भलिबलको उचाइ उक्लिँदै उषा- खेलकुद - कान्तिपुर समाचार

भलिबलको उचाइ उक्लिँदै उषा

भलिबलमा लाग्न प्रेरित गर्ने बुबा गजेन्द्रको अहिले एउटै काम हुन्छ । छोरी उषा जहाँ खेल्न जान्छिन् उनी त्यहाँ पुगिहाल्छन् ।
विनोद पाण्डे

काठमाडौँ — लुम्बिनी युनाइटेडसँगको खेलपछि उषा भण्डारी जोडी बनाएर नेपाल पुलिसकी सहकर्मी खेलाडीसँग ‘कुलडाउन’ गरिरहेकी थिइन् । गत महिना नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कप भलिबलको सातौं संस्करणको प्रसंग हो यो । उद्घोषकले ‘प्लेयर अफ द म्याच’ मा उषाको नाम लिँदा पुलिस टिमको छेउमै रहेका उनका बुबा गजेन्द्र भण्डारीको खुसीको चमक बेग्लै थियो । उनी टिमको जितपछि छोरीको व्यक्तिगत सफलतामा ताली बजाउन मग्न थिए ।

गजेन्द्रको अहिले एउटै काम हुन्छ । छोरी जहाँ खेल्न जान्छिन् उनी त्यहाँ पुगिहाल्छन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला भलिबलको प्रशिक्षण थाइल्यान्डमा हुँदा उनी त्यहाँमात्र पुगेनन् । नत्र छोरीको कुनै खेल छुटाएका छैनन् । छोरीको खेल हुँदा उनी पुलिसको टिमसँगै बस्ने गर्छन् । घरबाहिर बस्ने बानी नभएकाले पनि गजेन्द्रले उषालाई एक्लो छाड्ने गरेका छैनन् । यही सेरोफेरोमा गजेन्द्र पनि नेपालगन्ज पुगेका थिए ।

दिदी अस्मितालाई भने कोर्टमा गएर उषाको खेल प्रत्यक्ष हेर्नभन्दा टिभी र अनलाइनमा आउने लाइभ नै हेर्न रमाइलो लाग्छ । नजिकबाट हेर्दा दबाबले टाउकै दुख्ने दिदीको अनुभव छ । दिदी पहिला पुलिसबाटै जुडो खेल्थिन् । गजेन्द्रका दुई सन्तान हुन् अस्मिता र उषा । ‘मलाई केही भयो भने कान्छीलाई कस्ले हेर्छ ?’ भन्ने चिन्तामा दिदीले जुडो खेल्नै छाडिदिइन् । यी दिदीबहिनीको सम्बन्ध दाजुबहिनी वा दिदीभाइको जस्तै छ । उनीहरू एकअर्कालाई राखी बाँधिदिन्छन् र भाइटीका पनि लगाइदिन्छन् । छोराले भन्दा घरको धेरै काम दिदीबहिनीले गर्ने गरेको उषा बताउँछिन् । उषाको खेल प्रत्यक्ष हेर्दा आत्तिने भएर उनकी आमा पनि मैदान जाँदिनन् । खेल सकिएपछि उषाले नै फोनमा बताउने गर्छिन् ।

000

प्रधानमन्त्री कपको छैटौं संस्करणमा उषाको खेलबाट कोही सबैभन्दा बढी प्रभावित रहे भने ती हुन् दीपक विष्ट । उषा त्यो प्रतियोगितामा उत्कृष्ट खेलाडीमा चुनिएकी थिइन् । उनले छरितोपन खेलाइले दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण विजेता दीपकलाई मन्त्रमुग्ध बनाएको थियो । उषालाई तेक्वान्दो खेल्न दीपक सुझाइरहेका थिए । व्यक्तिगत खुबी भएका खेलाडीको सफलता आफ्नै मुठीमा भएको तर्क दीपकसँग थियो । दीपक आफैं यही बाटोबाट नेपाली खेलकुदका सुपरस्टार बनेका थिए । भलिबल छाडेर तेक्वान्दोमा लागेपछि दीपकले पनि दक्षिण एसियामै एकक्षत्र राज जमाएका हुन् । उनले त्यो सम्भावना उषामा पनि देखे ।

