निगमलाई सचिव अधिकारीको निर्देशन : जहाज किन्नुअघि स्पष्ट बिजनेस प्लान बनाउनू- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमलाई सचिव अधिकारीको निर्देशन : जहाज किन्नुअघि स्पष्ट बिजनेस प्लान बनाउनू

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन् ।सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका हुन्  ।

उनले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदको लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गरे । कुनै पनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन उनले निर्देशन दिए । उनले निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न नसकेको बताए । वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यको लागि पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।

‘सरकार नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी,सेवामूलक र आत्मनिर्भर संस्थाको रुपमा विकास गर्न चाहन्छ । त्यस्तो सबल संस्थाका रूपमा हेर्न चाहन्छौं । आत्मनिर्भर,प्रतिस्पर्धी संस्था होस् भन्ने चाहना हुन्छ । त्यसैले निगमलाई जहाज आवश्यक छ । आन्तरिक उडानको लागि दुई वटा मात्रै जहाज छ । यसले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न सकेको छैन । अन्तर्राष्ट्रिय उडानको लागि न्यारोबडीलाई भ्याइनभ्याई रहेको छ । वाइडबडीले बिजनेस पाइरहेको छैन । यस्तो अवस्थामा हामी छौं । त्यसैले ३३० को लागि नयाँ गन्तव्यको लागि पहिचान गर्ने र त्यहाँ उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको छ । निगमले जहाज खरिद गर्नुभन्दा पहिला बजार व्यवस्थापन,बिजनेसको मोडालिटि तयार गर्नुपर्छ । निगमले व्यवस्थापकीय सुधार पनि गर्न आवश्यक छ,’उनले भने ।

उनले सरकारले नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी,सेवामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न चाहेको बताए ।

जवाफमा नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताएका थिए ।

प्रकाशित : माघ ९, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरका युवाको हत्या विरोधमा स्थानीयद्वारा प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि भएको हत्याको विरोध गर्दै मृतकका परिवार र आफन्तहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् । 

मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् । यद्यपि घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ । १४ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको अपहरणछि भारतमा हत्या भएको थियो ।

मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

प्रकाशित : माघ ९, २०७९ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×