१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विज्ञान र प्रविधिमा सन् २०१९ : ब्ल्याक होलको पहिलो तस्बिरदेखि रोबोटिक पाखुरासम्म

काठमाडौँ — यस वर्ष विज्ञानको क्षेत्रमा धेरै महत्वपूर्ण कार्यहरु भए । सन् २०१९ विज्ञानले यस कारण पनि सम्झने छ कि पहिलो पटक  ब्ल्याक होलको तस्बिर सार्वजनिक गरियो ।विश्वमा बढ्दो जलवायु परिवर्तन र जलवायुको जोखिम नियन्त्रण र न्यूनीकरणका लागि भएका प्रयासहरु पनि यस वर्ष भए  ।

विज्ञान र प्रविधिमा सन् २०१९ : ब्ल्याक होलको पहिलो तस्बिरदेखि रोबोटिक पाखुरासम्म


विज्ञान र प्रविधिको क्षेत्रमा यी १० घटनाहरु मुख्य रहन गए ।

१०) घरको झ्यालबाट विद्युत उत्पादन गर्न सकिने

बढ्दो जनघनत्वसँगै सहरी क्षेत्रमा विद्युत खपतलाई ध्यानमा राख्दै वैज्ञानिकहरुले घरको झ्यालबाटै विद्युत उत्पादन गर्ने सकिने उपाय निकाले । जापानी प्रविधि आरिगामीबाट प्रभावित भएर निर्माण गरिएको सोलर प्यानलबाट झ्यालबाट विद्युत उत्पादन गर्न सकिन्छ । अनुसन्धानकर्ताहरुले यी सोलार प्यानलहरु घरको झ्यालमा राखेर विद्युत उत्पादन गर्न सक्छन् ।

९) माइक्रो प्लास्टिक तान्ने बिच भ्याक्युम

वातवरणविद्लाई तटीय क्षेत्रमा जम्मा हुने फोहोर तथा प्लास्टिकलाई कसरी व्यवस्थापन गर्ने भनेर सताइरहेको छ । उनीहरुलाई माइक्रो प्लास्टिकले अझ सताइरहेको छ । प्लास्टिकका स-साना टुक्राले पानीको पारिस्थितिक प्रणालीलाई असर मात्रै नगरेर सामुद्रिक जीवहरुलाई समेत असर पारिदिन्छ । बालुवामा मिसिने यस्ता माइक्रो प्लास्टिकको व्यवस्थापन गर्न निकै नै कठिनाइ हुन्छ । यही समस्याबाट उन्मुक्ति दिलाउनका एक किसिमको भ्याक्युम निर्माण गरिएको छ । क्यानेडियन इन्जिनियिरङ कलेजका विद्यार्थीहरुले 'होप्ला' नाम गरेको एउटा ठूलो भ्याक्युम क्लिनर निर्माण गरेका छन् जसले माइक्रो प्लास्टिकमात्रै सकंलन गर्छ । यसले तटीय क्षेत्रका बालुवाहरुलाई कुनै असर गर्दैन ।

८) दिमागले नियन्त्रण गर्न सक्ने रोबटिक पाखुरा

यही वर्षको जुनमा अनुसन्धानकर्ताहरुले एउटा नयाँ प्रविधिको विकास गरे । त्यो थियो दिमागले नियन्त्रण गर्न सक्ने रोबटिक पाखुरा । यो पाखुराको लगाउने मानिसको इच्छाबमोजिम चल्छ ।

यस किसिमको पाखुराले विशेष गरेर प्यारालाइसिस भएका मानिसहरुलाई निकै नै सहयोग पुग्ने बताइएको छ ।

७) हाइड्रोजन फ्युल उत्पादन गर्ने नयाँ तरिका

हाइड्रोजनका कणहरु संयोजन हुँदै तत्वहरुको निर्माण भयो । सूर्यमा असीमित हाइड्रोजन र हिलियमका कारण हुने न्यूक्लियर रियाक्सनका कारण धेरै नै ऊर्जा उत्पादन हुन्छ । टेक्नियोन-इजरायल इन्स्टिच्युटका वैज्ञानिकहरुले हाइड्रोजन इन्धनसम्बन्धी गरेको एक अनुसन्धान गत सेप्टेम्बरमा नेचर जर्नलमा प्रकाशित भयो ।

