१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा

राष्ट्रिय टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ को शीर्ष १० खेलाडीमा पर्ने पहिलो नेपाली भएका छन् ।
राजु घिसिङ

काठमाडौँ — थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् । यो स्तरमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा

मनोनयन सार्वजनिक गर्दै एएफसीको वेबसाइटमा लेखिएको छ, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलको लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो । तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गऱ्यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर एवम् कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा (दुई खेलमात्रै अन्तर्राष्ट्रिय) एक गोलमात्रै बेहोरे र सुनिश्चित–नेपालको जित) गर्दै विराज महर्जनको बिदाइलाई भव्य बनाइदिए ।’

आफ्नो कप्तानीमा पहिलो उपाधि जितेका ३१ वर्षीय किरणले भने, ‘एसियाकै उत्कृष्ट खेलाडीहरूसँगै साताकै १० उत्कृष्ट खेलाडीको सूचीमा पर्नु मेरो जीवनकै उपलब्धि हो । थ्री नेसन्स कपको उपाधिसम्म पुग्न टिमका साथी, सहकर्मीहरूको मेहनत र एकसाथ पाएको सफलताले मलाई यो अवसर मिलेको हो । उनीहरूसहित मलाई, फुटबललाई माया गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद ।’

दुई वर्षअघि कप्तान बनेका किरणको नेतृत्वमा नेपालले पहिलो उपाधि हात पारेको हो । त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए, जहाँ राउन्डग्लास पञ्जाबका १४ खेलमा ७ ‘क्लिनसिट’ राखेका थिए । उनले क्लब फुटबलमा नेपालको सहिद स्मारक ए डिभिजन लिग, माल्दिभ्सको धिवेही लिग र भारतको आई लिगको उपाधि जितेका छन् । र, त्रिदेशीय लिग जित्ने उनी पहिलो नेपाली हुन् । पाँच वर्षयता विदेशकै लिगमा व्यस्त रहेका उनीसँग बंगलादेशको लिग खेलेको अनुभव पनि छ ।

उनीसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन् । पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ । एएफसीको वेबसाइटमार्फत गर्ने भोटको आधारमा विजेताको चयन गरिनेछ ।

नेपालले दशरथ रंगशालामा भएको सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि जितेको थियो । समूह चरणमा किर्गिस्तान यू–२३ र बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा आएर गोलविहीन यात्रालाई आठ खेलमा पूर्णविराम लगाएको थियो । संजोक राई र विशाल राईले गोल गर्दै नेपाललाई ३७ वर्षपछि घरेलु मैदानमा उपाधि दिलाएका थिए । हालसम्म नेपालको राष्ट्रिय टिमले जितेको पाँचौँ उपाधि हो यो ।

प्रकाशित : चैत्र १९, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?