कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बेल्जियमलाई ठूलो राहत

एएफपी

कोलोन — बेल्जियमले युरोमा शनिबार नयाँ जीवन पाएको छ । यसका लागि टोलीले रोमानियामाथि २–० को जित निकाल्यो । समूह ‘ई’ को यो खेल गुमाएको भए बेल्जियम प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिन सक्थ्यो ।

बेल्जियमलाई ठूलो राहत

स्टार खेलाडीले भरिएको यो टिमको एक अर्को पहिलो चरणबाट बाहिरिने कथा हुन्थ्यो । तर खेल सुरु भएको ७३ औं सेकेन्डमै बेल्जियमका लागि यारी टेलेमन्सले गोल गरे । त्यसपछि केभिन डी ब्रुएनाले दोस्रो गोल थपेका थिए ।

अब यो समूहले निकै सनसनीपूर्ण र रोमाञ्चक मोड लिएको छ । स्लोभाकिया र युक्रेनसँगै समूहका चारै टिमको समान २ खेलपछि ३ अंक भएको छ । यी चारै टिमले एक खेल गुमाएको छ, एक खेल जितेको छ । त्यसैले समूहको अन्तिम दिनको खेलमा सबै सम्भावना खुला रहेको छ । अन्तिम दुई खेलमा बेल्जियमले युक्रेनको सामना गर्नेछ भने रोमानियाको भेट स्लोभाकियासँग हुनेछ । यसअघिको खेलमा बेल्जियम स्लोभाकियासँग पराजित भएको थियो ।

‘स्लोभाकियाविरुद्धको खेलमा पनि हामीले जित्नकै लागि खेलेका थियौं । त्यस खेलमा पनि हाम्रो प्रदर्शन राम्रो थियो । फरक के रह्यो भने रोमानियाविरुद्धको खेलमा हामीले गोल निकाल्न सक्यौं,’ बेल्जियमका कप्तान केभिन डी ब्रुएनाले भने, ‘हामीले प्रायः केही स–साना भुल गर्ने र अवसर गुमाउने हुने गर्छौं । तर यो जितमा हामी सन्तुष्ट छौं । हाम्रो आक्रमण मात्र नभएर रक्षात्मक रणनीति पनि सटिक रह्यो ।’ अब बेल्जियमको स्वर्णिम पुस्ताले नकआउट चरण पुगेको सपना बुन्न सक्छ ।

पछिल्ला दुई युरोको क्वाटरफाइनलमा पराजित बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको थियो । टेलेमन्सको गोलसँगै ठूला प्रतियोगितामा बेल्जियमको गोल खडेरी पनि तोडिएको छ । पछिल्लो विश्वकपमा क्यानडाविरुद्ध गोल गरेयता ठूला प्रतियोगिताका तीन समय मिनेट बेल्जियमले कुनै गोल गर्न सकेको थिएन । रोमानियाले भने आफ्नो पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो र युरोमा सन् २००० यता टोलीको पहिलो जित थियो ।

हारका बावजुत एडवार्ड इरडानेस्कुको टिम रोमानियासामु अर्को चरण पुग्ने सम्भावना जीवन्त छ । ‘हामीले कहिले पनि आस छाड्दैनौं । हाम्रो संघर्ष जारी रहनेछ । भाग्यले साथ दिने हो भने हामी अगाडि बढ्ने छौं,’ इरडानेस्कुले भने । उनले बेल्जियम टिमको पनि प्रशंसा गर्न बिर्सेनन् । उनको भनाइ थियो, ‘बेल्जियम टिम उच्च स्तरको टिम हो, यसमा राम्रा खेलाडीको कुनै कमी छैन । बेल्जियम एउटा सबै अर्थमा पूर्ण टिम हो । बेल्जियम उपाधिको दाबेदार हो ।’

प्रकाशित : असार १०, २०८१ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×