संसद्को आगामी बैठकअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्छ : महामन्त्री थापा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्को आगामी बैठकअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्छ : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जाने/नजाने कुरा निर्णय गर्नुपर्ने बताएका हुन् । 

चैत ५ गतेका लागि बोलाइएको संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने बताए ।

महामन्त्री थापाले सरकार आफ्नो कार्यदिशामा स्पष्ट हुनुपर्ने बताए । उनले भने, 'अबको ५ वर्षका लागि यो सरकारले के दिन्छ के कुराको परिवर्तन देखाउँछ भन्ने कुरा डे वानदेखि नै लाग्नुपर्छ । प्रधानमन्त्री र सरकारमा जाने मन्त्रीहरू पनि के गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । मन्त्रालय लिने कुरामा मात्र रस्साकस्सी हुनुहुँदैन । पुष्पकमल दाहाल नेतृत्वको यो गठबन्धनको सरकारले जनतालाई के-के कुरा दिने भन्ने कुरामा पनि रस्साकस्सी होस् ।'

प्रकाशित : चैत्र ३, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेट रंगशालाहरूको काम छिटो अघि बढाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

सरकारले मूलपानी, चितवनलगायत स्थानमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

बिहीबार यूएईविरुद्ध ९ रनको जित हासिल गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

यसैगरी उनले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणासमेत गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुःखमा साथमै हुनेछु‚’ प्रधानमन्त्री दाहालले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’

प्रकाशित : चैत्र ३, २०७९ १५:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×