गजेन्द्र र उनका भाइ ७ वर्षअगाडि दशरथ रंगशाला कभर्डहलमा दक्षिण एसियाली भलिबल च्याम्पियनसिप हेर्न पुगेका थिए । उनीहरू खासै मैदानमा गएर हेर्ने खालका त थिएनन् । तर त्यो दिन के संयोगले खेल हेर्न पुगेछन् । श्रीलंकाबाट खेल्ने जर्सी नम्बर ७ खेलाडीबाट प्रभावित भएछन् । उनले श्रीलंकन ती खेलाडीमा आफ्नै छोरी उषाको अनुहार देखे । ‘यी श्रीलंकाली खेलाडी ठ्याक्कै हाम्रै नानीजस्तै छन् । छोरीको उचाइ पनि राम्रो छ, खेलमा इच्छुक छिन्, म पनि यस्तै खेलाडी बनाउँछु’ भन्ने निर्णयमा गजेन्द्र पुगेछन् । त्यतिखेर उषा ६ कक्षामा अध्ययरन थिइन् । उचाइ थियो ५ फिट ६ इन्च । बुवाले छोरीको भविष्य भलिबलमा देख्दै गर्दा उषा भने ब्याडमिन्टन खेल्थिन् ।

उषा ढोरपाटन क्लबको कोर्ट परिसरमा हुर्केकी थिइन् । त्यसले पनि उनलाई भलिबलमा आउन र चाँडै भिज्न त्यसमा सजिलो भयो । ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बुबासँग सल्लाह गरेर उषालाई भलिबल खेल्न आउनु भने । उषालाई पनि जे भए नि एउटा खेल खेल्छु र भविष्य बनाउँछु भन्ने लाग्यो । उनलाई आर्मीमा जाने कि पुलिसमा गएर खेल्ने विकल्प दिइएको थियो । टिनएजको त्यो उमेरमा उनले आर्मी रोजिन् । बुबाले पुलिसबाट खेल्दा सजिलो हुन्छ, घरबाट स्कुल नजिक हुन्छ, आर्मीमा भयो भने उता छुट्टै बस्नुपर्छ भनेपछि उषाको रोजाइ पुलिस हुन पुग्यो । छोरीबिना टाढिएर बस्न नसक्ने स्वभाव थियो गजेन्द्रको । त्यसैले उनले छोरीलाई घरबाटै स्कुल पठाउनुपर्छ भन्ने मान्यतामा सामाखुसीस्थित पुलिस स्कुल भर्ना गरिदिए ।

घरबाहिर निस्किनेबित्तिकै ढोरपाटन क्लबको भलिबल मैदान छ । प्रशिक्षण जान नपाउँदा उनी दाइहरूसँगै खेल्थिन् । ड्रिग गर्न उनले त्यहीं सिकेकी थिइन् । एपीएफका टंक अवस्थी उनलाई सिकाउन आउँथे । उनले त्यतिबेला डिफेन्स बढी सिक्न पाइन् । अहिले उनको स्पाइकभन्दा बढी डिफेन्स बलियो छ । केटाहरूसँगको खेलले उनलाई अझ बढी आत्मविश्वासी र अनुभवी बनायो । यही कारणले होला पुलिसका प्रशिक्षक रुपेश विष्टले टिमको जिम्मा दिने भन्दै आएको उषा सुनाउँछिन् । प्रशिक्षक विष्टलाई पनि उनी आफ्नै बुबाजस्तै मान्छिन् । नेपाल पुलिसका पूर्वराष्ट्रिय भलिबल कप्तान भरत शाहलाई पनि उषाले आदर्श ठान्छिन् ।

