कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय लोकसभा निर्वाचन : आदित्यनाथ र मायावतीलाई प्रचारमा प्रतिबन्ध

एजेन्सी

नयाँदिल्ली — साम्प्रदायिकता सम्बन्धी अभिव्यक्ति दिएपछि भारतीय निर्वाचन आयोगले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाजवादी पार्टी (बसपा) प्रमुख मायावतीलाई चुनाव प्रचारमा प्रतिबन्ध लगाएको छ । 

भारतीय लोकसभा निर्वाचन : आदित्यनाथ र मायावतीलाई प्रचारमा प्रतिबन्ध

आयोगले सोमबार योगीलाई मंगलबार बिहान ६ बजेदेखि ७२ घण्टासम्म (तीन दिन) र मायावतीलाई मंगलबार बिहान ६ बजेदेखि ४८ घण्टासम्म (दुई दिन) चुनाव प्रचारमा सहभागी हुन प्रतिबन्ध लगाएको हो । आयोगका प्रमुख सचिव अनुज जयपुरियाद्वारा जारी आदेशमा यस अवधिमा दुवै नेताले कुनै पनि जनसभा, पदयात्रा र रोड सोमा भाग लिन नसक्ने प्रस्ट पारिएको छ । यति मात्र नभई यस अवधिमा दुवैले छापा तथा विद्युतीय सञ्चारमाध्यममा अन्तरवार्तासमेत दिन पनि पाउने छैनन् ।


मायावतीले उत्तर प्रदेशको देवबन्दमा आयोजित आमसभामा एक पार्टीलाई भोट नदिन मुस्लिम मतदातालाई अपिल गरेकामा आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गरेको हो । योगीले पनि मेरठको एक सभामा ‘अली’ र ‘बजरंगबली’ सँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘यदि कंग्रेस, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको भरोसा ‘अली’ मा छ भने हाम्रो आस्था ‘बजरंगबली’ मा छ ।


जयाप्रदा–आजम खान विवाद

यसैबीच, आफ्नो भित्री वस्त्रबारे टिप्पणी गरेको भन्दै अभिनेत्री एवं राजनीतिज्ञ जयप्रदाले समाजवादी पार्टीका नेता आजम खानको कडा आलोचना गरेकी छन् । उनले समाचार संस्था एएनआईलाई भनेकी छन्, ‘म एक महिला हुँ र उनले के भने भनेर दोहोर्‍याउन सक्दिनँ, मैले उनलाइ के गरेकी थिएँ र उनले मेराबारेमा यस्ता कुरा गर्दै छन् ?’ उनले खानलाई चुनाव लड्न दिन नहुने बताएकी छन् ।


नेता खानले आइतबार उत्तर प्रदेशको रामपुरमा आयोजित चुनावीसभामा नाम नलिईकनै जयप्रदाका बारेमा टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘रामपुरबासीहरूले जसलाई चिन्न १७ वर्ष लाग्यो, उनलाई मैले १७ दिनमै चिनिसकेको थिएँ, उनको भित्री वस्त्रको रंग खाकी हो ।’


खानको यो अभिव्यक्तिको राष्ट्रिय महिला आयोग, विदेशमन्त्री सुषमा स्वराजलगायत महिला अधिकारकर्मी तथा नेतृहरूले विरोध गरेका छन् । महिला आयोगकी प्रमुख रेखा शर्माले खानलाई एक सूचना जारी गर्दै आफ्नो अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिन निर्देशन दिएकी छन् । उनले खानको टिप्पणी लाजमर्दो भएको भन्दै चुनाव लड्न नदिन आफूले निर्वाचन आयोगलाई अनुरोध गर्ने बताएकी छन् ।


विदेशमन्त्री स्वराजले ट्वीटमा भनेकी छन्, ‘मुलायम भाइ, तपार्इं समाजवादी पार्टीको पितामह हुनुहुन्छ, तपाईंकै सामुन्ने रामपुरमा द्रौपदीको चिरहरण भइरहेको छ, तपाईं भीष्मजस्तै मौन बस्ने गल्ती नगर्नुहोस् ।’ समाजवादी पार्टीले भने खानको अझिव्यक्ति व्यत्तिगत रहेको बताएको छ ।


यस्तै, खानविरुद्ध प्रहरीमा समेत उजुरी दिइएको छ । खानले कसैको नाम नलिए पनि उनको भनाइ उत्तर प्रदेशको रामपुरबाट भारतीय जनता पार्टीको टिकटमा चुनाव लड्न लागेकी जयप्रदातर्फ लक्षित रहेको रूपमा व्याख्या गरिएको छ ।


तर खानले आफ्नो भनाइ जयप्रदा लक्षित नभएको र कुनै पुरुषविरुद्ध त्यस्तो टिप्पणी गरेको स्पष्टीकरण दिएका छन् । उनले आफू दोषी भए चुनाव नलड्ने बताएका छन् ।


२०१४ को चुनावमा पनि खानले साम्प्रदायिक विभाजन ल्याउने खालको अभिव्यक्ति दिएको ठहर गर्दै निर्वाचन आयोगले उत्तर प्रदेशको कुनै पनि चुनावीसभामा बोल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?