कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्खाइका प्रविधि

हेलो शुक्रबार

सन् २०१९ मा प्रविधिको नयाँ आविष्कार धेरै भएन  । तर यो वर्ष प्रविधिका हिसाबले रोचक भने रह्यो  । प्रविधिको ठूलो आविष्कारभन्दा पनि प्रविधिको लडाइँका कारण यो वर्षको सम्झना रहन्छ । तर, आगामी वर्ष भने योभन्दा स्थिति फरक हुनेछ । कुन नयाँ प्रविधि आविष्कार होलान् भनेर त अनुमान गर्न सकिन्न ।

पर्खाइका प्रविधि

तर, अहिले विकासक्रममा रहेका प्रविधिले कस्तो फड्को मार्लान् भन्ने अनुमानचाहिँ गर्न सकिन्छ ।

अहिलेकै विकासक्रमलाई आधार मान्ने हो भने आगामी वर्ष फाइभजी विकासको वर्ष हुनेछ । चीन, अमेरिका, बेलायतसहित अधिकांश देशले यसको विकासका लागि गरेको लगानी र फाइभजी विकासका लागि प्रविधि कम्पनीले देखाएको चासोका कारण आगामी वर्ष फाइभजी विस्तारको वर्ष हुने अनुमान गर्न सकिन्छ । फाइभजीले मोबाइल प्रविधिलाई द्रुत बनाउने मात्रै नभई यसले अन्य सम्भावनाको ढोकासमेत खोल्नेछ । अहिले चलनमा रहेको फोरजी प्रविधिभन्दा निकै द्रुत गति हुने भएकाले फाइभजीले प्रविधिको प्रयोगलाई बढावा दिनेछ । शिक्षा, स्वास्थ्य र यातायातदेखि हरेक क्षेत्रमा इन्टरनेटको भूमिकालाई यसले बढावा दिनेछ ।

सन् २०१९ भरि चिनियाँ कम्पनी हुवावे र अमेरिकी सरकारबीच तथा अमेरिकी कम्पनीबीचको सम्बन्ध चिसोपन भए पनि यसले प्रविधिको प्रतिस्पर्धालाई थप बढाउनेछ । अमेरिकी कम्पनी गुगलको स्वामित्व भएको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिरहेको चिनियाँ कम्पनीले भविष्यमा आफ्नै सफ्टवेयर इकोसिस्टम बनाउने घोषणा गरेको छ । यसले संसारभरका डेभलपरलाई सम्भावनाको थप ढोको खोल्नेछ नै, योबाहेक प्रयोगकर्तालाई नयाँ अनुभव दिने विषयमा पनि प्रतिस्पर्धा हुने र यसको फाइदा प्रयोगकर्ताकै लागि बढी हुने अनुमान गर्न सकिन्छ ।

पछिल्ला वर्षमा विकास भएका नयाँ प्रविधि मोबाइलमा बढी केन्द्रित छन् । फाइभजी त्यसको एउटा उदाहरण हो । तर, स्मार्टफोन आफैं भने बोरिङ हुँदै गएको छ । स्मार्टफोनहरु क्यामेरा केन्द्रित हुँदै गएको र प्रयोगकर्तालाई नयाँ लाग्ने खालका फिचर कम हुन थालेको गुनासो सर्वत्र छ । यद्यपि सस्ता र महँगा फोनको विकल्प बजारमा धेरै छन् ।

यस्तै बोरिङ स्मार्टफोनलाई आकर्षक बनाउन सक्ने अर्को प्रविधि पट्याउन मिल्ने वा लचकदार स्क्रिन पनि हो । यो प्रविधि मोबाइलमा मात्रै नभएर टेलिभिजन र स्क्रिन प्रयोग हुने अधिकांश डिभाइसका लागि उपयोगी हुन्छ । तर, स्मार्टफोनका लागि यसको बढी नै उपयोगिता हुनेछ किनकि स्मार्टफोन प्रयोगकर्ताको खल्तीमा रहने वस्तु हो । आफ्नो साथमा हुने चीज जति आकर्षक भयो प्रयोगकर्ता उति नै खुसी हुने पक्का छ ।


यो वर्ष पट्याउन मिल्ने स्क्रिनका लागि धेरै उत्साहप्रद भएन । यो वर्ष भएका गल्तीका कारण अर्को वर्ष यो सुधारिने र धेरै उपयोगी प्रविधि बन्ने अनुमान गर्न सकिन्छ । किनकि अधिकांश स्मार्टफोन निर्माता यसका लागि इच्छुक छन् र प्रयोगकर्ताको रूचि पनि यसमा छ ।

पट्याउन मिल्ने खालको स्मार्टफोनमा प्रयोगकर्ताको रूचि कति छ भन्ने कुरा सामसङ फोल्डको उदाहरणबाट पनि थाहा हुन्छ । यो वर्ष सामसङले फोल्डेबल फोनको बिक्री सुरूवात गर्नेबित्तिकै अर्डर सकिएको थियो । यद्यपि सामसङका लागि यो सुखद अनुभूति भने हुन सकेन । फोनमा समस्या देखिएपछि उसले धेरै आलोचना खेप्नुपर्‍यो । २ हजार डलरभन्दा बढी मूल्य पर्ने फोनमा उपभोक्ताले देखाएको रूचिले पनि यसको भविष्य छ भन्ने संकेत गर्छ ।

फोल्डेबल स्क्रिन भएको फोन निर्माणका लागि एप्पलले प्याटेन्ट राइट दर्ता गरिसकेको छ भने हुवावे, साओमी, मोटोरोलाजस्ता कम्पनीले यसमा अनुसन्धान र विकास गरिरहेका छन् । यो प्रविधिले सफलता हात पारेमा स्मार्टफोनहरु कहिले साना र आवश्यकताअनुसार ठूला बनाएर बोक्न र काम गर्न मिल्नेछ ।

भविष्य कसलाई के थाहा ? ल्यापटप नै मोबाइल जसरी पट्याएर पो हिँड्न मिल्छ कि ? योबाहेक साना स्याटलाइट पनि आगामी वर्ष चर्चाको विषय हुनेछ । साना स्याटलाइट राख्ने अमेरिकी टेस्लाको योजनामा अन्य कम्पनीहरु पनि सामेल भइसकेका छन् । आधा दर्जन कम्पनीहरुले अन्तरिक्षको तल्लो तहमा साना खालका स्याटलाइट राखेर द्रुत गतिको इन्टरनेट वितरण गर्ने लक्ष्य राखेका छन् । यस्ता स्याटलाइट सस्ता त हुन्छन् नै, स्याटलाइटको व्यापकताले इन्टरनेटको पहुँच र गतिलाई पनि धेरै माथि लैजानेछ । यद्यपि सन् २०२० यस्ता स्याटलाइटको विस्तार र परीक्षणको वर्ष हुनेछ ।

प्रकाशित : पुस ११, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?