कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

यू–१५ विद्यालय खेलकुद बुधबारदेखि

पोखरा — राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयुक्त आयोजनामा हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

यू–१५ विद्यालय खेलकुद बुधबारदेखि

पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता बुधबार पोखरामा सुरु हुँदै छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले बताए । ‘विद्यालयबाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू–१५ विद्यालय खेलकुद हुन लागेको छ । यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्ट मंगलबारै सुरु भइसकेको छ,’ उनले भने ।

सातै प्रदेशका खेलाडी प्रतिस्पर्धी हुनेछन् । प्रत्येक प्रदेशबाट ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुनेछन् । प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स, बास्केटबल, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालमा प्रतिस्पर्धा हुनेछ । सबै खेलको छात्रछात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षमा खेलसंख्या बढाउँदै जाने शर्माले बताए । प्रतियोगिता आयोजक कमिटीका सदस्य राजकुमार कार्कीले ओलम्पिकमा खेलिने खेल, विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्सबाहेकका खेललाई पनि प्रवर्द्धन गर्नुपर्ने भएकाले अहिले ६ खेल छनोट गरिएको बताए ।

नेपाल विद्यालयक खेलकुद महासंघका महासचिव कार्कीले स्कुलस्तरदेखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो हुने र भविष्यमा ओलम्पियन जन्मने धारणा व्यक्त गरे ।

एथलेटिक्समा १००, २००, ४०० र ८०० सय मिटर दौड, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिले दौडमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा छात्र एकल, डबल्स, छात्रा एकल, डबल्स र मिक्स डबल्स गरी ५–५ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालमा छात्र/छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्समा छात्र र छात्रा दुवैमा ६–६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४–४, बुद्धिचालमा ४ खेलाडी सहभागी हुनेछन् । रग्बी र बास्केटबलमा छात्र र छात्रामा १०–१० खेलाडी सहभागी हुनेछन् ।

पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार हुनेछ । ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबार सुरु भइसकेको छ ।

प्रतियोगिता सञ्चालन गर्न १ करोड ८२ लाख बजेट छुट्याइएको छ । त्यसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँकी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले बेहोर्ने सदस्य–सचिव शर्माले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २९, २०८१ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×