कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नामिबियाविरुद्ध नेपाल ३ रनले विजयी, फाइनलको आशा जीवितै

विनोद पाण्डे

काठमाडौँ — करण केसीले अन्तिम ओभरमा ८ रनमात्र दिएपछि नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको छ । अन्तिम ओभरमा विजयका लागि नामिबियालाई १२ रन चाहिने अवस्थामा करणले ८ रनमात्र दिएका थिए ।

नामिबियाविरुद्ध नेपाल ३ रनले विजयी, फाइनलको आशा जीवितै

आफ्नो अघिल्लो ३ ओभरमा ४१ रन खर्चेका करणले जोखिमपूर्ण अन्तिम ओभर लिएर सानदार बलिङ गरेका थिए । अन्तिम ओभरमा नामिबियाले जोडेको ८ रनमध्ये अन्तिम बलको चौका पनि थियो ।

१ सय ८१ रनको लक्ष्य लिएर आएको नामिबियाले ७ विकेट गुमाई १ सय ७७ रनमात्र बनाउन सक्यो । खेल नामिबियाको पक्षमा मोडिएको समयमा दीपेन्द्रसिंह ऐरीले १६ औं ओभरमा २ रनमात्र दिएर कप्तान जेजे स्मिट र जान निकोलस लफ्टी इटोनलाई लगातार बलमा आउट गरेका थिए । त्यसको अर्को ओभरमा अविनाश बोहराले जान फ्राइलिन्कलाई आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

स्मिटले २६ बल खेली ६ चौका र २ छक्का प्रहार गरि ५० रन बनाए । फ्राइलिन्कले २९ बलमा १ चौका र २ छक्कासहित ३७, जेपी कोट्जेले २२ बल खेली ४ चौकासहित २५ र जेन ग्रिनले १३ बल खेली ४ चौकासहित अविजित २३ रन बनाए ।

दीपेन्द्रले ४ ओभरमा २९, सोमपालले ४ ओभरमा ३४ र करणले ४ ओभरमा ४९ रन खर्चेर २–२ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको थियो ।

कुशल मल्लले अविजित ५५ रन बनाए । उनले कुल ३७ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । ३० बलमा अर्धशतक पुरा गरेका कुशलले आरिफ शेखसँग पाँचौं विकेटमा ५५ बलमा ८५ रनको साझेदारी गरे । प्रतियोगितामा पहिलो खेल खेलिरहेका आरिफले २४ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।

नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख १ रनमात्र बनाई बेन सिकोन्गोको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले २ चौका प्रहार गरि ९ बलमा १० रन बनाएर आउट भए । आरिफ जस्तै प्रतियोगितामा पहिलो खेल खेलिरहेका अनिलले ३ छक्का प्रहार गर्दै १७ बलमा २३ रन बनाए ।

चौथो नम्बरमा पठाइएका गुलशन झाले १६ बल खेली १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन बनाए । उनलाई बर्नान्ड स्कोल्ट्जले एलबीडब्लु आउट भएका थिए । त्यसपछि कुशल र आरिफको साझेदारी जमेको थियो । आरिफ आउट भएपछि आएका करणले १ छक्का प्रहार गर्दै ३ बलमा ७ रन बनाए । सोमपाल कामीले ३ बलमा २ रनमात्र बनाउन सके । सिकोन्गोले ४ ओभरमा २८ रन खर्चेर ३ र ज्याक ब्रसेलले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

नेदरल्यान्ड्सविरुद्ध बुधबार खेलेको नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । कुशल भुर्तेलसहित सन्दीप जोरा र ललित राजवंशीलाई बेन्चमा राख्दै नेपालले उनीहरुको स्थानमा अनिल शाह, आरिफ शेख र अविनाश बोहरालाई प्लेयिङ ११ मा राखेको छ । भुर्तेल यस प्रतियोगितामा नेपालले खेलेको दुबै खेलमा शुन्यमा आउट भएका थिए ।

फाइनलमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने आवश्यक्ता रहेको छ । नेपाल पहिलो दुई खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग २० रन र २ विकेटले पराजित भएको थियो । नेपालले यस खेल जितेमा फाइनलमा पुग्ने सम्भावना रहन्छ । पराजित भएमा नेपाल फाइनल दौडबाट बाहिरिन्छ ।

नामिबिया बिहीबार नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । नामिबियाका नियमित कप्तान जेर्हाड इरासमस चोटका कारण फर्किसकेका छन् । उनको स्थानमा जेजे स्मिटले नामिबियाको कप्तानी गरिरहेका छन् । उनले टस जितेर नेपाललाई पहिला ब्याटिङका लागि बोलाएका हुन् ।

प्रकाशित : फाल्गुन १८, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×