हुवावेविरुद्ध अमेरिकामा मुद्दा - विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुवावेविरुद्ध अमेरिकामा मुद्दा 

एजेन्सी

वासिङ्टन/बेइजिङ — अमेरिकाको न्याय मन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र कम्पनीका प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्जूविरुद्ध मुद्दा दायर गरेको छ । विश्वको दोस्रो ठूलो मोबाइल निर्माता कम्पनी हुवावेले बैंक ठगी, प्रविधि चोरी र न्याय सम्पादनमा बाधा उत्पन्न गरेको दाबीसहित अमेरिकामा मुद्दा दायर गरिएको हो । 

हुवावेविरुद्ध लगाइएको मुद्दाबारे जानकारी दिँदै न्युयोर्कस्थित इस्टर्न डिस्ट्रिक्टका महान्यायाधिवक्ता । तस्बिर : रोयटर्स

यद्यपि हुवावे कम्पनीले उक्त मुद्दा अस्वीकार गरेको छ । उसले आफ्ना प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्जूमाथि दायर आपराधिक मुद्दाको समेत अस्वीकार गरेको छ ।


मुद्दाका कारण अमेरिका र चीनबीच जारी विवाद थप चर्कने आंकलन गरिएको छ । यद्यपि, चीन सरकारले हालसम्म यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । हुवावे कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकामा दायर मुद्दाबारे थाहा पाएर कम्पनी निराश भएको’ उल्लेख गरेको छ ।


कम्पनीले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै ‘दाबी गरिएजस्तो कुनै कुरा उल्लंघन नगरेको र मेङ्गले कुनै गलत कार्य गरेको थाहा नभएको’ जनाएको छ । गत डिसेम्बर १ क्यानडाको भ्यानकुभरमा पक्राउ परेकी मेङ्ग हुवावे कम्पनीका संस्थापककी छोरीसमेत हुन् ।


क्यानडाले अमेरिकी सरकारको अनुरोधमा भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिएको जनाएको थियो । उनीमाथि अमेरिकाद्वारा इरानमा जारी प्रतिबन्ध उल्लंघन गरेको आरोप पनि लगाइएको छ । इरानसँग व्यापार गर्न हुवावे र दुई सहायक कम्पनी हुवावे डिभाइस यूएसए र स्काइकम टेकसँगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व बैंकलाई गलत सूचना दिएको अभियोग हुवावेमाथि लगाइएको छ ।


इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उक्त सम्झौताबाट अलग हुने निर्णय गर्दै अन्य सर्तसहित पुन: नाकाबन्दी लागू गरेको छ ।


मेङ्ग र हुवावे कम्पनी दुवैले आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन् । बीबीसीका अनुसार ‘हुवावेविरुद्ध दुई प्रकारका मुद्दा लगाइएका छन् । पहिलो मुद्दामा गोप्य व्यापारिक सूत्र चोरेको आरोप छ भने दोस्रोमा इरानविरुद्धको अमेरिकी प्रतिबन्ध विपरीत काम गरेको अभियोग छ ।’


अमेरिकी सञ्चारमाध्यमका अनुसार हुवावेविरुद्ध २३ अभियोग दर्ता गरिएको छ । अमेरिकी अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेलका अनुसार ती मुद्दा अमेरिकाको कानुनी मर्यादा र विश्व व्यापार अभ्यासको मानक उल्लंघनसँग सम्बन्धित छन् ।


‘हुवावेजस्तो कम्पनीले आर्थिक र राष्ट्रिय सुरक्षामा चुनौती थप्ने’ उनको दाबी छ । अन्य देशले समेत सुरक्षा चासो देखाउँदै हुवावेका उपकरण खरिद तथा प्रयोग नगर्न आफ्ना कम्पनीलाई निर्देशन दिएका छन् । मेङ्गलाई क्यानडामा नियन्त्रणमा लिएयता चीन, क्यानडा र अमेरिकाबीचको सम्बन्धमा थप तिक्तता देखिएको छ । चीन र क्यानडाबीचको सम्बन्ध चिसिरहेका बेला चीनको एक अदालतले दुई साताअघि एक क्यानडेली नागरिकलाई मृत्युदण्ड सुनाएको थियो ।


चीनको लागूऔषध ओसारपसार मुद्दामा १५ वर्षको कैद सजाय सुनाइएका क्यानडेली नागरिकको मुद्दाको पुनरावलोकन गर्दै मृत्युदण्ड सुनाएको हो । ३६ वर्षीय रोबर्ट लोएड सेलेनबर्गलाई एक दिने सुनुवाइका क्रममा मृत्युदण्डको सजाय सुनाइएको हो ।


