२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विद्यार्थीको स्मार्ट सिटी

कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले व्यवस्थित सहरको प्रोटोटाइप बनाएका छन् । जसमा मोबाइल एप र प्रविधिमार्फत ट्राफिक व्यवस्थापन, पानीको प्रदूषण, कृषिसम्बन्धी जानकारी र कुनै विपत् वा दुर्घटनाबारे तत्काल सूचना दिने संयन्त्र विकसित गरिएको छ । 
गोविन्द पोखरेल

काठमाडौँ — कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विश्वास अधिकारी र श्रीति रञ्जितले एक महिना लगाएर एउटा व्यवस्थित सहरको प्रोटोटाइप बनाए । एउटा व्यवस्थित सहरमा मोबाइल एप र प्रविधिमार्फत सबै किमिसका सूचना र सेवा सुविधा दिन सकिने हिसाबले बनाएको उनीहरूको यो प्रोटोटाइपले राजधानीको सफ्टवेरिका कलेजले सञ्चालन गरेको ‘टेक–एक्स २०२३’ मा धेरैको ध्यान खिच्यो । कृत्रिम ‘स्मार्ट सिटी’ बनाएका उनीहरूको यो प्रोजेक्ट धेरैले मन पराए । 

विद्यार्थीको स्मार्ट सिटी

उनीहरूले बनाएको यो सहरमा ट्राफिक व्यवस्थापनलाई पनि उत्तिकै महत्त्व दिएका छन् । जसमा हरेक गाडीलाई प्रत्यक्ष रूपमा निगरानी गर्ने मात्रै होइन, कुन समयमा कहाँ थियो, कहाँ गयो र कहाँ छ भन्ने सबै थाहा हुन्छ । सहरको कुन ठाउँमा कति बेला र कहाँ बाढी जाने, कुन स्थानमा पानीको प्रदूषण बढेको लगायतका विषयमा जानकारी दिने किसिमको एउटा सिस्टम पनि छ यो सहरमा । त्यसका साथै, हरेक कृषकलाई कुन बेला कस्तो किसिमको बाली लगाउने र माटोको गुणस्तर क्षणभरमै थाहा हुन्छ । कुनै स्थानमा आगो लाग्न थालेको वा लाग्नेबित्तिकै तुरुन्तै दमकल आइपुग्छ । कुनै स्थानमा रहेका पेट्रोल पम्पबाट चुहावट (लिकेज) भयो भने एकै स्थानबाट थाहा हुन्छ ।

तस्बिरहरू : केशव थापा/कान्तिपुर

स्नातक तेस्रो वर्षमा अध्ययनरत अधिकारी र रञ्जितले बनाएको प्रोटोटाइपमा सहरी क्षेत्रमा हाल भइरहेका धेरै विषयबारे जानकारी मात्रै छैन, अस्पतालमा कुन/कुन चिकित्सक उपलब्ध छन् भन्ने विषयको पनि जानकारी हुन्छ । ‘इमेज प्रोसेसिङ गरेर गाडीको लाइभ ट्रयाकिङसँगै सहरी क्षेत्रमा प्रत्यक्ष गतिविधि सहरका हरेक नागरिकले घरमै बसेर हेर्न पाउँछन्,’ अधिकारी भन्छन् । उच्च सुरक्षा हुने भएकाले सहरमा अपराधका घटना कम हुने उनले बताए ।

विद्यार्थीले बनाएको कृत्रिम सहरमा बस्ने हरेक नागरिकलाई एउटा एप डाउनलोड गर्न दिइएको छ । जसमा केही निश्चित अंक (रकम) भरिएको हुन्छ । त्यही एपमार्फत् सम्पूर्ण जानकारी थाहा हुने निर्माणकर्ता श्रीति रञ्जितले बताइन् । अधिकारी भन्छन्, ‘हामीलाई अन्य साथीहरूले बनाएको परियोजनाजस्तै सबैलाई एकीकृत रूपमा देखाउन सकिने परियोजना बनाउने रहर भयो । त्यही भएर स्मार्ट सिटीको कन्सेप्ट तयार भयो ।’ अधिकारीका अनुसार यो कृत्रिम स्मार्ट सिटी बनाउनका लागि करिब तीन लाख खर्च भएको उनले बताए । यसमा स्मार्ट पार्किङ, स्वाइल मोइस्चर एनालाइसिस, डिजास्टर एनालाइसिस, स्मार्ट अस्पताललगायतका सिस्टम जडान गरिएको छ । उनीहरूले बनाएको यो स्मार्ट सहरमा फोहोर व्यवस्थापन पनि राम्रोसँग गरिन्छ । एउटा स्मार्ट डस्टिबन भरिएपछि फोहोर उठाएर त्यसलाई प्रशोधन गर्ने सम्पूर्ण प्रबन्ध छ ।

