भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने फसाउने प्रयास भएको अवस्थामा भने एमाले चुप लागेर नबस्ने बताए । 

बिहीबारदेखि काठमाडौंमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने बताए । ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ । तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन ।’

उनले एमालेलाई प्रतिशोधपूर्ण ढंगले वैमनास्यता साँधेको अवस्थाबारे भने आफूहरू सजग हुनुपर्ने बताए । ‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ । तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन,’ उनले भने, ‘पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ, यस्ता कुरामा हामी सजग हुनुपर्दछ ।’

उनले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताए । उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए ।

'अहिले भ्रष्टाचार भन्नेबित्तिकै उसको मुख थुनिदिने प्रवृत्ति मौलाएको छ । अनि कसैले उजुरी दियो भने त्यो त भ्रष्टाचारी हो भनेर दोषी करार गरिहाल्ने प्रवृत्ति छ, यो सही छैन,' उनले भने, 'अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध के गरेका थिए कि अहिले उनीविरुद्व अख्तियारमा उजुरी नै परिसकेको छ । कसैले बोल्यो कि उसको मुख थुन्दिहाल्ने प्रवृत्ति देखिन्छ । अनि कसैले प्रतिशोधमा उजुरी दियो भने हामी पत्याइदिइहाल्छौँ, हामी कहाँ त्यो खालको परपीडक मानसिकता भएको समाज पनि छ ।'


प्रकाशित : वैशाख २८, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्

अनुगमनसँगै वृक्षारोपण गर्दै हिलिहाङका जनप्रतिनिधि

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिकाले सञ्चालन गर्दै आएको सडक, सिँचाइ र खानेपानी आयोजनाको अनुगमनसँगै वृक्षरोपण गर्ने अभियान चलाएको छ । पालिकाको वन वातावरण समितिको अगुवाइमा यस्तो अभियान चलाइएको हो ।

चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका योजनाको अगुनमनसँगै वृक्षारोपणको कार्यक्रम अगाडि बढाइएको समिति संयोजक वीरेन्द्र मग्रातीले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन सडकको छेउछाउमा रिट्ठोका बिरुवा रोपिँदै छ । रिठ्ठो साबुन बनाउन प्रयोग गरिने कच्चा पदार्थसमेत हो । वैशाख लागेयता हिलिहाङका ७ वटै वडामा करिब ५ सय वटा बिरुवा रोपिएको पनि उनले बताए । ‘बाटोघाटोमा हरियालीसँगै मुहान क्षेत्रको संक्षणका लागि यस्तो अभियान चलाएका हौं,’ मग्रातीले भने ।

यसरी रोपिएका बिरुवा योजना सम्पन्न भएपछि उपभोक्तालाई नै जिम्मा दिइन्छ । यसलाई हुर्काएर कच्चा पदार्थ बिक्री गरी स्थानीयको आम्दानी बढ्ने लक्ष्य राखिएको छ । वृक्षारोपण अभियानलाई निरन्तरता दिने अनुगमन समिति संयोजकसमेत रहेकी पालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाइँ बताउँछिन् ।

पालिकाभरि साना–ठूला गरी सयभन्दा धेरै यस्ता योजना सञ्चालनमा छन् ।


प्रकाशित : वैशाख २८, २०८० १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×