पाँच वर्षभित्र 'डिजिटल नेपाल’

हुवावेको फाइभजी प्रविधि प्रदर्शनीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व फाइभजी प्रविधिको तयारीमा रहेका बेला नेपाल भने फोजीमा पाइला सार्दै गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । उनका अनुसार यहाँका कुनै पनि अपरेटरले राष्ट्रव्यापी रूपमा फोजी सेवा विस्तार गर्न सकेका छैनन् । 

मन्त्री बाँस्कोटाले सरकार डिजिटल नेपाल निर्माणमा गम्भीर रहेको बताए । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्व चितुवाको बेगमा अघि बढिरहेको र नेपालले पनि पाँच वर्षभित्र डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याउने उनले बताए । ‘यो क्षेत्रका नीतिगत झन्झट र कानुनी समस्या समाधान गर्न हामी दत्तचित्त छौं,’ उनले भने, ‘सूचना प्रविधिसम्बन्धी ऐन ल्याएका छौं, त्यो संसद्मा विचाराधीन छ । नेपाल अब डिजिटल अर्थतन्त्रको यात्रामा छ ।’

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आधुनिक विकासबारे जानकारी दिन हुवावे नेपालले आयोजना गरेको ‘मोबाइल नेपाल कंग्रेस’ को आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले नेपाललाई फाइभजी प्रविधितर्फ लग्न यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।

बुधबारसम्म चल्ने सम्मेलनमा हुवावेले फाइभ जीसँग सम्बन्धित आधुनिक प्रविधि प्रदर्शनीमा राखेको छ । नेपालका लागि हुवावेका प्रमुख कार्यकारी अधिकृत डेनी देङले बार्सिलोनामा आयोजना हुने वर्ल्ड मोबाइल कंग्रेसमा राखिएका प्रविधिको सक्कली प्रति नै नेपालको प्रदर्शनीमा राखिएको अवगत गराए । ‘सबैलाई बार्सिलोना जान सम्भव छैन,’ उनले भने, ‘त्यसैले हामी विभिन्न देशमा यस्तो सम्मेलन आयोजना गर्छौं ताकि स्थानीयले वर्तमान प्रविधिबारे जानकारी र शिक्षा पाउन् ।’ नेपाल सरकार, स्थानीय साझेदार र ग्राहकको राम्रो व्यवहारका कारण आफूहरू पछिल्लो दुई दशकदेखि यहाँ रहन सकेकामा देङले खुसी प्रकट गरे ।

डिजिटल समाज निर्माणका लागि नेपालले पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने हुवावेका देङको सुझाव छ । उनका अनुसार काठमाडौंमा प्रत्येक दुई जनासँग स्मार्टफोनभएको र ५० प्रतिशत इन्टरनेट पेनिट्रेसन रहे पनि यहाँका बासिन्दाले राम्रो डिजिटल लाइफ अनुभव गर्न सकेका छैनन् । ‘यो किन थाहा छ ?’ उनले भने, ‘किनभने नेटवर्क तयार भइसकेको छैन । तयार भए पनि सायद गुणस्तरीय छैन । नेपाललाई अहिले चाहिने भनेको पूर्वाधार नै हो ।’ यसका लागि बिक्रेता, सञ्चालक, नियामक निकाय र सूचना प्रविधिका अगुवाको संयुक्त पहल आवश्यक पर्ने उनले बताए ।

मन्त्री बाँस्कोटाले नेपालको कुल डिजिटल साक्षरता दर ३१ प्रतिशत र मोबाइल पेनिट्रेसन शतप्रतिशत भए पनि नेटवर्कको पहुँच र गुणस्तरमा देश पछि रहेको स्विकारे । त्यसका लागि सम्बन्धित क्षेत्रका सबैको योगदान महत्त्वपूर्ण हुने उनको भनाइ थियो । सूचना तथा प्रविधि क्षेत्रमा राजनीति होइन, व्यवसाय हाबी हुनुपर्ने मन्त्री बाँस्कोटाले बताए । ‘यो क्षेत्रलाई छिटो अगाडि बढाउन सरकारले पर्याप्त लगानी गर्ने योजना बनाएको छ,’ उनले भने, ‘साइबर सेक्युरिटी, डाटा सेन्टर स्थापना वा नलेज बेस्ड पार्क निर्माणमा सरकार सक्रिय छ ।’ यसका लागि सरकारले स्वदेशी र विदेशी दुवै कम्पनीसँग मिलेर अघि बढ्न चाहेको उनले बताए ।

विश्व बजारमा फाइभजी विस्तारका लागि संघर्ष गरिरहेको हुवावेले विभिन्न देशमा मोबाइल कंग्रेस आयोजना गर्दै आएको छ ।
गत साता मात्रै थाइल्यान्डमा सम्मेलन गरेका सहप्रबन्ध निर्देशक सु दोङजियानले बताए । सुरक्षा चुनौतीलाई लिएर अमेरिकालगायत केही देशले हुवावेका उपकरणमा प्रतिबन्ध लगाएकाले सम्मेलन गर्दै आएको हो कि भन्ने प्रश्नमा दोङले भने, ‘हामीले दुई/तीन वर्षअघिदेखि नै यस्ता कार्यक्रम गर्दै आएका छौं । हामी विशुद्ध कर्पोरेट सिटिजन हौं । १७० देशमा हाम्रो उपस्थिति छ र त्यहाँका स्थानीयले हामीलाई सराहना गर्दै आएका छन् ।’

