कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समयसमयमा नेपालमा राजनीतिक स्वार्थका लागि साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको बताएका छन् । उनले नेपाल धार्मिक विद्वेष फैलाउनेहरूबाट जोगिनुपर्ने धारणा राखेका छन् । 

सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा ओलीको जोड

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने बताए । उनले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

‘नेपाल विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरू पनि छन । यसलाई हामीले, नेपालीहरू सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदुपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्वेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि त्यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन्,' उनले भने, 'धर्मका नाउमा ठूलाठूला लडाईँहरु भएका छन । धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरू मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन ।'

पूर्वप्रधानमन्त्री ओलीले नेपालीहरूबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुनसक्ने भन्दै सचेत पनि गराएका छन् ।

'हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसाबले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । कहिलेकहिले राजनीतिक स्वार्थहरूका लागि, अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ,' उनले भने ।

अरुले उचालेका आधारमा अगाडि बढ्न नहुने ओलीको भनाइ छ । 'हामीले के बुझ्नु पर्छ भने अरुले भड्काई दिएको भरमा, अरुले उचालिदिएको भरमा, अरुले हामीलाई भावनामा बगाइदिएको भरमा हामी उचालिनु, बग्नु हुँदैन । हामी सामाजिक सदभाव कायम गरौं, राष्ट्रिय एकता सुदृढ गरौं । त्यो भावनाका साथ अगाडि बढनु पर्दछ,' उनले भने, 'मैले देखेको छु–समयसमयमा साम्प्रदायिक विद्धेष नेपालमा पनि भड्काउन खोजिएको छ । भडकाइएको छ । मान्छे मराइएको छ । झगडा लगाइएको छ । यस्ता कुराहरू भएका छन् । यसभित्र भड्काउनका लागि अनेक षडयन्त्रहरू भएका छन् । त्यस्ता षड्यन्त्रहरूबाट पनि हामी जोगिनु पर्दछ ।’

ओलीले धर्मको आडमा जनतामा फाटो ल्याएर जनता मराउने, देश सिध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने काम भएका बताए।

प्रकाशित : जेष्ठ ८, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?