कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्पेन चौथोपल्ट युरो च्याम्पियन 

केही समयअघिसम्म स्पेनी फुटबल हाँसोको विषय थियो, त्यसलाई चिर्दै स्पेनले युरोको उपाधि उचालेको छ
एएफपी

बर्लिन — स्पेन आइतबार कीर्तिमान चौथोपल्ट युरोपेली च्याम्पियन बन्यो । युरो च्याम्पियनसिप फुटबलको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले हराएको हो । यो ऐतिहासिक सफलताको रातपछि अब स्पेनले विश्व फुटबलमा फेरि एकपल्ट राज गर्न सक्छ ।

स्पेन चौथोपल्ट युरो च्याम्पियन 

लुइस डे ला फुन्टेको टिम अबको टिममा अझ राम्रो गर्न सक्छ । किनभने टिमका दुई प्रमुख खेलाडीमध्ये लामिन यमल १७ र निको विलियम्स २२ वर्षका मात्र भए । सन् २००८ देखि २०१२ बीच स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा प्रभुत्व जमाएको थियो ।

यसबीच दुईपल्ट युरोको उपाधि मात्र जितिएन, बीचमा विश्वकपको उपाधि पनि हत्याएको थियो । त्यसपछि स्पेनी फुटबल एकाएक ओरालो लाग्न सुरु भयो । सन् २०२० को युरोमा बल्लतल्ल सेमिफाइनलसम्म पुगेको थियो । यो एक प्रकारको सकारात्मक लक्षण थियो । तर, विश्वकप २०२२ मा स्पेन अन्तिम १६ मा मोरक्कोसँग पराजित भएपछि त्यहाँको फुटबलको ओझ नै गिरेको थियो । यो प्रशिक्षकका रूपमा लुइस एनरिकको कालको अन्त्य थियो र नयाँ सुरुआतको संकेत पनि ।

डे ला फुन्टे आएपछि स्पेनी फुटबलले बलमाथि नियन्त्रणमा मात्र बढी जोड दिएन । टिमको अन्य पक्षमा मजबुत बनाइयो । स्पेनले अझै पनि बलमाथि अत्यधिक नियन्त्रणको प्रयास गर्छ नै । जस्तो सेमिफाइनलमा फ्रान्सविरुद्ध गरेको थियो । अहिले स्पेन सिधै अगाडि बढेर आक्रमण पनि गर्छ । विलियम्स र यमल जस्ता खेलाडी आएपछि त विपक्षी रक्षापंक्तिलाई टाउको दुखाइ बन्न थालेको छ । पक्कै पनि स्पेनी फुटबलमा परिवर्तन आएको छ । यो उत्तिकैमा रोकिन्न चाहन्न ।

चाहन्छ, फेरि एकपल्ट स्पेनी फुटबलको प्रभुत्व सुरु होस् । डे ला फुन्टे भन्छन्, ‘हामी युरोपेली च्याम्पियन हुन पूर्णतः हकदार थियौं । मैले असाध्यै गर्व महसुस गरिरहेको छु । म चाहन्छु, स्पेनी फुटबलले अझ धेरै राम्रो गरोस् । टिममा जहिले पनि सुधारका लागि केही न केही स्थान हुन्छ । यो नै हाम्रो उद्देश्य पनि हो । यो किन पनि सम्भव छ भने हाम्रा खेलाडी असाध्यै राम्रा छन्, अब्बल दर्जाका छन् ।’

अहिलेको नयाँ पुस्ताको खेल हेर्न ओलम्पिक स्टेडियममा पुरानो स्वर्णिम पुस्ताका तीन खेलाडी पनि थिए । ती जाभी हर्नान्डेज, आन्द्रेस इनिस्टा र डेविड भिया थिए । उनीहरूले १२ वर्षपछि स्पेनले कुनै ठूलो उपाधि जितेको आफ्नै आँखाले देखे । तर यो यात्रा आफैंमा सजिलो भने थिएन ।

विश्वास नहुन सक्छ, केही समय अगाडिसम्म पनि स्पेनी फुटबल हाँसोको विषय भएको थियो । त्यसलाई हेर्ने नजर हेपाहा प्रवृत्तिको भएको थियो । गत अगस्टमा स्पेनले अस्ट्रेलियाले महिला फुटबलको विश्वकप जितेको थियो । तर चर्चा विजेता टिमको बनेन । उल्टै संघका अध्यक्ष लुइस रुबिलेसबारे चर्चा भयो ।

यो चर्चा सकारात्मक थिएन । उनको कामले पूरा विश्वमा विवाद सिर्जना भएको थियो । अध्यक्षले खेलाडी जेनी हार्मेसोलाई जबरजस्ती चुम्बन गरेका थिए । तिनै अध्यक्षले एनरिकको स्थानमा डे ला फुन्टेलाई नियुक्त गरेका थिए । सुरुमा त उनले आफ्नो पद छाड्न पनि मानेनन् । चारैतिरको विवाद र दबाबबीच अध्यक्ष रुबिलेसले आफ्नो पदबाट राजीनामा दिएका थिए । स्पेनी सरकारले पनि दबाब सिर्जना गरेको थियो । महिला खेलाडीहरू आन्दोलनमै उत्रेका थिए ।

सुरुमा त डे ला फुन्टेले आफ्ना अध्यक्षकै समर्थन गरे । तर पछि माफी पनि मागे । तिनै प्रशिक्षक स्कटल्यान्डविरुद्धको युरो छनोटमा स्पेन पराजित भएपछि चर्को आलोचनामा पनि परे । तर, त्यसको तीन महिनापछि स्पेनले नेसन्स लिग जित्यो । प्रमाणित गर्न सफल रह्यो, कम्तीमा मैदानमा उनको नेतृत्वमा स्पेनी फुटबलसही दिशातर्फ अग्रसर छ । अचेल स्पेनी फुटबल रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीमा मात्र अत्यधिक निर्भर हुने गर्दैन ।

बरू पछिल्लो समय स्पेनी टिममा बास्क उपस्थिति बलियो भएको छ, विशेषतः एथलेटिको बिलबाओ र रियल सोसिडाडको । आजभोलि स्पेनी फुटबल योजनामा आधारित छ । त्यसैको फल त हो, स्पेनले उपाधिसम्मको यात्रामा एकसेएक टिमलाई हराएको । स्पेनले पछिल्लो विजेता इटाली, आयोजक जर्मनी र बलियो फ्रान्सलाई हराएको थियो अनि निर्णायक खेलमा इंग्ल्यान्डलाई । रोड्रीले ठीकै भनेका छन्, ‘हाम्रो सपना पूरा भएको छ, किनभने हामी युरोपकै सबैभन्दा राम्रो टिम भएका छौं ।’

स्पेनले बार्सिलोनाका मिडफिल्डर जाभीविना खेलेको थियो, किनभने उनलाई घुँडामा चोट लागेको थियो । अझ स्पेनले पेड्रीविना नै सेमिफाइनल र फाइनल खेलेको थियो । उनी जर्मनीविरुद्धको क्वाटरफाइनलमा घाइते भएका थिए । यो तथ्य स्पष्ट भएको छ, डे ला फुन्टे अहिलेको वर्तमान स्पेनी टिममा विश्वास राख्छन् । त्यो भन्दा महत्त्वपूर्ण के भने स्पेनी फुटबलको भविष्य राम्रो र उज्ज्वल पनि देखिन थालेको छ ।

प्रकाशित : श्रावण १, २०८१ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×