षेत्रबाट आएका सयौं युवा ५/७ जनाको सानो–सानो टोली बनाएर स्थानीयका साथमा मतदाताको घर–आँगनमै पुग्थे । उनीहरूको ध्याउन्न कुनै पनि घर नछुटोस् भन्ने देखिन्थ्यो । कसरी भोट गर्ने र कन्हैयालाई नै किन भोट गर्नुपर्ने भन्ने बुझाउँदै हिँडेको सक्रियता निकै आकर्षक देखिन्थ्यो ।

दिउँसो २ बजेतिर भाकपाको बेगुसराय जिल्ला कार्यालय पुग्दा त्यहाँ प्रौढ मानिसहरूको बाहुल्य थियो । सहयोग र समर्थन गर्ने अन्य दलका नेताहरू पनि भाकपा कार्यालयमा जम्मा हुन्थे । कन्हैयाको प्रचार योजनाको प्रभावकारिता र थप मिहिनेत गर्नुपर्ने विषयमा चर्चा गर्थे । पार्टीले विभिन्न क्षेत्रमा प्रचारको फ्लेक्स टाँगेको थियो । कन्हैया र उनको चुनाव चिन्हबारे स्पष्ट पार्ने गीत–संगीत सहितको प्रचार साधनहरू जोहो गरेको थियो । सबै संयोजन गर्ने प्रौढ नेताहरू नै देखिन्थे । नेताहरू विभिन्न ठाउँमा कन्हैयाको चुनावी अभियानको अपडेट लिँदै थिए । कार्यालयमा एउटा ठूलो टेबल र केही कुर्सी थिए । निर्वाचन परिचालनको जिम्मा पाएका प्रौढ नेताहरू पुरानै शैलीमा फोन नम्बर र अन्य सूचना कापी–कलमकै भरमा संकलन गरिरहेका थिए । त्यहाँ कम्प्युटर, ल्यापटप वा सामाजिक सञ्जाल प्रयोग गरेको देखिएन । युवाहरूको भने प्राथमिकतामा थियो, ‘न्यु मिडिया’ प्रचार ।

जितको भोक, दालमोठको खाजा
कार्यालयमा एकाएक मानिसको हातहातमा पोकाहरू बाँडिए । दालमोठको पोको रहेछ । दालमोठ चबाइरहेका सबैमा जितको भोक देखिन्थ्यो । कोही आशावादी थिए, कोही भाजपाका प्रतिपर्स्धीले सय करोड खर्च गर्दैछन् रे, के घर–घरमा बाँड्न सक्लान् त भन्दै प्रश्न गरिरहेका थिए । पार्टी कार्यालय आउने अतिथिहरूको लागि मेस चलेको थियो । त्यहाँ सादा दालभात, तरकारीको व्यवस्था थियो ।

जीवित पार्टी आदर्श र प्रणाली
दिनभरको प्रचार कार्यक्रमपश्चात साँझ ७/८ बजे कन्हैयासहित पार्टी निर्वाचन परिचालनको टिमको दैनिक समीक्षा तथा योजना तर्जुमा बैठकमा, केन्द्रीय नेताहरू पनि आउने–जाने चलिरहने रहेछ । सीपीआईका पाका नेता एवं पूर्व सांसद शत्रुघ्नप्रसाद सिंह त्यहाँ आइपुग्दा पार्टी कार्यालयमा रहेका सबै उभिए । त्यसलाई सिंहले रुचाएनन् । उनको भनाइ थियो, तपाईहरूलाई उठाउन म आएको हैन, सघाउन आएको हुँ । सत्कार गर्नुहोस््, तर कसैलाई ठूलो र आफूलाई सानो ठान्ने नगर्नुहोस् । हामी समानताका लागि लड्दैछौं । सबै चुपचाप लागे । हामीलाई लाग्यो, हामीकहाँ यसो बोल्ने नेताहरू निकै घटिसके । वास्तवमा यस्तो सोच्नै छाडिसक्यौं कि ?

जयभीमको नारा
भाजपाको ‘मैं भि चौकिदार’, कांग्रेस आईको ‘अब होगा न्याय’ भन्ने नारा देशव्यापी चलिरहँदा कन्हैयाको प्रचारमा ‘इन्क्लब जिन्दावाद’ गुञ्जिँदैथ्यो । यो नारा भारतीय स्वतन्त्रता सेनानी एवं सीपीआईका संस्थापकमध्ये एक, मौलाना हसरत मोहनीले सन् १९२१ मा रचेका थिए । भारतीय स्वतन्त्रता संग्रामताका यो नारा चर्चित थियो । कन्हैयाको प्रचारमा वृद्ध र युवाले एकैसाथ यो नारा लगाएको सुन्दा, अश्फाक उल्ला खान, भगत सिंह, चन्द्रशेखर आजाद, उनीहरूका क्रान्तिकारी साथीहरू र भारतीय स्वतन्त्रता संग्रामको याद दिलाइरहेको थियो ।