कलेजका प्राचार्य प्रमोद पौडेलले प्रविधिमा स्नातक तह अध्ययनरत गर्ने विद्यार्थीहरूले निर्माण गरिएका अन्य विभिन्न किसिमका परियोजनाहरू बहुउपयोगी र लागू गर्ने किसिममा छन् । आइतबारसम्म चलेको ‘टेक–एक्स २०२३’ मा विद्यार्थीहरूले रोबोटिक्स, एआई, साइबर सुरक्षासम्बन्धी विभिन्न परियोजना समावेश गरेका थिए । धेरैजसो परियोजना उद्योगसँग जोडेर फाइदा लिने किसिमका भएको पौडेलले बताए । ‘नेपालमा सञ्चालित कलेजका विद्यार्थीले उत्कृष्ट प्रोजेक्ट सफलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने एक्सपोले सन्देश दिएको छ ।’ उनका अनुसार प्रर्दशनीमा दस हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए ।

चौथो सेमेस्टरमा अध्ययनरत सोफ्निल विष्टले वन डढेलोको पूर्वसूचना प्रणालीसम्बन्धीको प्रविधिलाई देखाउँदै भने, ‘हामीले बनाएको फरेस्ट फायर सिस्टम अलर्ट’ ले जंगलमा आगलागी हुनुभन्दा अगाडिको अवस्थाबारे जानकारी दिन्छ । जसका आधारमा पूर्वतयारी गर्न सकिन्छ ।’ माटो तथा पानीको गुणस्तरलगायत विपद्सम्बन्धी पूर्वतयारीका धेरै परियोजना प्रदर्शनीमा राखिएको थियो । कलेजका सिनियर लेक्चरर रोबर्ट भानवे भन्छन्, ‘प्रदर्शनीमा हामीले साइबर सुरक्षा, डिजिटल फरेन्सिङसम्बन्धी प्रदर्शनी पनि गर्‍यौं । त्यसका साथै विद्यार्थीलाई इथिकल ह्याकिङसम्बन्धी जानकारी पनि प्रदान गर्‍यौं ।’

एक्स्पोमा फोहोरमैला व्यवस्थापनबारे सेन्सरजडित डस्टबिन राखेर टिपरले बोकेको फोहोर विसर्जन गर्ने तरिका देखाइएको थियो । त्यस्तै, एउटा पोलमा स्वचालित बत्ती बल्नेदेखि लिएर, ट्राफिक लाइट व्यवस्थापन, तापक्रम, आर्द्रता (ह्युमिडिटी) र प्रदूषणको मात्रा पनि मापनको तरिका पनि एक्सपोमा प्रस्तुत गरिएको थियो । भानवे भन्छन्, ‘विद्यार्थीहरूले साइबर सेक्युरिटीसँग सम्बन्धित नौवटा परियोजना देखाए ।’

यसैबीच, प्रदर्शनीका क्रममा आयोजित ‘रोबो–वार’ मा टिम भाइपर स्ट्राइकर प्रथम र काजाडोर दोस्रो भएका छन् । विजयी टिमले क्रमशः ७५ हजार र २५ हजार रुपैयाँ प्राप्त गरे । विद्यार्थीहरूले मंगलग्रहमा हाल गुडिरहेको पर्सिभरेन्स रोभरको प्रोटोटाइपसमेत बनाएर देखाएका थिए । यस्तै, उनीहरूले प्रविधिमा आधरित बहुउपयोगी सामग्री प्रस्तुत गरेका थिए ।

प्रकाशित : श्रावण १५, २०८० ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?