१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

विवाद टुंग्याउने चीन–अमेरिकी प्रयास 

एएफपी

वासिङ्टन — अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टनमा सुरु भएको छ । अमेरिकाले चिनियाँ  दूरसञ्चार कम्पनी हुवावेविरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता सुरु भएको छ । 

विवाद टुंग्याउने चीन–अमेरिकी प्रयास 


विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच उच्च प्रविधि उद्योगको भविष्यबारे संघर्ष रहेको अमेरिकी प्रतिनिधि रोबर्ट लाइटिजरले बताए ।

दुई देशबीच जारी वार्तामा उनी अमेरिकी मध्यस्थकर्ता हुन् । तीन वर्षअघि बेइजिङले महत्त्वाकांक्षी ‘मेड इन चाइना–२०२५’ कार्यक्रम सार्वजनिक गरेको थियो । चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अन्य क्षेत्रमा अग्रणी स्थानमा पुर्‍याउने कार्यक्रमको मुख्य उद्देश्य थियो । अमेरिकी अधिकारीका अनुसार यी क्षेत्रहरूमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनियाँ अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आएका छन् । तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा नभएको उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूले विशेषगरी चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरूको भनाइमा चीनको व्यापार अभ्यास अस्वस्थ छ । चीनले अमेरिकी प्रविधिको बौद्धिक चोरी गरेको अधिकारीहरूको आरोप छ ।

चीनले अमेरिकी कम्पनीलाई आफ्नो देशमा व्यवसाय गर्न चिनियाँ कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ । बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइटहाउसले २ सय ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ देखि २ सय अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । बेइजिङले पनि करिब १ सय १० अर्ब डलरबराबरका अमेरिकी सामानमा करवृद्धि गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रहरूको सम्मेलन क्रममा ब्युनर्स आयर्समा भएको बैठकमा ३ महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमतिबमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुवै देशका उच्च अधिकारीहरूबीच वार्ता जारी छ ।

यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । वार्ताका विवरणहरू भने सार्वजनिक गरिएको छैन ।


प्रकाशित : माघ १७, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?