प्रदर्शनीमा १८ जना विज्ञ वक्ता सहभागी छन् । उनीहरूले फाइभजीबारे आगन्तुकलाई जानकारी दिनेछन् । ‘हामीकहाँ फोजी मात्रै छ,’ हुवावेनेपालका प्रोडक्ट म्यानेजर प्रभात रेग्मीले भने, ‘यही फोजीबाट कसरी फाइभजीको अनुभव लिन सकिएला ? यसको सलुसन हामीसँग छ ।’ सम्मेलनमा उनी इन्टरनेट प्रविधिका यस्तै आधुनिक गतिविधिबारे अवलोकनकर्तालाई जानकारी दिइरहेका थिए ।

प्रकाशित : चैत्र २५, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

उखु आपूर्ति नहुँदा क्रसिङ ठप्प

रवीन्द्र उप्रेती

महोत्तरी — रामनगरस्थित एभरेस्ट सुगर मिलमा उखु आपूर्ति ठप्प भएपछि आइतबारदेखि चिनी उत्पादनसमेत प्रभावित भएको छ । उखु नै नभएपछि कारखानाले ११ बजेदेखि ‘नो केन’ घोषणा गरेका छ । करिब ३ हेक्टर क्षेत्रफलको उखु यार्ड अहिले रिक्तो छ । 

कारखानाकाअनुसार त्रसिङ सिजन सुरु भएदेखि उखु यार्ड रित्तिएको यो पहिलोपटक हो । माघ महिनाको दोस्रो सातातिर पनि आवश्यकताअनुसार उखु आपूर्ति भएको थिएन । त्यतिबेला अहिलेजस्तो यार्ड खाली नै भएको थिएन । ‘क्रसिङ सिजनमा यार्ड नै रित्तिएको भने यो पहिलोपटक हो,’ एक कर्मचारीले भने ।

उखु प्रबन्धक अरविन्दकुमार बर्माका अनुसार कारखानाको क्षमताअनुसार क्रसिङका लागि दैनिक ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । त्यसबाहेक पनि यार्डमा ५ हजार क्विन्टल उखु जगेडा राखेपछि माक्र त्रसिङ गर्न सकिन्छ । कारखानाको सर्भेअनुसार किसानको खेतमा अहिले पनि साढे ४ लाख क्विन्टल उखु तयारी अवस्थामा छ । ती उखु चैत महिनासम्म क्रसिङ गरिसक्ने कारखानाको लक्ष्य थियो । मौसम प्रतिकूल भएपछि क्रसिङ तिथि लम्बिने सम्भावना बढेको बर्माले जनाए ।

‘नो केन’ हुँदा उत्पादन प्रभावित हुनुका साथै कारखानालाई दैनिक ७ लाख बढी मूल्य बराबरको क्षति हुने गरेको कारखानाले जनाएको छ । ‘एक दिन क्रसिङ रोकियो भने चिनी बन्ने प्रक्रियामा रहेका ३० हजार लिटरभन्दा बढी रस (केन जुस) नोक्सानी हुन्छ,’ बर्माले भने, ‘स्टिम बनाउने इन्धन नासिन्छ, लेबरकस्ट बढ्न जानेलगायतका समस्याले दैनिक ७ लाख बढीको क्षति व्यहोर्नुपर्छ ।’

एभरेस्ट चिनी मिलमा महोत्तरी र पूर्वी सर्लाहीबाट उखु आपूर्ति हुने गरेको छ । मिलले गरेको सर्भेअनुसार दुवै जिल्लामा गरी १७ हजार बिघामा उखु खेती गरिएको छ । यही आधारमा चालु क्रसिङ सिजनका लागि मिलले ३५ लख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको हो । पुस २८ गतेदेखि उत्पादन सुरु गरेको कारखानाले आइतबारसम्म ३० लाख ७ हजार ८ सय ८६ क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ ।

उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश कुशवहाले शनिबार जिल्लाको उत्तरी भेगमा परेको भारी वर्षाका कारण खेत हिलो भएकाले उखु कटान गर्न नसकिएको बताए । वर्षाले सडकसमेत हिलाम्मे छ । तयारी अवस्थाका उखु पनि मिल गेटसम्म ढुवानी गर्न नसकिएकाले ‘नो केन’ हुन गएको हो । मौसम सुधार भएमा क्रसिङका लागि आवश्यक उखु आपूर्ति हुन दुई/तीन दिन लाग्न सक्ने कुशवहाले बताए । ‘बेमौसमी वर्षाले उखु आपूर्ति गर्न नसकिएको हो,’ उनले भने, ‘मौसममा सुधार भयो भने मंलबार अथवा बुधबारसम्म उखु आपूर्ति सहज हुन सक्छ ।’

शनिबार बिहानदेखि जिल्लामा भारी वर्षा भएको थियो । खोलामा चैतेबाढी आएको थियो । उत्तरी क्षेत्रमा असिनासमेत परेपछि उखु कृषकका लागि मौसम प्रतिकूल बनेको हो । अहिले पनि उखु उत्पादन क्षेत्रमा पानी पर्ने सम्भावना टरिसकेको छैन । आइतबार पनि उत्तरी भेगका आकाशमा दिनभरजसो नै बादल लागेकाले खेतमै उखु बिग्रने आशंकामा किसान चिन्तित छन् ।

प्रकाशित : चैत्र २५, २०७५ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्