कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल : विराटनगर पीपीएलको प्लेअफमा, फाइनल प्रवेशका लागि बुटवलसँगै भिड्ने

पोखरा — सानदार ब्याटिङको नमूना प्रस्तुत गर्दै विराटनगर टाइटन्सले लिगको अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई पराजित गरी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को प्लेअफमा प्रवेश गरेको छ । 

पीपीएल : विराटनगर पीपीएलको प्लेअफमा, फाइनल प्रवेशका लागि बुटवलसँगै भिड्ने



काठमाडौं गोल्डेन वारियर्ससँग समान ४ अंक भए पनि नेट रनरेटमा विराटनगरले सफलता हासिल गरेको हो । १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले प्लेअफमा पुग्नका लागि १२.२ ओभरमै खेल जित्नुपर्ने थियो । विस्फोटक ब्याटिङ गर्दै विराटनगरले ११.४ ओभरमै ६ विकेट गुमाएर खेल जित्यो ।


ओपनरहरु मोहम्मद जियाद आलम र लोकेस बमले १.४ ओभरमा २६ रनको साझेदारी गरी उत्कृष्ट सुरुआत दिलाए । अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका लोकेशले ५ बलमा १३ रन जोडेर हर्ष टंकको बलमा बोल्ट भए । तेस्रो नम्बरमा आएका कप्तान प्रदीप ऐरीले ५ रनमात्र बनाउन सके ।


तेस्रो विकेटका लागि आलमले पुनित मेहरासँग २८ रनको साझेदारी गरे । १० बलमा ४ चौका र १ छक्कासहित आलमले २४ रनको योगदान गरे । पुनितले १७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे । सुनील धमला २ रनको स्कोरमा रनआउटको शिकार भए । नोमन खान २० बलमा ५ चौकासहित ३४ रन जोडेर आउट भए ।


बुटवलका नितेश थापाले २ विकेट लिए ।


यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको हो । बुटवलका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका हर्ष टंकले ६७ रनको सानदार अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।


ओपनरहरु मुहम्मद अफ्ताबुद्धिन अहमद (०) र शंकर राना (२) सस्तैमा आउट भएपछि बुटवल धर्मराएको थियो । भीम सार्कीले पनि ५ रन बनाएर आउट भए । चौथो विकेटका लागि हर्ष र शिवम् सिंहले ४४ रनको साझेदारी गरेका थिए ।


शिवम्‌ले २६ बलमा ३७ रन बनाए । कप्तान सिद्धान्त लोहनीले ११ रनको योगदान गरे । बलिङमा मोहम्मद जियाद आलमले ४ विकेट लिए । किशोर महतोले २ विकेट झारे ।

प्रकाशित : पुस ९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?