भ्रष्टाचारीहरू कसैलाई छोड्नु हुँदैन : अध्यक्ष नेपाल

‘उपप्रधान एवं गृहमन्त्रीको ध्यानाकर्षण गर्दछु, तपाईंले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताए । देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरूले दिइरहेको उनले बताए । भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालको आग्रह छ ।

‘एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् । उपप्रधान एवं गृहमन्त्रीको ध्यानाकर्षण गर्दछु, तपाईंले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ,’ नेपालले भने ।

अध्यक्ष नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरू मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेकोसमेत बताए ।

प्रकाशित : वैशाख २७, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

जटिलता छन् तर हामी सुशासनका निम्ति गम्भीर भएर लागेका छौँ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको बताए ।

देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । वर्तमान अवस्थामा पनि जटिलताहरू धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिस्टहरूको आवश्यक्ता रहेको उनको भनाइ छ ।

‘अहिले परिस्थिति नयाँ बनेको छ । हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रीमण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ । सरकार राम्राबाहेक नराम्रा काम गर्दै नगर्ने भनेर लागेका छौँ । सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ । जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्नँ, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ । सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताए ।

प्रकाशित : वैशाख २७, २०८० १६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×