प्रशिक्षण सुरु गरेको ६ महिनामै उनी पुलिस टोलीबाट खेल्ने भइसकेकी थिइन् । सिकेको एक सातामै उनको डिफेन्स राम्रो भइसकेको थियो । होलीगार्डेनमा पढ्दै गर्दा उनी अभ्यासमा व्यस्त हुन्थिन्, जुम्बा गर्थिन् । जसका लागि दिवा होस्टेल बसेकी थिइन् । ‘तिमीले राष्ट्रका लागि केही गर्नुपर्छ, तिमी मेरीमात्र छोरी होइन, राष्ट्रको पनि हो, आफूले ख्याल पुर्‍याएर खेल्नुपर्छ भनेर हौस्याउनुहुन्थ्यो,’ बुबाको हौसलाबारे उषाले सुनाइन् । ‘मैले पनि आफ्नो भविष्य यही उमेरमा बनाउने हो भनेर भलिबल खेल्न सुरु गरेको हुँ । खेल्न थालेको तीन वर्षमै मैले राष्ट्रिय टोलीबाट खेल्न पाएँ,’ उनले थपिन् ।

उचाइ देखेर उनलाई स्कुलले बास्केटबलको प्रशिक्षण पनि नगराएको होइन । तर उनलाई बास्केटबलले लोभ्याएन । भलिबलमै उनले भविष्य देखिन् । पुलिसमा आएपछि उनको दैनिकी नै परिवर्तन भयो । बुबाको चाहना छोरीले जतिसक्दो चाँडो नेपाली टोलीबाट खेलोस् भन्ने थियो । उषाले १४ वर्षको उमेरमै गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ‘डेब्यू’ गरेर बुबाको इच्छा पूरा गरिदिइन् । तर बिडम्वना हजुरबुबा र मामाले भने उनले नेपालबाट खेलेको हेर्न पाएनन् । दुवैजनालाई सागको प्रशिक्षणमा रहँदा उनले गुमाएकी थिइन् । पारिवारिक शोकका डुबिन् । ‘भान्जीले यस्तो राम्रो खेलिरहेकी छ, चाँडो नेपालबाट खेलोस् भन्ने कामना मामाको थियो । तर मामालाई क्यान्सरले छाडेन,’ मामाका बारे बताइरहँदा उषाका आँखा रसाए । जसको प्रोत्साहनले उनी भलिबल खेल्न गएकी थिइन्, उसैलाई नेपालबाट खेलेको देखाउन पाइनन् । त्यो उषालाई सधैं खट्किरहनेछ ।

उषाले सागमा बंगलादेशसँगको एउटा खेल खेल्न पाइन् । आफूले बल्ल बुबाको सपना पूरा गर्न लागे जस्तो अनुभव भयो । भलिबल बुबाको सपना थियो । आफूले चाहेको भएको भए अहिले उनी फुटबल खेलिरहेको हुन्थिन् । किनभने उनले स्कुलमा फुटबल पनि खेल्थिन् । उमेर सानै भएकाले सागमा प्रशिक्षक जगदीश भट्टले उषालाई अन्य खेलका लागि जोखिममा लिन चाहेनन् । उनले पनि टिमको हितमा हुने निर्णयप्रति सहमति नै जनाइन् । उषालाई मनमा डर र केही गर्नुपर्छ भन्ने थियो । त्यसअघि उनले पुलिसबाहेक अर्को टिमबाट खेलेकी थिइनन् । घुलमिल हुन सकिरहेकी थिइनन् । विभिन्न क्लबबाट आएका खेलाडी हुनाले पहिला केही नमिलेजस्तो लाग्यो । ६ महिनाको साग प्रशिक्षणपछि त उनी पुलिस टिमभन्दा पनि नेपाली टोलीसँग धेरै नजिक भइन् ।

000

उचाइ २ फिट बढ्नुबाहेक राष्ट्रिय प्रतियोगिता खेलेको तीन वर्षपछि उषामा कस्तो परिवर्तन आयो त ? ‘उषा भण्डारी पहिला को हो, को हो भन्ने थियो, अहिले धेरैले मलाई कान्छी, मुसी भनेर चिन्छन् । अझ सबैले कान्छी भलिबल खेलाडी भनेर मलाई चिनेको पाएको छु ।’ एउटा स्पाइकरका रूपमा उनले प्रतिभा माली र सरस्वती चौधरीको विकल्पमा आफूलाई उभ्याएकी छन् । प्रतिद्वन्द्वी टोलीमा हुँदा पनि आफूलाई सिकाएको तथा सिनियर खेलाडी भएकाले दुवै खेलाडीप्रति उनी ठूलो सम्मान राख्छिन् । तर

