कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहन्छौं : रञ्जिता श्रेष्ठ

'टीकापुर घटना बन्द कोठा वा गुफामा भएको होइन । टीकापुर घटनामा कसले कसलाई मार्‍यो देख्ने आँखाहरू हजारौं छन् । सबैले निर्दोष भन्दा रेशम चौधरी र अन्य थारुहरूलाई किन जेलमै राखिरहने ?'

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले टीकापुर घटना बन्द कोठा वा गुफामा नभएर कसले के गर्‍यो भन्ने विषयमा सबैले देखेको बताइन् ।

टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहन्छौं : रञ्जिता श्रेष्ठ

'टीकापुर घटना बन्द कोठा वा गुफामा भएको घटना होइन । टीकापुर घटनामा कसले कसलाई मार्‍यो देख्ने आँखाहरू हजारौं छन्,' उनले भनिन्, 'टीकापुर घटनाको न्याय निरुपण नहुन्जेलसम्म लडिरहने छौं ।'

सो घटनामा मारिएका सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले भनिन्, 'यो घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनु पर्छ । तर न्याय दिने तरिका के हो ? चरम ज्यादती र अन्याय गर्न पाइन्छ ? ' उनी सो घटनामा मारिएका बालक टेकबहादुर साउदको परिवारसँग पनि सम्पर्कमा रहेको बताइन् ।

कानुन निर्माण गर्ने थलो संसदमा आफू न्याय माग्न आएको भन्दै श्रेष्ठले टीकापुर घटनामा बढी क्षति थारु समुदायलाई भएको तर्क गरिन् । उनले रेशम चौधरीसहितका निर्दोष थारुहरुलाई थुनिएको भन्दै आपत्ति जनाएकी थिइन् । 'रेशम चौधरीको एफएम, घर र रिसोर्ट, गाडी, लत्ताकपडा जलाइयो र उनीहरुमाथि झुठा मुद्दा लगाइयो,' श्रेष्ठले भनिन् । उनले चौधरी सो घटना भएको ठाउँभन्दा २१ किलोमिटर पर रहेको सरकारी प्रतिवदेनले देखाउने पनि बताएकी थिइन् ।

उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् ।

सबै राजनीतिक दलका नेताहरुले चौधरी निर्दोष भएको बताए पनि जेलमा राखिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

'सबैले निर्दोष भन्दा रेशम चौधरी र अन्य थारुहरूलाई किन जेलमै राखिरहने ?' श्रेष्ठले भनिन्, 'म संसदबाट नै न्याय माग्छु र न्याय पाउने अपेक्षा पनि गरेको छु ।'

प्रकाशित : पुस २५, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×