कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा ७० खेल संरचना बन्दै

मकवानपुर — वाग्मती प्रदेश सरकारले प्रदेशलाई खेलकुद हबको रूपमा विकास गर्ने योजनासाथ चालु आर्थिक वर्ष २०७६/७७ मा करिब ६१ करोड रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गर्ने भएको छ ।

वाग्मतीमा ७० खेल संरचना बन्दै

प्रदेशका १३ जिल्लामा ७० खेलकुदका संरचना यसै आर्थिक वर्षबाट निर्माण गर्ने तयारीमा वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको छ । चालु आवको नीति तथा कार्यक्रममा नै बहुवर्षीय योजनाअन्तर्गत प्रदेशमा ७० खेल संरचना बनाउने उल्लेख गरेको प्रदेश सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माणको सम्झौता गरी निर्माण कार्यसमेत सुरु गरिसकेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।


प्रदेश सरकारले खेलकुद संरचना निर्माण गर्न यस आवमा ६० करोड ९१ लाख ६९ हजार ३ सय ६९ रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले निर्माण गर्न लागेकामा ३० खेल मैदान, २० कभर्डहल, आठ रंगशाला, २ स्मृति कभर्डहलसहितको भवन र बाँकी १० अन्य खेल संरचना रहेका छन् ।

परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीका अनुसार मकवानपुरमा दुईटा खेल मैदान, दुईटा कभर्डहल, एउटा रंगशाला र एउटा अन्तर्राष्ट्रिय खेलकुद प्रतिष्ठान निर्माण हुने भएको छ ।

धादिङमा दुईटा कभर्डहल, तीन खेल मैदान र एउटा रंगशाला, नुवाकोटमा खेल मैदान दुईटा, कभर्डहल र रंगशाला एक–एक, ललितपुरमा दुईटा रंगशाला र दुईटा कभर्डहल, चितवनमा दुईटा कभर्डहल र तीन खेलमैदान, काठमाडौंमा तीन कभर्डहल, दुई खेलमैदान र एउटा क्रिकेट मैदान, रसुवामा दुईटा खेलमैदान र एउटा कभर्डहल गरी ३५ वटा खेल संरचना निर्माणको चरणमा छ ।

काभ्रेमा ६ खेलमैदान र एउटा कभर्डहल, दोलखामा एक–एक कभर्डहल, रंगशाला र खेलमैदान, रामेछापमा दुईटा खेलमैदान, १–१ कभर्डहल र रंगशाला, सिन्धुपाल्चोकमा ९ खेलमैदान, तीन कभर्डहल र एक रंगशाला, सिन्धुलीमा एक कभर्डहल र दुईटा रंगशाला निर्माण हुनेछन् । ‘अघिल्लो आर्थिक वर्षको बजेटले कतिपय स्थानमा निर्माण भएका भौतिक संरचनाको काम ४५ प्रतिशतसम्म सम्पन्न भइसकेका छन् ।

कतिपय स्थानमा सम्झौता भई काम सुरु हुने चरणमा छ,’ परिषद्का सदस्य–सचिव भण्डारीले बहुवर्षीय योजनाअन्तर्गत संरचना निर्माणमा प्रदेशको विशेष जोड दिँदै भने, ‘हामी कभर्ड्हल, मैदानको स्तरोन्नतिको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्नेछौं । आगामी वर्षबाट प्रदेशका विभिन्न स्थानमा निर्माण हुने मिनी रंगशालाको काममा केन्द्रित हुने योजना छ ।’ उनले पूर्वाधार निर्माणपछि प्रदेशस्तरको खेलकुद महोत्सव गर्ने तयारीमा परिषद् रहेको सुनाए ।

प्रकाशित : माघ २, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?