आफ्नो प्रतिस्पर्धी प्रतिभा र सरस्वती हो भनेर उनले दिमागमा राखेकी हुन्छिन् नै । ‘मेरो खेलजीवन भर्खर सुरु भए जस्तो छ, दिदीहरूको स्थानमा पुग्न मैले अझै धेरै गर्नुपर्छ,’ यसो भन्दै गर्दा बुबाले भनेको कुरा उनले सम्झिइन्, ‘यो त केही पनि होइन, भर्खर अण्डा फुटेको छ, चल्ला हुन बाँकी नै छ नि ।’

गजेन्द्रले खाडी राष्ट्रमा जाँदा भलिबल सिकेका थिए । मुड्कीले बल नै फुटाउने स्वभाव थियो उनको । त्यसको प्रभाव छोरीसम्म आइपुग्यो । उषाले जति नै नराम्रो खेले पनि छोरीको खेलमा कहिल्यै गुनासो नगर्ने गजेन्द्रको बानी छ । धेरै राम्रो खेल्दाखेल्दै पनि भलिबलका धेरै खेलाडी विदेशी पलायन भएका छन्, त्यो अवस्था अहिले नरहेको उनले बुझाइ छ । नेपाली भलिबलको भविष्य राम्रै देखेकी छिन् उनले । एउटा आडभरोसा पुलिसको साथ रहनु पनि हो ।

उनको घर तनहुँको भिमाद हो । उनी साढे एक वर्षकी छँदै काठमाडौं आइन् । उषा जन्मेको ठाउँ भिमादभन्दा दुई घण्टा टाढा स्याङजाको कुटुम्सामा हो । तर त्यसपछि त्यहाँ पुगेकी छैनन् । जेठमा एसईई दिने तयारीमा रहेकी उषाले भइरहेका भलिबल प्रतियोगिताहरू सबै खेलिरहेकी छन् । विद्यालयमा उनको नियमित थिएन । बिहानी प्रशिक्षण सकेर जाँदा ११ बज्थ्यो ।

अनि साथीहरू उनलाई ‘ऊ खेलाडी आयो’ भनेर जिस्काउँथे । उनलाई पुलिस स्कुलले खेल्ने मामिलामा धेरै छुट दियो र हौस्याइरह्यो । टेस्ट पनि भलिबल खेल्न जाँदा छुटेको थियो, पछि छुट्टै बसेर दिएको उनी सुनाइन् । गणित विषय उनलाई धेरै मनपर्छ । प्लस टूमा व्यवस्थापन विषय उनले रोजाइमा राखेकी छिन् । बुबा गजेन्द्रको रहर भने छोरीलाई खेलकुद विज्ञान पढाउने छ । एसईई सकिएपछि उनी एसियन च्याम्पियनसिपको तयारीमा जुट्ने छिन् । नेपाली महिला भलिबलले पहिलोपल्ट यो प्रतियोगिता खेल्न लागेको हो ।

नेपालगन्जअघि पोखराको टाइगर कपमा पनि उनी उत्कृष्ट खेलाडी भइन् । जुन उनले सोचेको पनि थिइनन् । उनी बिरामी थिइन् र आफूले चाहेजस्तो प्रदर्शन दिन सकिरहेकी थिइनन् । प्रशिक्षकले पनि टिम तिम्रै भरमा छ जे सक्छौं गर भनेर ढाडस दिइरहेका थिए । आर्मी र एपीएफसँगको खेलमा उनी अस्वस्थ थिइन् । फाइनलअघिको एकदिन विश्राम उषालाई तङ्ग्रिने अवसर बन्यो । त्यसपछि नेपालगन्ज आएकी उषा प्रधानमन्त्री कपमा उत्कृष्ट स्पाइकर बनिन् । उनका लागि नेपालगन्ज मामा घरजस्तै भएको छ, हरेकपल्ट पुग्दा केही न केही खुसी पाउँछिन् ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : चैत्र १९, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

