कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मडुरोले तोडे अमेरिकासँगको सम्बन्ध 

भेनेजुएला संकट
अमेरिकी कूटनीतिक नियोगका कर्मचारीलाई ७२ घण्टाभित्र देश छाड्न आदेश 
राष्ट्रपति मडुरोलाई अपदस्थ गरे रूसले सैनिक हस्तक्षेप गर्ने
रोयटर्स

काराकस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता खुवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि राष्ट्रपति निकोलास मडुरोले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । 

मडुरोले तोडे अमेरिकासँगको सम्बन्ध 

राष्ट्रपति ट्रम्पले ३५ वर्षीय गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए । राजधानी काराकसमा गुआइडोले आफूलाई भेनेजुएलाको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेलगत्तै ट्रम्पले समर्थन जनाएका हुन् ।


मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गर्दै सम्बन्ध तोडेको घोषणा गरे । उनले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र देश छाड्न आदेशसमेत दिएका छन् ।


अमेरिकाले ‘पूर्वराष्ट्रपति’ लाई उक्त आदेश दिने अधिकार नभएको प्रतिक्रिया दिएको छ । अमेरिकाले गुआइडोलाई समर्थन गर्न भेनेजुएलाको सेनालाई आग्रहसमेत गरेको छ ।


राष्ट्रपति ट्रम्पले गुआइडोलाई समर्थन गरेलगत्तै निष्पक्ष चुनाव गराउने उनको योजनाको प्रशंसासमेत गरेका थिए । ट्रम्पको प्रतिक्रियालगत्तै क्यानडा तथा ब्राजिल, कोलम्बिया, पेरुलगायतका देशले समेत उक्त कदमको समर्थन गरेका थिए । सबै दक्षिण अमेरिकी देशहरूले विपक्षी नेतालाई समर्थन गरिसकेका छैनन् ।


भेनेजुएलाको तेल उद्योगमा ठूलो लगानी गरेको रूसले गुआइडोको घोषणाको सार्वजनिक रूपमा विरोध जनाएको छ । उसले ती देशको कदम ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन’ भएको प्रतिक्रिया दिएको छ । रूसी समाचार संस्था इन्टरफयाक्सका अनुसार संसदको तल्लो सदनका सभामुख भ्याचेस्लाभ भोलोदिनले मडुरोलाई हटाउने घोषणा अवैध भएको बताए । सांसद फ्रान्ज किलिन्जेभिचले मडुरोलाई अपदस्थ गरिए रूसले सैनिक हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।


टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले मडुरोबोहक अन्यलाई राष्ट्रपति मान्नु अराजकता भएको प्रतिक्रिया दिएका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले घटनाबारे पेरिसले युरोपेली मित्रहरूसँग परामर्श गरिरहेको जनाएको छ ।

देशभरि लाखौं मानिसहरूले केही दिनदेखि वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध प्रदर्शन गर्दै आएका थिए । त्यसको आडमा गुआइडो आफूलाई राष्ट्रपति घोषणा गरेका हुन् ।


अमेरिकी अधिकारीले मडुरोले सत्ता हस्तान्तरणको शान्तिपूर्ण संक्रमणलाई स्वीकार गर्ने अपेक्षा गरेको जनाएका छन् । गुआइडोलाई सुरक्षा फौजको समर्थन मिलिसकेको छैन । सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन् । जसका कारण भेनेजुएला थप अनिश्चिततातर्फ धकेलिने सम्भावना देखिएको छ ।


को हुन् गुआइडो ?

हुवान गुआइडो विद्यार्थी नेताका रूपमा राजनीतिमा आएका हुन् । उनले पूर्व राष्ट्रपति हयुगो चाभेजले मडुरोलाई उत्तराधिकारी बनाउँदा चर्को विरोध गरेका थिए । मडुरो सन् २०१३ मा भेनेजुएलाको राष्ट्रपति निर्वाचित भएका थिए ।

उक्त कदमपछि गुआइडो निरन्तर रूपमा सरकारविरोधी प्रदर्शनमा सक्रिय छन् ।


मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धराशायी भएको छ । चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुको अभाव मुख्य समस्या हुन् ।


मडुरोले आफूलाई अपदस्थ गर्ने षड्यन्त्र गरिरहेको भन्दै विपक्षीविरुद्ध आपराधिक अनुसन्धान थाल्न अदालतलाई आदेश दिएका छन् । जसका कारण विपक्षी दलहरू उनीसँग झन रुष्ट छन् । मडुरोले राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि भेनेजुएलामा चर्किएका प्रदर्शनका क्रममा आधा दर्जनभन्दा बढीको ज्यान गइसकेको छ ।


वार्तामार्फत समस्या सुल्झाउन राष्ट्रसंघको आग्रह संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुयलामा जारी राजनीतिक संकटबारे चिन्ता व्यक्त गर्दै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।


‘संवादमार्फत हामीले सबै समस्याको समाधान निकल्नेमा हाम्रो आशा छ । भेनेजुयलाका जनता र उक्त क्षेत्रमा विपत निम्तिने प्रकारको द्वन्द्वलाई हामीले टार्नेपर्छ,’ स्वीटजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको कार्यक्रममा बोल्दै गुटेरेसले भने ।


विपक्षी नेतालाई समर्थन गर्ने अमेरिका, ब्राजिल, कोलम्बिया, पेरु लगायतका देशलाई लक्षित गर्दै उनले ‘सार्वभौम देशका सरकारलाई आफ्नो चाहना बमोजिमा निर्णय गर्ने सम्भावना भएको’ बताए । ‘हामी भेनेजुलयामा जारी संकटका कारण त्यहाँका जनताले दु:ख पाएकोमा चिन्तित छौं,’ उनले भने ।


राष्ट्रसंघका अनुसार राजनीतिक संकटपछिको द्वन्द्वका कारण सन् २०१५ यता करिब २३ लाख जनताले भेनेजुयला छाडिसेका छन् ।

प्रकाशित : माघ ११, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?