कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूसी विमान दुर्घटनामा ४१ को मृत्यु

एजेन्सी

मस्को — रूसको राजधानी मस्कोमा आपत्कालीन अवतरणका क्रममा भएको विमान दुर्घटनामा कम्तीमा ४१ जनाको ज्यान गएको छ । ९ घाइते छन् । विमानमा ७३ यात्रु र चालक दलका ५ सदस्य थिए । रूसी समाचार संस्थाका इन्टरफयाक्सका अनुसार मृत्यु हुनेमा २ बालबालिका र एक विमान परिचारिका छन् ।

रूसी विमान दुर्घटनामा ४१ को मृत्यु

चालक दलका सदस्य तथा यात्रुहरूका अनुसार विमानमा चटयाङ लागेपछि आपत्कालीन अवतरण गरिएको हो । इन्टरफयाक्सका अनुसार मस्कोको सेरेमेतएभो विमानस्थलबाट उडेको केही बरेमै विमान चालकले आपत्कालीन संकेत जारी गरेका थिए ।


दुर्घटनाग्रस्त सुखोई सुपरजेट-१०० विमान रूसको स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ५० मिनेटमा मुर्मन्स्क सहरका लागि उडेको थियो ।


विमान चालक डेनिस यभ्दोकिमोभलाई उद्धृत गर्दै रूसी सञ्चारमाध्यमले 'विमानमा चटयाङ लागेपछि सञ्चार सम्पर्कविच्छेद भएको' जनाएका छन् । उनले भने, 'हामीले पुनः सञ्चारसम्पर्क कायम गर्ने प्रयास गर्‍यौं । तर तत्कालै पुनः सम्पर्कविच्छेद भएकाले केही शब्द मात्र भन्न सम्भव थियो ।'


तर आपत्कालीन अवतरणको पहिलो प्रयास विफल भएको जनाइएको छ । 'फ्लाइट राडार २४' वेबसाइटले विमान उडेको करिब आधा घण्टामा आपत्कालीन अवतरण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।


सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा आगो लागिरहेको विमानको आपत्कालीन द्वारबाट यात्रुहरू निस्कँदै दौडिरहेको देखिन्छ । यभ्दोकिमोभले विमानमा इन्धन भरी रहेकाले अवतरणका क्रममा आगो तीव्र भएको जनाए ।


रूसी स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल भर्ना गरिएका ९ मध्ये ३ अवस्था गम्भीर छ । एक प्रत्यक्षदर्शीले ७८ यात्रु रहेको जेट विमानबाट मानिस निस्किएर भाग्न सक्नु आफैंमा 'चमत्कार' भएको बताए ।


एक यात्रु मिखाइल सेभचेन्कोले धावनमार्गमा विमानलाई आगोको लप्काले छोप्दै गर्दा आफू विमानबाट हाम फाल्न सफल भएको बताए । उनले जलिरहेको विमानबाट यात्रुहरू दौडेर भागिरहेको भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको जनाएका छन् ।


प्रत्यक्षदर्शी प्याटि्रक होर्लचरले आगोको लप्काले विमान जलिरहेको दृष्य निकै भयानाक रहेको बताए । गायक क्रिस्तियान कोस्तोफले घटना प्रत्यक्ष रूपमा देखेको सामाजिक सञ्जालमा उल्लेख गर्दै विमानस्थलमा मानिस डरले कापेको जनाए ।

रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले विज्ञप्तिमार्फत प्राविधिक त्रुटिपछि जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ । उसका अनुसार आपत्कालीन अवतरणपछि मात्र जहाजमा आगो लागेको हो ।


चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको दाबी गर्दै एरोफ्लोटले एक मिनेटभन्दा कम समयभित्रै सबै याुत्रलाई विमानबाट बाहिर निकालिएको जनाएको छ ।


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनाका पीडितका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । अधिकारीहरूले घटनाको वस्तुस्थितिबारे राष्ट्रपतिलाई अवगत गराइएको र थप अनुसन्धान जारी रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?