ग्राफमा नम्बर वान बालगोपाल

नेपाली फुटबलले पाएका सबैभन्दा सफल प्रशिक्षक कोही छ भन्दा त्यसको उत्तर आउँछ, बालगोपाल महर्जन ।
हिमेश

काठमाडौँ — नेपाली फुटबलका पहिलो आधिकारिक विदेशी प्रशिक्षक रुडी गुटनडफले सबैका अगाडि भन्थे रे, ‘देख्यौं, मेरो छालाको रंगले काम गर्‍यो कि गरेन ?’

तस्बिर : हेमन्त श्रेष्ठ

यो त एकप्रकारले रंगभेदी कुरा नै भयो, तर नेपाली फुटबलमा ‘गोरा प्रशिक्षक’ ले भनेपछि के के न हुने विश्वास छ । अहिलेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पनि खेलाडी छँदा भनेकै थिए, ‘हामीलाई विदेशी प्रशिक्षक नै चाहिन्छ ।’

अहिले बालगोपालको भूमिका फेरिएको छ । त्यसैले अचेल उनी यो भनाइमा सहमत हुने छैनन् । भर्खरै थ्री नेसन्स कप सकिएको छ । फाइनलमा नेपालले बंगलादेशलाई हराएर उपाधि जितिसकेको छ । अब सबैको ध्यान फ्रेन्चाइज फुटबलदेखि मोफसलमा हुने केही ठूला प्रतियोगितामा मोडिने छ । ढिलोचाँडो भए पनि विश्वकप छनोटका खेल हुनेछन् । त्यसअगाडि प्रश्न आउने छ, अबका नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक को हुन् त ?

बालगोपाल वा अरू नै ? फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) का मुख्य–मुख्य पदाधिकारीको भनाइ मान्ने हो भने विश्वकपको छनोट चल्दा उनी प्रशिक्षक रहने छैनन् । अबका प्रशिक्षक विदेशी हुनेछन्, सम्भवतः कुवेती अब्दुलाह अलमुटारी हुनेछन् । उनी कतारी फुटबल संघको सहयोगमा नेपाल आइसकेका छन् । अलमुटारी नै प्रशिक्षक बन्ने सम्भावना किन पनि बढी छ भन्दा उनीसँग प्रो–लाइसेन्स छ । त्यो भनेको फिफाको नयाँ नियमअनुसार राष्ट्रिय टिम हेर्न चाहिने योग्यता ।

विदेशी भएकाले उनको बोली बढी बिक्न सक्छ । नेपालमा कोही प्रशिक्षकसँग पनि प्रो लाइसेन्स छैन । नेपालमा बालगोपाल र अन्य केहीसँग भने खाली ‘ए’ लेभलको लाइसेन्स छ । अबदेखि यत्तिमात्र क्षमता हुनेले राष्ट्रिय टिम हेर्न सक्दैनन् । केही उपाय भएन भने फिफा र एएफसीअगाडि रूनु कराउनु मात्र हो । यसको सिधा अर्थ अब बालगोपालले राष्ट्रिय टिम हेर्ने छैनन् भन्नु नै हो । यस्तोमा अन्य केही फेरबदल नभएको स्थितिमा बंगलादेशविरुद्धको फाइनल नै उनले राष्ट्रिय टिम हेरेको अन्तिम अवसर साबित हुनेछ ।

विवाद र आलोचनाको उत्तर

एक प्रकारले पछिल्लो दिन बालगोपालका लागि राम्रा रहेन । उनी विवादमा फसे । उनको चर्को आलोचना भयो । विवाद किनभन्दा उनले राष्ट्रिय टिमको प्रशिक्षक रहेर नै नेसनल फ्रेन्चाइज लिगको एउटा टिम काठमाडौं रेजर्सको जिम्मेवारी सम्हाल्न तयार भए । त्यही कारण उनको खुबै आलोचना भयो । नहोस् किन ? उनले यस्तै काम गरेका थिए । यो सरासर स्वार्थ बाँझिने काम थियो, त्यो पनि चरम सीमामा । बालगोपालले प्रशिक्षक भएयता गरेको सबैभन्दा खराब काम यही हो ।