मेङ्ग पक्राउपछि चीनले अन्य दुई क्यानडेलीलाई पनि नियन्त्रणमा लिएको थियो । विश्लेषकहरूले मेङ्ग पक्राउको बदला स्वरूप ती घटना भएको दाबी गरेका छन् । तर बेइजिङले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।


यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङ्गसम्बन्धी मुद्दामा विवादास्पद अभिव्यक्ति दिएलगत्तै चीनका लागि क्यानडाका राजदूत जोन म्याककुलमलाई समेत बर्खास्त गरेका थिए । गत साता उनले मेङ्गको सुपुर्दगीबारे अमेरिकी आग्रह त्रुटिपूर्ण रहेको टिप्पणी गरेका थिए । म्याककुलमले ‘अमेरिकाले मेङ्गलाई सुपुदर्गी गर्न गरिरहेको अनुरोध त्यागे क्यानडालाई हाइसन्चो हुने’ बताएका थिए । गत महिना एक क्यानडेली अदालतले मेङ्गलाई जमानतमा रिहा गरेपछि उनलाई क्यानडा छाड्नमा रोक लगाइएको छ ।

प्रकाशित : माघ १६, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय राजनीतिज्ञ फर्नान्डिज रहेनन्

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका पूर्व रक्षामन्त्री तथा वरिष्ठ राजनीतिज्ञ जर्ज फर्नान्डिजको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । केही वर्ष यता अल्जाइमर रोगबाट ग्रसित भएपछि उनी सार्वजनिक जीवनबाट टाढा रहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय उनमा स्वाइन फ्लुको समेत संक्रमण देखिएको थियो । 

९ पटक लोकसभा र एकपटक राज्यसभामा सांसद बनेका फर्नान्डिज विद्रोही समाजवादी राजनीतिज्ञका रूपमा चिनिन्छन् । घुम्रुम्म परेको कपाल, कालो फ्रेमवाला चस्मा र खादी कुर्ता उनको पहिचान थियो । दक्षिण भारतको मैंग्लोरको क्रिस्चिय परिवारमा जन्मिएका फर्नान्डिजलाई सन् १९६७ को लोकसभाले राष्ट्रिय पहिचान दिलाएको थियो ।

लोकसभा चुनावमा पहिलोपटक प्रतिस्पर्धा गरेका फर्नान्डिजले वरिष्ठ कंग्रेस नेता एसके पाटिललाई हराएपछि ‘जायन्ट किलर’ को उपनामा दिइएको थियो । ८ मे, १९७४ मा उनको नेतृत्वमा भएको रेल्वे मजदुरको देशव्यापी हडतालपछि भने राजनीतिक छविले थप उचाइ लियो ।

सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटलकालको विरोधमा सशक्त रूपमा उभिएपछि उनी थप चर्चित बने । रेल्वे आन्दोलनका क्रममा पक्राउ परेका उनी संकटकाल लाग्नुअघि मुक्त भएका थिए । तर देशमा संकटकालको घोषणा हुनुअघि नै उनी भूमिगत भएका थिए । भूमिगत भएसँगै उनी पार्टीको संगठन विस्तारमा सक्रिय रहे । तर, १० जुन १९७६ मा उनी कोलकाताबाट पक्राउ गरे ।

तत्कालीन इन्दिरा गान्धी सरकारले फर्नान्डिज र उनका सहयोगीहरूमाथि रेल्वे लाइन र सरकारी भवनमा विस्फोट गराउन योजना बनाएको आरोप लगाएको थियो । त्यसका साथै उनीहरूमाथि तत्कालीन सरकारलाई ढाल्न खोजेको भन्दै राजद्रोहको आरोपसमेत लगाइएको थियो । मुद्दाको सुनुवाइका क्रममा अदालत पुर्‍याइएका बेला खिचिएको उनको हतकडी लगाएको तस्बिर भारतीय राजनीतिक इतिहासमा ‘आइकनिक’ मानिन्छ ।

उनी जेलमै रहेका बेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल अन्त्य गर्दै आमचुनावको घोषणा गरिन् । उनले जेलमै रहेर चुनावमा बिहारको मुजफ्फरपुर निर्वाचन क्षेत्रबाट उम्मेदारी दिए र भारी मतान्तरले विजयी भए ।

