दलभन्दा बाहिरबाट राष्ट्रपति बनाउनु ठीक होइन : नेम्वाङ

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निष्पक्ष हुनुपर्छ भन्ने नाउँमा दलभन्दा बाहिरबाट कोही व्यक्तिलाई ल्याएर राष्ट्रपति बनाउने कुरा उपयुक्त नहुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दलहरूले नै संविधानले कल्पना गरेको जस्तो निष्पक्ष भएर काम गर्न सक्ने व्यक्तिलाई अघि सार्न सक्नुपर्ने बताए ।

दलभन्दा बाहिरबाट राष्ट्रपति बनाउनु ठीक होइन : नेम्वाङ

‘संविधानअनुसार जनताको छोरा–छोरी कोही पनि राष्ट्रपति बन्न सक्छ । कुनै कुल चाहिँदैन, ठूलो घराना चाहिँदैन । यसमा मेरो व्यक्तिगत आग्रह छैन, पार्टीले जे निर्णय गर्छ, त्यही मान्ने हो,’ उनले भने ।

उनले दलहरूले नै राष्ट्रपतिको उपयुक्त उम्मेदवार अघि सार्न सक्नुपर्ने बताए । ‘संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक छ, यो दलहरूले आफैंमाथि गरेको अविश्वास हो,’ उनले भने, ‘दलहरूले एउटा यस्तो व्यक्ति, सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ; जसले संविधानले कल्पना गरेको जस्तो गरेर काम गर्न सक्नुपर्छ । दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा मलाई चाहीँ ठीक लाग्दैन ।’

पूर्वसभामुख नेम्वाङले नवनिर्वाचित सभामुख घिमिरेलाई सबैको भावना र मन जितेर काम गर्न शुभकामना दिए । ‘जसलाई हामीले सभामुखको रुपमा निर्वाचित गर्‍यौँ । उहाँले हामीले विश्वासको गरेको जस्तो गरेर, सबैको भावना बोकेर, सबैको मन जितेर काम गर्नुपर्ने हुन्छ । उहाँले त्यसरी नै काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हाम्रो शुभकामना छ ।’

प्रकाशित : माघ ५, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?