गुआइडोलाई देश छाड्न प्रतिबन्ध

भेनेजुएला संकट
रोयटर्स

काराकास — भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता खुवान गुआइडोलाई देश छाड्न र आफ्नो बैंक खाता सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ । भनेजुएलाका विपक्षी नेता गुआइडोले गतसाता राजधानी काराकासमा आफूलाई देशको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुएलामा सत्तासंघर्ष सुरु भएको हो ।

भेनेजुएलाका विपक्षी दलका नेता खुवान गुआइडो बुधबार संसद् भवनमा । आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि सर्वोच्च अदालतले बुधबार देश छाड्न प्रतिबन्ध गरेको छ । तस्बिर : रोयटर्स

उनलाई अमेरिका लगायतका २० भन्दा बढी राष्ट्रले समर्थन जनाएका छन् । रूस, चीन तथा अन्य केही देश भने राष्ट्रपति निकोलस मडुरोको पक्षमा छन् ।


महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइडोमाथि प्रतिबन्धको आहान गरेका गर्दै मुद्दा दायर गरेका थिए । मुद्दाको फैसलाका क्रममा सर्वोच्च अदालतले उक्त निर्णय सुनाएको बीबीसीले जनाएको छ ।


शाबले विपक्षी नेता गुआइडोमाथि लगाउनुपर्ने प्रतिबन्ध माग गरेलगत्तै मडुरोको पक्षमा रहेको सर्वोच्च अदालतले त्यसलाई अनुमोदन गरेको हो । ‘विपक्षी नेता गुआइडोले देशमा शान्ति र सुव्यवस्थामा खलल पुर्‍याएकाले पछिल्लो अवस्थाबारे प्रारम्भिक अनुसन्धान पूर्ण नहुन्जेल देश छाड्न नपाउने’ आदलेश दिइएको हो ।


विपक्षी नेता गुआइडोले संसद्मा पत्रकारसँग ‘अदालतको निर्णय नयाँ नभएको’ प्रतिक्रिया दिए । गुआइडोमाथि प्रतिबन्धका समाचार सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका शाब पूर्व महान्याधिवक्त भएको बताउँदै गुआइडोमाथि कुनै पनि हानि गरे गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिए ।


मडुरोले राजनीतिक संकट अन्त्यका लागि विपक्षीहरूसँग वार्ताका लागि तयार भएको जनाइएको छ । ‘भेनेजुएलाको भलाइका लागि राम्रो हुन्छ भने म विपक्षीसँग वार्ताको टेबुलमा बस्न तयार छु,’ मडुरोले भने । तर उनले आफ्नो राष्ट्रपतीय कार्यकाल नसकी देशमा चुनाव नहुने प्रस्ट पारेका छन् ।

गत शनिबार युरोपेली संघले मडुरोलाई राष्ट्रपतीय चुनावको मिति एक साताभित्र नतोके मडुरोलाई समर्थन जनाउने चेतावनी दिएको थियो । विपक्षी दलले बुधबार मडुरोलाई सत्ता त्यागको माग गर्दै राजधानीमा दुई घण्टा लामो शान्तिपूर्ण विरोध गरेको छ ।


दक्षिण तथा उत्तर अमेरिकी देशको समूहले तत्काल कुनै पनि सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । पेरूका विदेशमन्त्री नेस्टर पोपोलिजियोले भेनेजुएलामा जारी संकट शान्तिपूर्ण रूपमा अन्त्य गर्न सन् २०१७ मा बनेको क्यानडासहित १४ देशहरूको समूह लिमाले सैन्य हस्तक्षेपको विरोध गर्ने बताए ।


निर्वाचित राष्ट्रपति मडुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेको २ सातामै प्रतिपक्षी नेताले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुन् ।


विद्यार्थी राजनीतिबाट उदाएका गुआइडोले पूर्वराष्ट्रपति हयुगो चाभेजले मडुरोलाई उत्तराधिकारी बनाउँदा विरोध गरेका थिए । मडुरो सन् २०१३ पहिलो कार्यकालका लागि भेनेजुएलाको राष्ट्रपति निर्वाचित भएका थिए ।


तर उनको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धराशायी भएपछि जनताहरू उनीसँग असन्तृष्ट छन् । राष्ट्रसंघका अनुसार मुद्रास्फीति, ऊर्जा समस्या र खाद्य सामग्रीको अभावका कारण विगत ३ वर्षमा २० लाखभन्दा बढी मानिसले भेनेजुएला छाडिसेका छन् ।


प्रकाशित : माघ १७, २०७५ ०८:५८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विवाद टुंग्याउने चीन–अमेरिकी प्रयास 

एएफपी

वासिङ्टन — अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टनमा सुरु भएको छ । अमेरिकाले चिनियाँ  दूरसञ्चार कम्पनी हुवावेविरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता सुरु भएको छ । 

अमेरिकी राष्ट्रपति कार्यालयमा बुधबार वार्ताका क्रममा अमेरिकी र चिनियाँ टोली । तस्बिर : रोयटर्स


विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच उच्च प्रविधि उद्योगको भविष्यबारे संघर्ष रहेको अमेरिकी प्रतिनिधि रोबर्ट लाइटिजरले बताए।

दुई देशबीच जारी वार्तामा उनी अमेरिकी मध्यस्थकर्ता हुन्। तीन वर्षअघि बेइजिङले महत्त्वाकांक्षी ‘मेड इन चाइना–२०२५’ कार्यक्रम सार्वजनिक गरेको थियो । चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अन्य क्षेत्रमा अग्रणी स्थानमा पुर्‍याउने कार्यक्रमको मुख्य उद्देश्य थियो । अमेरिकी अधिकारीका अनुसार यी क्षेत्रहरूमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनियाँ अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आएका छन् । तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा नभएको उनको भनाइ छ।

अमेरिकी अधिकारीहरूले विशेषगरी चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरूको भनाइमा चीनको व्यापार अभ्यास अस्वस्थ छ । चीनले अमेरिकी प्रविधिको बौद्धिक चोरी गरेको अधिकारीहरूकोआरोप छ।

चीनले अमेरिकी कम्पनीलाई आफ्नो देशमा व्यवसाय गर्न चिनियाँ कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ । बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइटहाउसले २ सय ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ देखि २ सय अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । बेइजिङले पनि करिब १ सय १० अर्ब डलरबराबरका अमेरिकी सामानमा करवृद्धिगरिसकेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रहरूको सम्मेलन क्रममा ब्युनर्स आयर्समा भएको बैठकमा ३ महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमतिबमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुवै देशका उच्च अधिकारीहरूबीच वार्ता जारी छ ।

यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । वार्ताका विवरणहरू भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित : माघ १७, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×