पटनाबाट चुनावी प्रचारमा आएको नागरिक समाजको र्‍याली यस्तै नारा लगाउँदै बेगुसराय, अंबेडकर पथमा रहेको अंबेडकरको शालिक नजिक पुग्यो । त्यहाँ नारा गुञ्जियो, ‘जयजय भीम’, ‘तो जोर से बोलो जयभीम’, ‘तो मिलकर बोलो, जयभीम’ । ‘इन्क्लब जिन्दावाद’ सँगै ‘जयभीम’ र लालसलामको नारा पहिलोपटक एकैसाथ सुन्दा हामीलाई भने नौलो लागेको थियो ।


खोज्दै जाँदा भेटियो, जयभीमको नारा विशेषतः अंबेडकरवाद मान्ने बहुजन समाज पार्टी लगायतका नेता–कार्यकर्ताले लगाउँदा रहेछन् । सन् २०१६ जनवरीपश्चात विद्यार्थीले ‘जयभीम’ र ‘लालसलामको’ नारा सँगसँगै लगाए । कारण थियो, हैदरावाद विश्वविद्यालयमा पीएचडी अध्ययनरत रोहित वेमुलाको मृत्यु । जातीय विभेद विरुद्ध आवाज उठाउँदा विश्वविद्यालयले कथित दलित भनिएका वेमुलाको छात्रवृत्ति रोकेको कारण उनले आत्महत्या गरेको भनिन्छ ।

यस घटनापछि गरिब र कथित तल्लो जाति भनी गरिने सबै खाले विभेद विरुद्ध जेएनयु लगायत धेरै विश्वविद्यालयमा जयभीम र लालसलामको नारा एकसाथ लाग्न थाल्यो । विद्यार्थी आन्दोलनले सुरु गरेको यो नारा कम्युनिष्ट पार्टीका मञ्चमा पनि अनुशरण भए । कम्युनिस्टहरूको रातो रङ्ग र अंबेडकरको निलो रङ्ग मिलाएर ‘लाल–निल एकता, जिन्दावाद’ सुरु भयो । विद्यार्थी आन्दोलनबाट आएका कन्हैयाकुमार र उनका साथीहरूले बेगुसरायमा यो नारालाई सर्वत्र बनाएका रहेछन् ।

जातीय र वर्गीय उत्पीडनबाट मुक्तिका लागि ‘लालसलाम’, ‘जयभीम लालसलाम’मा रूपान्तरण भएको कन्हैयाका प्रचारमा लागेका कमरेडहरूले बताए । बेगुसरायमा जयभीम र लालसलाम मिश्रित नारा गरिब नागरिकको सामाजिक न्याय र मुक्तिका लागि सहयोगी होला वा नहोला, यसबारे छुट्टै बहस हुनसक्ला । तैपनि आज बेगुसरायमा एकसाथ गुञ्जिरहेको छ, लालसलाम, इन्क्लब जिन्दावाद र जयभीमको नारा ।

मूल एजेन्डा : संवैधानिक मूल्यको सुरक्षा
विशेषगरी भाजपा र मोदीले हिन्दुत्वको आवरणमा धर्म निरपेक्षताको संवैधानिक प्रावधानमाथि हमला हुनथालेको र यसले हिन्दु–मुसलमान बीचको आपसी सद्भाव भड्काउन मद्दत गरेको भारतका सबै वामपन्थी पार्टीको ठहर छ । भारतीय संविधानले निर्दिष्ट गरेको लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमाथि धावा बोल्दै भिडतन्त्र, अराजकता र उग्र राष्ट्रवादको आडमा सामाजिक फासीवादतर्फ धकेल्न भाजपा अग्रसर भएकाले आजका क्रान्तिकारीहरूको प्राथमिक कार्यभार चालु संविधानको रक्षा भएको उनीहरूको निष्कर्ष छ । सोही अनुसार बेगुसरायका जनतालाई कन्हैयाका लागि भोट मागिएको पर्चामा ‘जाति र धर्मको नाममा देश बाँड्नेहरूको षड्यन्त्रलाई असफल पार्दै, संविधान र लोकतन्त्रको रक्षा गरौं’ भन्ने अपिल छ ।

