कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

महाभिडन्तमा उत्रँदै स्पेन र इंग्ल्यान्ड

इंग्ल्यान्डका लागि लगातार दोस्रो युरो फाइनल हो भने स्पेन दशकपछि यस उपाधि जित्ने अभियानमा हुनेछ
एएफपी

बर्लिन — उत्कृष्ट स्पेन । टिममा लामिन यमल जस्ता किशोर सनसनी । यता इंग्ल्यान्ड । यो टिम लगभग ६० वर्षयता पहिलो ठूलो उपाधि जित्ने तर्खरमा छ । यिनै दुई टिमबीच आइतबार महाभिडन्तका रूपमा युरो २०२४ को फाइनल हुँदै छ । खेल हुनेछ बर्लिनको ओलम्पिक स्टेडियममा ।

महाभिडन्तमा उत्रँदै स्पेन र इंग्ल्यान्ड

पूरा प्रतियोगितामै स्पेन लयमा देखिएको छ । यसक्रममा स्पेनले आफ्नो यात्रामा डिफेन्डिङ च्याम्पियन इटाली, आयोजक जर्मनी र उपाधिको बलियो दाबेदार फ्रान्सको चुनौती काटेको छ ।

तर, जुड बेलिङ्घम र ह्यारी केनसम्मिलित इंग्ल्यान्डले पनि कम्तीको छैन । टोलीलाई पनि विश्वास छ, स्पेनलाई निर्णायक खेलमा पन्छाउन सकिन्छ अनि सन् १९६६ को विश्वकपयता पहिलो उपाधि जित्न सकिन्छ । दुई वर्ष अगाडि मात्रै इंग्ल्यान्डको महिला टिमले युरो जितेको थियो । तर, तिनका पुरुष सहकर्मीले भने यस्तो उपलब्धि अहिलेसम्म देख्न पाएका छैनन् । यो इंग्ल्यान्डका लागि लगातार दोस्रो युरो फाइनल भने हो । सन् २०२१ मा इटलीविरुद्धको फाइनल पेनाल्टी शुटआउटमा गुमेको थियो ।

फेरि अहिले इंग्ल्यान्ड पहिलो पटक विदेशी भूमिमा फाइनल खेल्दै छ । ‘इटालीले त्यति बेला उपाधि जित्दा पुगेको पीडा अहिलेसम्म पनि उस्तै छ,’ इंग्लिस मिडफिल्डर डेक्लन राइस भन्छन्, ‘हाम्रोसामु एक अर्को अवसर जुरेको छ, यसमा टिकेर हामीले आफ्नै नयाँ इतिहास लेख्न सक्छौं । हाम्रोसामु निकै बलियो विपक्षी टिम रहेको छ, त्यसैले स्पेनप्रति हाम्रो सबै प्रकारको सम्मान र आदर छ ।’ डर्टमन्डमा भएको सेमिफाइनलमा नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्डले अहिलेसम्मकै उत्कृष्ट खेल पस्केको थियो ।

जाभी सिमोन्सको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएपछि केनले पेनाल्टीबाट बराबरी गोल फर्काए । पेनाल्टीको निर्णय आफैंमा विवादास्प्द रह्यो, अन्त्यमा इंग्ल्यान्ड जितको हकदार रह्यो । किनभने खेलको अन्त्यमा सब्स्टिच्युट ओली वाटकिन्सले सुन्दर गोल गरे । लिग चरणको आफ्नो पहिलो खेलमा सर्बियालाई हराएयता गारेथ साउथगेटको टिमले जितका लागि संघर्ष भने गर्नुपरेको थियो । डेनमार्क र स्लोभेनियाविरुद्धको खेलमा इंग्ल्यान्ड सहज देखिएन ।