थ्री नेसन्स कपका लागि छनोट गरेको नेपाली टिमलाई लिएर पनि उनको आलोचना भयो । केही खेलाडीको चयनलाई लिएर ठोस तर्क थिएन पनि कि ? त्यसमा प्रतियोगिताको सुरुआती दुवै खेलमा नेपालले कुनै गोल गर्न सकेन । उनको अर्को खराब बानी, किर्गिस्तानविरुद्धको खेलपछि आफ्नो आवेगलाई रोक्नै सकेनन् । तनावमा आए र मिडियासँगै उल्टै प्रश्न गर्न खोजे । आफ्नो टिमले गोल गर्न सकिरहेको थिएन, तर त्यही टिमलाई उनले उत्कृष्ट समेत भने । तर अन्त्यमा ‘अन्तिम हाँसो’ यिनै बालगोपालको रह्यो । किनभने नेपालले फाइनलमा बंगलादेशलाई हराएर उपाधि मात्र जितेन ।

खेलमा सम्भव दुई गोल अब्बल दर्जाको थियो । सन्जोग राई र विशाल राईले गरेका गोल पक्कै पनि कुनै माथिल्लो दर्जाको अन्तर्राष्ट्रिय फुटबलमा देखिने गोलभन्दा कम थिएन । यो नतिजापछि भने बालगोपालले आफूले रोजेको टिममा गर्व गर्न पाउँछ । एउटा व्यावसायिक प्रशिक्षकले मिडियाको ठ्याक्कै उत्तर नतिजाबाट दिने हो, रिस पोखेर होइन ।

सबैभन्दा सफल

आउने दिनमा उनी पक्कै सच्चिने छन् । यसमा कुनै शंका छैन । किनभने सिक्ने र सिकाउने काममा उनी आफैं अब्बल छन् । उनका केही कमजोरी नभएका पनि होइनन्, कहिलेकाहीं उनको व्यापारी मनोवृत्तिले उनलाई दोषी बनाउने गर्छ । उनी गुट उपगुट बनाउन माहिर छन् भनिन्छ । तर नेपाली फुटबलले पाएका सबैभन्दा सफल प्रशिक्षक कोही छ भन्दा त्यसको उत्तर हो, बालगोपाल । नेपालले सन् १९८३ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेदेखि अहिलेसम्म पाँच उपाधि जितेको छ ।

त्यसमध्ये सन् १९८४ मा पहिलोपल्ट दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ स्वर्ण जित्दा प्रशिक्षक जोन फिगी थिए । त्यसपछि सन् १९९३ मा नेपालले फेरि छैटौं दक्षिण एसियाली खेलकुद ढाकामा स्वर्ण जित्यो, त्यतिबेला प्रशिक्षक नेपालकै धनबहादुर बस्नेत थिए । सन् २०१६ मा बंगबन्धु गोल्डकप जित्दाका प्रशिक्षक हुन् बालगोपाल । त्यही वर्ष नेपालले एएफसी सोलिडारिटी कप जित्यो । त्यसका प्रशिक्षक जापानी ग्योतोकु कोजी हुन् । अहिले थ्री नेसन्स कप जित्दा को प्रशिक्षक थिए भनेर किन दोहोर्‍याउनुपर्‍यो ।

नेपालले ३७ वर्षपछि आफ्नै भूमिका यो सफलता चुमेको हो । त्यसैले यसको विशेष अर्थ छ । यो समयबीच धेरैले प्रशिक्षक आए, धेरै प्रतियोगिता भयो । सजिलो हुन्थ्यो त सबैले उपाधि जित्थे, तर यस्तो भएन । बालगोपालले भने एकपल्ट होइन, दुईपल्ट गरे । फेरि १३ औं दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलतर्फ स्वर्ण जित्दा पनि उनी नै प्रशिक्षक थिए । यसमै यू–१९ साफ च्याम्पियनसिपको उपाधि पनि थप्ने कि ?