वैज्ञानिकहरुले हाल हाइड्रोजन इन्धन उत्पादनमा प्रयोग हुँदै आएको प्रविधिको विकल्पमा नयाँ प्रविधि अपनाएर सरल र सुलभ मूल्यमा उत्पादन गर्न सकिने अनुसन्धान प्रकाशित भयो । उक्त अनुसन्धानमा नयाँ पद्धतिबाट पानीका अणुहरु टुक्रयाएर अक्सिजन र हाइड्रोजन इन्धन उत्पादन गर्ने विधि उल्लेख छ ।

यसमा ई-टीएसी(इलेक्ट्रोक्यामिकल थर्मल्ली एक्टिभेटेड केमिकल) प्रविधिबाट पानीलाई ३० प्रतिशत छिटो अणुहरुमा टुक्राउन सकिने र ५० प्रतिशत कम लागतमा सम्भव हुने उल्लेख छ । यसबाट रकेटमा प्रयोग हुने हाइड्रोजन इन्धनको मूल्य कम हुने बताइएको छ ।

६) हरित गृह ग्याँस घटाउने झार

बढ्दो हरित गृह ग्याँस उत्सर्जनले जलवायु परिवर्तन गराइरहेको बेला अस्ट्रेलियामा अनुसन्धानकर्ताहरुले एक प्रकारको घाँसको गुण पत्ता लगाए । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तटीय क्षेत्रमा पाइने 'अस्पारागोप्सिस' प्रजातिको 'सी-विड'ले ग्यास उत्सर्जनमा कम गराउने छ ।

यो झारको केही मात्रा मिसाइदिँदा चौपायाले उत्पादन गर्ने ग्याँस ९९ प्रतिशतले घटेको पाइयो । यूनिभर्सिटी अफ् सनसाइन कोस्ट(यूएससी)का सहायक प्राध्यापक निक पाउलले नेतृत्व गरेको अनुसन्धानले उक्त रहस्य पत्ता लगाएको हो ।

यदि अस्ट्रेलियाले मुलुकमा भएका सबै चौपायालाई पुग्ने गरी यो प्रजातिको 'सी-विड' उत्पादन गर्ने हो भने १० प्रतिशतले हरित गृह ग्यास उत्सर्जनमा कमी आउने उल्लेख छ ।

५) पूर्ण रिचार्ज हुने कार्बन डाइअक्साइड ब्याट्री

हामीले प्रयोग गर्ने लिथियम-आयोन ब्याट्रीभन्दा सात गुणा बढी शक्ति सञ्चित गर्न सक्ने ब्याट्री वैज्ञानिकहरुले निर्माण गर्न सकिने पत्ता लगाए । लिथियम कार्बन डाइअक्साइड ब्याट्रीहरुमा शक्ति सञ्चय घनत्व आयोन ब्याट्रीहरुभन्दा धेरै गुणाले राम्रो पाइएको छ ।

अमेरिकाको सिकागोस्थित इलिनोई विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यसो प्रयोग गरेरै पुष्टि गरिदिए । उनीहरुले ५०० पटक लिथियम-कार्बन डाइअक्साइड ब्याट्रीको प्रोटोटाइप सफल परीक्षण गरे ।

४) सम्वेदना थाहा पाउने रोबटिक पाखुरा

मानिसको दिमागले नियन्त्रण गर्न सकिने पाखुरा निर्माण भएको अर्को महिना उटाह विश्वाविद्यालयका अनुसन्धानकर्ताहरुले एउटा रोबटिक पाखुराको नाम नै 'ल्युक आर्म' राखिदिए । उक्त रोबटिक पाखुराले मानिसको सम्वेदना पनि थाहा पाउँछ । यो कृत्रिम पाखुराले वस्तुको पहिचान गर्ने मात्र नभएर त्यो वस्तु नरम,कडा र कसरी उठाउन सकिन्छ भन्ने पत्ता लगाउँछ ।