स्लोभाकियाविरुद्ध अन्तिम १६ मा पनि इंग्ल्यान्ड बेलिङ्घमको गोलले अन्तिम क्षणमा जोगिएको हो । स्विट्जरल्यान्डविरुद्धको क्वाटरफाइनलमा पनि इंग्ल्यान्डको जित टाइब्रेकरमै सम्भव भएको हो । तर, डच टिमविरुद्ध प्राप्त जितले भने यही इंग्ल्यान्ड टिमलाई धेरै राहत दिएको छ, टिममा आत्मविश्वास फर्केको छ । प्रशिक्षक साउथगेट भन्छन्, ‘हामी जर्मनीमा जित्न आएका हौं । हामीसामु पक्कै पनि ठूलो चुनौती छ ।’ प्रतियोगितापछि उनको आफ्नै भविष्य के हुने हो, त्यो भने टुंगो छैन ।

स्पेनको कथा भने पुनरुत्थानको हो । फाइनलमा यही टिम जितका लागि बढी प्रत्याशी देखिन्छ । स्पेन र इंग्ल्यान्ड सन् १९९६ पछि पहिलो पटक विश्वकप वा युरोमा भिड्दै छन् । साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले खेलेका प्रतियोगितामा टिम अन्त्यसम्म पुगेता पनि यही तथ्य स्पेनमा भने लागू हुन्न । एक दशकअगाडि विश्व फुटबलमा राज गरेको स्पेन त्यसपछि ओरालो लागेको थियो । ला रोजाले सन् २००८ र २०१२ मा युरो जितेको थियो भने त्यसबीच सन् २०१० को विश्वकप ।

तर, त्यसपछि स्पेनले केही जित्न सकेन र ठूला प्रतियोगितामा टोलीको प्रदर्शन खस्कादो थियो । प्रशिक्षक लुइस डे ला फुन्टे आएपछि भने स्पेनले सम्हालिएर खेल्न थालेको छ । यसैक्रममा गत वर्ष यूईएफए नेसन्स लिग जितेको थियो । स्पेन अहिलेको प्रतियोगितामा लगातार सबै खेल जित्ने एक्लो टिम रहेको छ । फाइनलसम्मको यात्रामा स्पेनले जर्मनी र फ्रान्सको हातबाट बलियो चुनौती सामना गर्नुपरेको थियो । यसै क्रममा स्पेनले १३ गोल गरेको छ र यो इंग्ल्यान्डले गरेको ७ गोलको तुलनामा धेरै राम्रो हो ।

फाइनललाई लिएर डानी ओल्मो भन्छन्, ‘इंग्ल्यान्डले यो प्रतियोगितामा देखाएको छ कि यो टिम पुनरागमन रच्न सक्षम छ । हारको स्थितिबाट यो टिमले खेल जितेको छ । इंग्ल्यान्डले कहिले पनि हार मान्दैन ।’

त्यसैले फाइनलमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । युरोका लागि स्पेन र इंग्ल्यान्डबीचको महाभिडन्त फाइनल एउटा सुखद अन्त्यको कारण बन्नेछ ।

स्पेन–इंग्ल्यान्डको इतिहास

यसपल्ट फाइनलमा स्पेन र इङ्ल्यान्ड सन् २०१८ यता पहिलो पटक एकापसमा भिड्न लागेका हुन् । इतिहास पल्टाउने हो भने सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएको छ । त्यसमध्ये पछिल्लो प्रदर्शनमा स्पेन सुदृढ छ । तर, समग्रमा भने इङ्ल्यान्ड नै अगाडि छ ।

अहिलेसम्मका खेलमा इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित रहेको छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला ९ खेलमध्ये स्पेन ५ पटक विजयी छ । सन् १९६० देखि १९८० बीच त्यस्तो समय थियो, जतिबेला इङ्ल्यान्डले स्पेनविरुद्ध लगातार ७ खेल जितेको थियो । तर, सबैभन्दा महत्त्वपूर्ण तथ्य भने इङ्ल्यान्डको पक्षमा छ । त्यो के भने युरोमा स्पेनले अहिलेसम्म इङ्ल्यान्डलाई हराउन सकेको छैन ।

प्रकाशित : असार ३०, २०८१ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×