त्रिकोणात्मक संघर्ष
बेगुसरायमा प्रतिस्पर्धा त्रिकोणात्मक छ । भाजपाका गिरिराज सिंह, बहालवाला केन्द्रीय मन्त्री हुन् । गिरिराजले चुनावी प्रचारका क्रममा ‘मोदीका आलोचकका लागि भारतमा ठाउँ नभएको र उनीहरू पाकिस्तानपरस्थ भएको’ भन्दै भाजपा विरोधीको राष्ट्रियतामाथि नै प्रश्न खडा गरे । उनले आफू सबै हिन्दुहरूको प्रतिनिधि बनेर चुनाव लडिरहेको अभिव्यक्ति दिँदैछन् ।

अर्कोतिर लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) समर्थित महागठबन्धनको उम्मेदवार छन्, तनवीर हसन । उनी मुसलमान समुदायका हुन् । विधायक निर्वाचित भइसकेका र पछिल्लो लोकसभा चुनावमा दोस्रो भएका व्यक्ति हुन्, हसन । एकातिर महागठबन्धनको साथ, अर्कोतर्फ मुसलमान समुदायको भएकोले यो पाली आफूले जित्ने दाबी हसनको छ । यी दुईका साथमा ठूला–साना गरी करिब दुई दर्जन वामपन्थी पार्टीको साझा उम्मेदवार बनेका छन्, कन्हैया कुमार । दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टीको पनि उनलाई साथ छ ।

जित्न सजिलो छैन
जेएनयुको विद्यार्थी राजनीति र मिडियाको बलमा नेता बनेकाले बेगुसरायमा जन्मेको भए पनि कन्हैयालाई स्थानीय नेता भन्न नमिल्ने विपक्षीको तर्क छ । सिर्फ एक सिटले केही गर्न सकिन्न, त्यसैले सीपीआईका उम्मेदवार कन्हैयालाई भोट दिनुको अर्थ छैन भनेरसमेत प्रचार गरिँदैछ ।

भारतमा जातीयताको मुद्दा पेचिलो छ । कट्टरपन्थीहरूको राजनीतिक पकड चुलीमा भएको हामीले देखेकै छौं । कन्हैया भूमिहार हुन्, जसको मतसंख्या करिब साढे चार लाख छ । मुस्लिमको साढे दुई लाख, दलितको एक लाख र यादवको असी हजार । अघिल्लो चुनावमा भाजपाका विजयी उम्मेदवारले चार लाख अठ्ठाइस हजार, उनलाई पछ्याएका तनवीर हसनले तीन लाख उनन्सत्तरी हजार र सीपीआईका उम्मेदवारले एक लाख बयानब्बे हजार मत प्राप्त गरेका थिए । यही तथ्यांक हेर्ने हो भने पनि उनले जितका लागि करिब अढाई लाख भोट बढाउनुपर्छ । यो सजिलो छैन ।


कन्हैया आफूले कुनै जाति विशेषको होइन, आम जनताको भोटले जित्ने दाबी गर्दैछन् । भाजपाका कतिपय समर्थकले चुनावी मेसिन हेरफेर गरेर भए पनि कन्हैयालाई हराउनुपर्ने बताएका छन् । उनले चुनावी अभियानका क्रममा धेरै भौतिक अवरोध व्यहोर्नुपर्‍यो । उनले ख्यातिप्राप्त कलाकार, लेखक, पत्रकार र युवाहरूको जुन स्तरको साथ पाए, सोही स्तरमा सीपीआईको स्थानीय कमिटी भने परिचालित नभएको गुनासो पनि सुनियो । कतिपय प्रौढ र स्थापित भनिएका नेताहरूमा उनको लोकप्रियताले चिडचिडाहट पैदा गराइदिएको महसुस गर्न सकिन्थ्यो ।

कम्युनिष्ट पुनरुत्थानको आशा
विहारको ‘लेनिनग्राड’ अर्थात कम्युनिष्टहरूको बलियो भूमि मानिन्छ, बेगुसराय । तर सन् १९६७ मा योगेश शर्मा बाहेक सीपीआईका अन्य कुनै उम्मेदवारले यहाँबाट लोकसभा चुनाव जितेनन् । भारतभर कुनै बेला महत्त्वपूर्ण हिस्सा ओगट्ने वामपन्थीहरूको अवस्था अहिले निकै कमजोर छ । संसदमा भारतीय स्वतन्त्रतापछि मुख्य विपक्षी दलको रूपमा क्रियाशील रहेको सीपीआई क्रमशः विभाजित र कमजोर बन्दै गयो । क्षेत्रीय रूपमा पश्चिम बंगाल, त्रिपुरा र केरलामा लामो समय पकड जमाएका कम्युनिष्ट पार्टीहरू पछिल्लो २०१४ को लोकसभा चुनावमा इतिहासमै सबैभन्दा कम ११ सिटमा खुम्चिए । आज यतिविघ्न कमजोर हुनुमा सीपीआईका ज्योति वसुलाई सन् १९९६ मा तेस्रो मोर्चाका तर्फबाट प्रधानमन्त्री बनाउने अवसर वामपार्टीले सदुपयोग गर्न नसक्नु र पछिल्लोपटक २००८ मा एकीकृत प्रगतिशील गठबन्धनबाट वामपार्टी अलग हुनु मुख्य कारक रहेको ‘रियलाइजेसन’ त्यहाँका वाम नेता–कार्यकर्ताको पाइन्छ ।


