आर्मी उपाधि नजिक

इटहरी — इनरुवामा जारी मनमोहन मेमोरियल लिग (एमएमएल) एकदिवसीय राष्ट्रिय क्रिकेटमा साबिक विजेता त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । बुधबार सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ६४ रनले पराजित गरेको थियो । 

आर्मी उपाधि नजिक

२ सय १७ रनको लक्ष्य पाएको प्रदेश ३ टिम ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रनमात्र बनाउन सक्यो । प्रदेश ३ का सोनु तामाङले ७४, इशान पाण्डेले १७ र सुवास खकुरेलले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ढिलो सुरु भएकाले खेल ४७ ओभरमा छोट्याइएको थियो ।


आर्मीका देब्रेहाते स्पिनर सुसन भारीले ३ विकेट लिए । उनले ८.१ ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए । अर्का शाहब आलमले २ विकेट हात पारे । विक्रम सोब, हरिबहादुर चौहान, हरिकृष्ण झा र कुशल मल्लले १–१ विकेट लिए ।


टस जितेर ब्याटिङ रोजेको आर्मीले ४७ ओभरमा सबै विकेट गुमाई २ सय १६ रन बनाएको हो । अनिल मण्डलले ४३, कुशल मल्लले ४ चौका र २ छक्का मदतमा ३७, रोहित पौडेलले २९, विक्रम सोबले २४, राजेश पुलामीले १७ र भीम सार्कीले १५ रन बटुले ।


प्रदेश ३ का तीव्र गतिका बलर गौतम केसीले ४ विकेट लिए । तिलकराज भण्डारी, नन्दन यादव र इशान पाण्डेले समान २ विकेट लिए । म्यान अफ म्याच आर्मीका कुशल मल्ल घोषित भए । बिहीबार दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

प्रकाशित : माघ २, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?