फेरि खेलाडीका रूपमा राष्ट्रिय टोलीमा उनको विशेष स्थान छ । उनी लिजेन्ड खेलाडी नै हुन् । सन् १९९३ मा साफ स्वर्ण जित्ने टिमकै सदस्य हुन् उनी । भलै, बेन्चमा थिए । सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ रजत जित्दा त उनी टिमकै प्रमुख सदस्य थिए । उनी नेपाली राष्ट्रिय टिमका कप्तान भइसकेका खेलाडीसमेत हुन् । उनको जमानामा अन्तर्राष्ट्रिय फुटबल कम हुन्थ्यो । तर उनले नेपालका लागि ५० भन्दा बढी ‘क्याप’ जितेका छन् ।

तथ्यांक के भन्छ त ?

खराब खेलाडी हुन्थे त उनले यस्तो उपलब्धि कहाँ हात पार्न सक्थे त ? प्रशिक्षक पनि उनी कम्तीका होइनन् । थ्री नेसन्स कपका दुई सुरुआती खेलमा गोल नभएर पनि बालगोपालले आफ्नो टिमले बढी आक्रमण गरेको दाबी गरेका थिए । यो खासमा भावनात्मक कुरा न थियो । त्यसैले भनियो फुटबलमा यस्तो भावनाको काम छैन । खासमा बोल्ने तथ्यांक हो । यही तथ्यांकले भन्छ, बालगोपाल नेपालका सबैभन्दा सफल प्रशिक्षक हुन् । कसरी त ? उनको प्रशिक्षणमा नेपालले १२ मान्यताप्राप्त खेल खेलेको छ । यसबीचमा त नेपालले बंगबन्धु र अहिले थ्री नेसन्स कप जितेको ।

बालगोपालले खेलाएका १२ खेलमध्ये पाँचमा नेपाल विजयी छ भने चारमा बराबरी । हार भने तीन खेलमात्र हो । यस्तोमा उनी हारभन्दा बढी जित निकाल्ने प्रशिक्षक हुन् । प्रतिशतमा भन्दा उनको सफलता ५० प्रतिशतभन्दा माथि छ । यो प्रदर्शन नेपालले पाएका अन्य प्रशिक्षकबाट भन्दा कता हो कता माथि छ ।

ठीक यहींनिर अर्को प्रश्न उठ्छ । अबदेखि राष्ट्रिय टोलीका लागि प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक चाहिन्छ नै । त्यसैले नेपालले यस्ता प्रशिक्षक आफ्नै देशबाट उत्पादन गर्ने हो कि खाली सधैं विदेशमै भर पर्ने ? हुन त, एन्फाले प्रशिक्षकको स्तर विकासका लागि पछिल्लो समय धेरै काम गरेको छ । त्यसैको प्रतिफल हो, दुई दर्जनभन्दा बढी ‘ए’ लाइसेन्सको मान्यताप्राप्त प्रशिक्षक हुन् । अब नेपालसँग ‘बी’ र ‘सी’ लाइसेन्स भएका प्रशिक्षक त कति छन् कति । प्रो लाइसेन्सप्राप्त गर्न खर्च उत्तिकै चाहिन्छ अनि उत्तिकै समय । त्यसमाथि कडा मिहिनेत ।

बालगोपाल र उनका समकालीन केही प्रशिक्षक यो कोर्सका लागि उपयुक्त र सक्षम छन् । यतातिर एन्फाले किन ध्यान नदिने ? सुरुआती आलोचना भएपनि बालगोपालका लागि केही शब्द प्रशंसामा खर्चिन आवश्यक छ । स्वयं यी प्रशिक्षकले पनि आफ्ना केही बानीबेहोरा र प्रवृत्ति सच्याउनुपर्छ, खाली नाफाघाटा मात्र हेर्नुहुन्न ।

प्रकाशित : चैत्र १९, २०७७ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×