समता पार्टीको नेतृत्व गरेका फर्नान्डिज सन् १९७७ मा बनेको मोरराजी देसाई नेतृत्वको जनता पार्टीको सरकारमा केन्द्रीय उद्योगमन्त्री बने । वैदेशिक लगानीसम्बन्धी कानुन उल्लघंन गरेको भन्दै उनले अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू कोकाकाला र आईबीएमलाई भारत छाड्न आदेश दिएका थिए । त्यसपछि उनले पटकपटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले ।

आन्तरिक कलहका कारण देखाई नेतृत्वको सरकार २ वर्षमै ढल्यो । पछि सन् १९८८ मा उनी जनता पार्टी टुक्रिएर बनेको जनता दलसँग आबद्ध भए र बीपी सिंह नेतृत्वको सरकारमा रेलवे मन्त्री बने । पछि उनकै पहलमा जनता दल र समता पार्टीबीच एकीकरण भयो ।

सन् २००९ मा नीतिश कुमारसँगको सम्बन्ध बिग्रेपछि भने उनको राजनीति अवसान सुरु भएको थियो । त्यसपछि भएको लोकसभा चुनावमा उनले जमानतसमेत जोगाउन सकेनन् ।

सन् १९९८ देखि २००४ सम्म अटल विहारी बाजपेयी नेतृत्वको सरकारमा फर्नान्डिज रक्षामन्त्री रहेका समय भारतले पाकिस्तानसँग कारगिल युद्ध लड्यो । उनी रक्षामन्त्री रहेकै बेला भारतले राजस्थानको पोख्रनमा ५ आवणिक परीक्षण गरेको थियो । भारत आवणिक शक्ति राष्ट्र बन्न उक्त परीक्षण कोसेढुंगाा मानिन्छ । अन्यायविरुद्ध जस्तोसुकै परिस्थिति पनि लड्ने जुझारु नेताका रूपमा सम्झन्छन् वरिष्ठ राजनीतिज्ञ शरद यादव । ‘भारतको लोकतान्त्रिक आन्दोलनकका दस्तावेज थिए उनी,’ यादवले कान्तिपुरसँग भने । ‘मजदुर, किसान, गरीबमाथि हुने अत्याचार र अन्यायविरुद्ध सधैं लडिरहे । उनी एक्लैले गरेको आह्वानको भरमा पूरै बम्बई बन्द हुन्थ्यो, राजनीतिज्ञप्रतिको त्यस किसिमको विश्वास आज कल्पना पनि गर्न सकिन्न,’ यादवले भने ।

यद्यपि, उनको राजनीतिक जीवन विवादमुक्त भने रहेन । उनीमाथि बाजपेयी सरकारमा रक्षामन्त्री रहेका बेला कारगिल युद्धमा मारिएका भारतीय सैनिकका लागि खरिद गरिएको कफिनमा भ्रष्टाचार गरेको आरोप छ । अमेरिकाबाट १३ गुना बढी मूल्यमा ५ कमसल कफिन किनेको आरोप लागेको थियो ।

त्यसैगरी सन् २००६ मा उनी, सहयोगी जया जेट्ली र पूर्व जलसेना प्रमुख सुशील कुमारमाथि इजरायलबाट हतियार खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो । तर सबै आरोपबाट पछि उनले सफाइ पाए ।

आधा दर्जन भाषामा दख्खल फर्नान्डिज वाक् कुशलता भएका नेता मानिन्छन् । गरिब किसान र मजदुरलाई ऋण दिन उनले मुम्बईमा छुट्टै बैंकसमेत खोलेका थिए । उनी राजनीतिमा मात्र सीमित थिएनन् । पत्रकारिता र लेखनमा पनि उनको विशेष चासो थियो । प्रतिपक्ष र अदरसाइड म्यागेजिन उनको नेतृत्वमा प्रकाशित भएको थियो ।

फर्नान्डिजको नेपालका राजनीतिज्ञसँग पनि विशेष सम्बन्ध थियो । तानाशाही शासनविरुद्ध उभिनुपर्छ भन्ने अडानका कारण भारत निर्वासनमा रहेका बीपी कोइराला लगायतका नेपाली कांग्रेसका नेतासँग उनी निकट थिए ।

विशेषगरी समाजवादी नेता राममनोहर लोहियासँगको सम्बन्धले पनि फर्नान्डिज र बीपीलाई नजिक बनाएको थियो । दुवै जना लोहियाका प्रिय मानिन्थे । तर गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकार रहेका बेला काठमाडौं पुगेका फर्नान्डिज सुटुक्क तिब्बतको खासा पुगेर फर्केपछिको अभिव्यक्तिका कारण भने उनको कंग्रेससँगको सम्बन्ध चिसिएको थियो ।

प्रकाशित : माघ १६, २०७५ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×