वामपार्टीहरू निरन्तर विभाजित हुनु । समर्थन गरेका सरकारले लिएका कतिपय वाम नीतिहरूको स्वामित्व लिन नसक्दा, यसको जसबाट बञ्चित हुनु । अझ महत्त्वपूर्ण कुरा, कम्युनिष्ट पार्टीले नयाँ पुस्ताको नेतृत्व उत्पादन नै गर्न नसक्नु । उत्पादन भएका कार्यकर्तामा नेतृत्व हस्तान्तरण गर्न नसक्नु । यस्ता विभिन्न कारणले सामाजिक रूपले खण्डित र वैचारिक ढंगले विभाजित भारतीय वामआन्दोलनमा कन्हैयाको उदय र चुनावी उम्मेदवारीले केही आशा थपेको छ । यसको उदाहरण, देशभर सीपीआईएमले आरजेडीसँग गठबन्धन गरे पनि, बेगुसरायमा भने आफ्नो उम्मेदवार तनवीर हसनलाई नभई कन्हैयालाई समर्थन गरेको छ । सीपीआईएमका महासचिव सीताराम यचुरीले बेगुसराय चुनावी सभामा मन्तव्य राखेपछि सामाजिक सञ्जालमा लेखे, ‘भारत बचाउन र सकारात्मक परिवर्तनका लागि वामपन्थी उम्मेदवार कन्हैयाको जित महत्त्वपूर्ण छ ।’


कम्युनिष्ट पार्टीका नेतामात्र होइन, उनीहरूका भ्रातृ संगठनका युवा विद्यार्थी बेगुसरायको गाउँ–गाउँमा व्यस्त छन् । एकअर्कालाई संशोधनवादी वा उग्रपन्थी आरोप लगाइरहेकाहरूले एकताबद्ध भएर कन्हैयाको प्रचारमा जसरी जुटिरहेका छन्, त्यो साँच्चै लोभलाग्दो छ । यस क्रममा नयाँ पुस्ताले देखाएको जोश, सहभागिता र सक्रियतालाई वामपार्टीहरूले आफूलाई एकताबद्ध गर्न र फेरि बौराउन पहलकदमी गर्छ वा चुनावसँगै यो सकिन्छ, यसै भन्न सकिन्न ।


मार्क्स श्रमजीवी जनताको जितका लागि तीन प्रमुख सर्त बताउँछन् । एक, श्रमजीवी वर्गको बहुसंख्या । दुई, उसलाई मुक्त गर्ने ज्ञान । र तीन, श्रमजीवी वर्गको संगठन । चुनावी प्रचारमा कन्हैयाले संगठनको विषयमा कम कुरा गरेका छन् । चुनावी जितको तत्कालीन रणनीतिका लागि यसो गरिएको हो भने यसलाई ठिकै मान्न सकिएला । सामाजिक रूपान्तरणको मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउन कन्हैया कुमार पौराणिक मिथकहरूमा पाइने एकल नायकी (इन्डिभिजुयल हिरोइजम) को बाटोमा लाग्छन् वा कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने बृहत संगठन निर्माणको सारथी बन्छन् ?

यसबारे उनको छनोट भविष्यमा देखिने नै छ । कम्युनिष्ट पार्टीमा संकट नआएको भए कन्हैयाको उम्मेदवारी हुन्थ्यो कि हुन्नथ्यो, त्यो अब अनुमानको विषय भयो । कन्हैयाको उम्मेदवारी भारतमा कम्युनिष्ट पार्टीको पुनरुत्थानको अवसर बन्छ वा बन्दैन, त्योचाहिँ उनको छनोट र त्यहाँका कम्युनिष्ट पार्टीहरू स्वयंको सुझबुझमा भर पर्नेछ । सीपीआईको केन्द्रले कम्युनिष्ट आन्दोलनको पुनरुत्थानका लागि कन्हैयाको जितलाई ज्यादै ध्यान दिएको छ । यसमा ऊ सफल हुन्छ वा हुन्न, त्यो बुझ्न भने मे २३, २०१९ पर्खनै पर्छ ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्