१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मछिन्द्रको चुनौती शेर्पा

‘सहिद स्मारक लिगमा बिहीबार हुने खेललाई चुनौतीका रुपमा लिएर माथि उक्लिने प्रयास गर्नेछौं । त्यसैले मछिन्द्रसँग कडा प्रतिस्पर्धा गर्नेछौं ।’ 
राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ मा पुछारमा रहने एउटा क्लब रेलिगेसनमा पर्नेछ । त्यसको डर बढेको छ सरस्वती युवा क्लबलाई । सरस्वतीको १ अंक छ र त्यसभन्दा ३ अंकमाथि रहेको हिमालयन शेर्पा पुछारबाट दोस्रोमा छ । 

मछिन्द्रको चुनौती शेर्पा

यी दुई टिमले मात्रै लिगमा हालसम्म जित हात पार्न सकेका छैनन् । रेलिगेसनबाट बच्ने प्रयासमा पहिलो जितको खोजीमा रहेको हिमालयन शेर्पाले लिगको शीर्षस्थानमा रहेको मछिन्द्रविरुद्ध सातौं चरणमा शुक्रबार प्रतिस्पर्धा गर्दै छ ।

‘कुनै पनि टिमलाई सजिलो प्रतिद्वन्द्वीको रूपमा लिइएको छैन,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘हाम्रा लागि सबै खेल महत्त्वपूर्ण छन् । लिगमा ठूलो अन्तरले कुनै पनि टिमले खेल जितेको छैन । हाम्रो लक्ष्य जित्ने हो र हामी ३ अंकका लागि खेल्नेछौं ।’ छैटौं चरणमा हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन मनाङविरुद्ध गोलरहित खेलेको थियो । त्यसले शेर्पाका खेलाडीको मनोबल उच्च भएकोबारे पनि उनी सचेत छन् ।

मनाङविरुद्ध २–२ मा टुंगिएको खेलपछि भएको झगडामा संलग्न भएकाले सेन्टर–ब्याक देवेन्द्र तामाङ, अर्का डिफेन्डर विजय धिमाल र फरवार्ड दीपक राईलाई एन्फाको अनुशासन समितिले २–२ खेलका लागि निलम्बन गरेको थियो । उनीहरूमाथि निलम्बनको अन्तिम खेल पनि हुनेछ हिमालयन शेर्पाविरुद्धको प्रतिस्पर्धा । यी तीन खेलाडी आठौं चरणमा पुलिसविरुद्ध हुने खेलबाट टिममा फर्कने प्रशिक्षक कटुवालले बताए ।

पहिलोपल्ट लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेको मछिन्द्रको टिममा हिमालयन शेर्पासँग खेल्दा विशेषत पहिलो रोजाइका डिफेन्डर देवेन्द्रको अभाव देखिन सक्छ । उनको स्थान आन्द्रेसनिआ चोन्कुईले लिनसक्छन् । मछिन्द्रले देवेन्द्रबिना पनि छैटौं चरणमा जावलाखेलको अपराजित यात्रालाई १–० ले पूर्णविराम लगाएको थियो । त्यसमा मछिन्द्रले ४–३–३ को संरचना परिवर्तन गर्दै ३–५–२ शैली अपनाएको थियो । कप्तान विराज महर्जन, पिटर सेगुन र रन्जित धिमाल डिफेन्समा रहेका थिए भने अभिषेक रिजाल र सुजल श्रेष्ठलाई विङ्गर भूमिका दिइएको थियो ।तर, फेरिएको संरचनामा मछिन्द्रले जावलाखेललाई दबाबमा राख्न सकेन ।


दोस्रो हाफमा शैली परिवर्तन गर्न बाध्य भएको थियो । त्यसैले प्रशिक्षक कटुवालले हिमालयन शेर्पासँग दशरथ रंगशालामा पुरानै संरचना प्रयोग गर्न सक्छन् ।


छैटौं चरणका खेलसम्म मछिन्द्र (४ जित, २ बराबर) र मनाङ (३ जित, ३ बराबर) अपराजित छन् । गत वर्ष रेलिगेसन नहुने लिगको अन्तिमबाट दोस्रोमा रहँदा १ अंक घटुवामा परेकाले मछिन्द्रको खातामा १३ अंकमात्रै छ । आर्मी (४ जित, १ बराबर, १ हार) को पनि उति नै अंक छ । गोल अन्तरका आधारमा मछिन्द्र शीर्षस्थानमा छ । एनआरटीसँग मंगलबार १–१ मा रोकिएपछि आर्मीले स्पष्ट अग्रतासहित शीर्षस्थानमा फर्कने अवसर गुमाएको थियो । त्यो नतिजाले उपाधि होडलाई रोमाञ्चक बनाएको छ ।

हिमालयन शेर्पाका क्यामरुनी फरवार्ड स्टेफेन दुई पहेँलो कार्डको कारण निलम्बनमा परेका छन्, जसले मछिन्द्रलाई राहत दिनसक्छ । त्यसैले अग्रपंक्तिमा विजय श्रेष्ठले स्थान पाउन सक्छन् । मुख्य फरवार्ड विश्वास श्रेष्ठले तेस्रो खेलमा आर्मीसँग घाइते भएपछि घुँडाको शल्यक्रिया गराएका छन् । प्रशिक्षक सन्जीव बुढाथोकीका अनुसार उनी यो लिगमा मैदानमा फर्कने छैनन् ।

धुलिखेलमै रहेर अभ्यास गर्दै लिग खेल्न राजधानी धाइरहेको हिमालयन शेर्पाका कप्तान मनबहादुर तामाङले भने, ‘हामी अन्तिमबाट दोस्रोमा (अंकतालिका) छौं, रेलिगेसन टार्नुपर्ने अवस्था छ । यसलाई चुनौतीका रूपमा लिएर माथि उक्लिने प्रयास गर्नेछौं । त्यसैले मछिन्द्रसँग कडा प्रतिस्पर्धा गर्नेछौं । सकेसम्म ३, नत्र १ अंक जोड्ने प्रयास गर्नेछौं ।’

रेलिगेसन क्षेत्रको दूरी बढाउने प्रयास र च्याम्पियन हुने अभियानको टिमबीचको प्रतिस्पर्धा भएकाले दुवैलाई जित्नैपर्ने दबाब रहेको उनले बताए ।


आर्मी र ब्रिगेड ब्वाइजसँग हारेको हिमालयन शेर्पाले ४ खेल बराबरीमा टुंग्याएको छ । त्यसक्रममा शेर्पाले एक गोलमात्रै गरेको छ, जुन दोस्रो चरणमा एपीएफसँग १–१ भएको खेलमा त्रिदेव गुरुङले गोल गरेका थिए ।

टोलीको मुख्य समस्या ‘स्कोरिङ’ मै हो । मनाङ, फ्रेन्ड्स र पुलिसले हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई उछिन्न सकेनन् । उनको ग्लोभ्सलाई पन्छाउन मछिन्द्रका चर्चित खेलाडीलाई पनि सजिलो हुनेछैन ।

आजको खेल

मछिन्द्रविरुद्ध हिमालयन शेर्पा

दिउँसाे ३ बजे

दशरथ रंगशाला

प्रकाशित : माघ ३, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?