ल्युक स्काइवाल्कार नाम गरेका व्यक्तिले यो पाखुराको प्रयोग गरेपछि उनले हर्षको आँसु झारेका थिए । उनैको नाममा उक्त पाखुराको नाम नै ल्युक आर्म राखियो ।

३) फोहोर खाने र विद्युत निकाल्ने ब्याक्टेरिया

वासिंगटन विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरु हाइकिङ जाँदा फोहोर खाने र विद्युत निकाल्ने ब्याक्टेरिया फेला पारे । यल्लो स्टोन राष्ट्रिय निकुञ्जको गेइसर क्षेत्रमा पर्ने हर्ट लेकका विभिन्न तातोपानीहरुमा इलेक्ट्रोडहरु छाडेर गएका थिए । एक महिनापछि इलेक्ट्रोड लिन आउँदा उनीहरुले तातो मन पराउने ब्याक्टेरिया फेला पारे । जसले इलेक्ट्रोडको कार्बनको ठोस बाहिर सतहबाट विद्युत निकाल्ने गरेको पत्ता लगाए ।

२) जिब्रोले पनि सुँघ्न सक्छ

शरीरका ५ इन्द्रीयमध्ये जिब्रो एक हो । स्वाद अनि बास्ना एक आपसमा जोडिएका छन् । खानेकुराको धेरै भाग हाम्रो दिमागले बास्नाबाट पनि थाहा पाउँछ । बास्नाकै आधारमा भएर स्वाद थाहा हुन्छ ।

फिलाडेल्फियास्थित मोनिल केमिकल सेन्सेस सेन्टरका अनुसन्धानकर्ताहरुले मानिसको स्वाद थाहा पाउने कोषहरु प्रयोगशालामा अध्ययन गर्ने क्रममा ती कोषहरु नाकमा पाइने अल्फ्याक्टरी कोषहरु जसरी प्रतिक्रिया दिए । यो किसिमको परीक्षण पहिलोपटक भए पनि मानव शरीर भएका अल्फाकटरी कोषहरु शरीरका अन्य कोषहरुमा पनि पाइएको थियो ।

१) ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक

पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी)मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले सार्वजनिक गरे । यो ब्ल्याक होल सूर्यभन्दा ६ अर्ब ५० करोड गुणा ठूलो छ। यसलाई ब्रहमाण्डको अहिलेसम्मकै सबैभन्दा गह्रौ र ठूलो ब्ल्याक होल हो।

तस्बिर केही अनियमित जस्तो देखिए पनि चम्किलो रिङ आकार भने प्रस्ट देखिएको छ। ब्ल्याक होलबाट प्रकाशसमेत उम्कन पाउँदैन। वैज्ञानिकहरुले सार्वजनिक गरेको तस्बिर ब्ल्याक होलेको छाया हो। ब्ल्याक होलको वास्तिवक तस्बिर खिच्न सम्भव नै छैन किनभने यसबाट प्रकाश उम्कन पाउँदैन।

इएचटी टेलिस्कोप तस्बिर : नासा

खगोलशास्त्रीहरुले इभेन्ट होरिजन टेलिस्कोप (ईएचटी) को मद्दतबाट यसको तस्बिर लिन सफल भएका हुन्। इभेन्ट होराइजन टेलिस्कोप विश्वका विभिन्न ८ वटा टेलिस्कोपहरुको एउटा नेटवर्क हो। एस्ट्रो फिजिक्स जर्नल लेटरमा प्रकाशित रिर्पोटअनुसार विश्वका विभिन्न २० मुलुकका ५९ वटा संस्थाका दुई सय जना वैज्ञानिकहरु यस कार्यमा संलग्न थिए।

-एजेन्सीको सहयोगमा


प्रकाशित : पुस १५, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?