कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल एकदिन पछाडि

(पोखरा) — दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता वर्षाका कारण एक दिन पछि धकेलिएको छ । 

पीपीएल एकदिन पछाडि

शनिबारसम्म वर्षा हुने पूर्वानुमान रहेकाले प्रतियोगिताको आइतबार उद्घाटन गर्ने निर्णय गरिएको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी गराए । पश्चिमी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । पोखरा क्रिकेट रंगशालामा शनिबार निर्धारण गरिएको उद्घाटन आइतबार हुनेछ । पहिलो खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्स भिड्ने छन् ।


६ टोलीसम्मिलित प्रतियोगितामा पुस ८ सम्म लिग चरणका खेल हुने तालिका थियो । तर एक दिन सरेपछि पुस ९ सम्म लिग चरणको खेल हुनेछ । पुस १० मा इलिमिनेटर र पुस १२ मा फाइनल हुनेछ । प्रतियोगिताको शीर्षस्थानमा रहने टिमले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमबीच इलिमिनेटर खेल हुनेछ । ‘पानी रोकिएको अवस्थामा शनिबार खेल खेलाउन त मिल्छ तर हामीले जोखिम लिन चाहेनौं,’ लामाले पत्रकार सम्मेलनमा भने, ‘एक दिन सारिए पनि अन्य खेलतालिका सबै यथावत राखेका छौं ।’


प्रतियोगितामा पोखरा पल्टन, काठमाडौं गोल्डेन्स, विराटनगर टाइटन्स, चितवन राइनोज, धनगढी ब्लुज र बुटवल ब्लास्टर्स सहभागी छन् । पोखराको शरद भेषावकर, काठमाडौंको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल, विराटनगरको प्रदीप ऐरी, चितवनको पारस खड्का, धनगढीको दीपेन्द्रसिंह ऐरी र बुटवलको सोमपाल कामीले कप्तानी गर्नेछन् । प्रदीपले पहिलोपल्ट फ्रेन्चाइज लिग क्रिकेटको कप्तानी गर्दै छन् ।


ट्रफी सार्वजनिक

दोस्रो संस्करणको पीपीएल ट्रफी शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका छन् । कप आकारको ट्रफी अघिल्लो संस्करणकै मिल्दोजुल्दो छ । पहिलेको तुलनामा परिष्कृत बनाइएको आयोजकका निर्देशक लामाले दाबी गरे ।


ट्रफी सार्वजनिक पछि मुख्यमन्त्री गुरुङले क्रिकेटको लोकप्रियता बढाउन र विदेशी खेलाडीलाई समेत आकर्षित गर्न व्यावसायिक प्रतियोगिता जरुरी रहने बताए । पीपीएलले खेलाडीको एक्सपोजरका साथै स्थानीय क्रिकेटरलाई प्रोत्साहन मिलेको दाबी गरे । मुख्यमन्त्रीले पीपीएलको सफलतामा आफ्नो सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाए । ‘खेलकुद पर्यटनलाई हाम्रो सरकारले आफ्नो प्रतिष्ठासँग जोड्न खोजेको छ । त्यसैले यस्ता प्रतियोगितालाई सहयोग गर्न हामी उत्सुक छौं,’ उनले भने ।

प्रकाशित : मंसिर २८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?