कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडमा भलिबल 'क्रेज'

अर्घाखाँची/पाल्पा — अर्घाखाँची युवा परिषद्ले ७ वर्षदेखि सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेलमा जिल्लास्तरीय भलिबल प्रतियोगिता गर्दै आएको छ  । केही दिनअघि अन्तरपालिका रनिङ सिल्ड भलिबल भयो  ।

पहाडमा भलिबल 'क्रेज'

उक्त प्रतियोगिताको उपाधि शीतगंगा नगरपालिकाले जित्यो । दसैंपछि परिषदले जिल्लामै ठूलो पुरस्कार राशिको प्रतियोगिता सञ्चालन गर्ने गर्छ । जिल्लामा भलिबल खेलाडीलाई प्रोत्साहन गर्न स्वदेश तथा विदेशमा रहेका युवामार्फत सहयोग जुटाएर खेल हुने गरेको परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

छत्रदेव गाउँपालिकाले ठूलापोखराको रातामाटामा बुधबारदेखि अध्यक्ष कप रनिङ सिल्ड भलिबल गरेको छ । पहिला यहाँ भिरालो थियो । गाउँपालिकाले ४५ लाख रुपैयाँ लगानी गरेर खेल मैदान बनायो । त्यसमा भलिबल र क्रिकेट खेल्न मिल्छ ।

प्यारापिटसहितको रंगशाला बनाउन खेलकुद मन्त्रालयमा बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए । राटामाटामा विभिन्न खेल आयोजना गर्न रंगशाला बनाउन लागिएको उनले सुनाए । ‘विकास र समृद्धिका कामसँगै अतिरिक्त क्रियाकपाल चाहिन्छ, त्यसैले यहाँ रंगशाला निर्माण गर्न लागिएको हो,’ उनले भने । ८ वटै वडाबाट खेलाडी टिम भलिबल प्रतिस्पर्धा गर्दैछन् ।

उक्त पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल गर्ने तयारी छ । ‘भलिबललगत्तै क्रिकेट हुनेछ, खेलकुद गतिविधि सञ्चालन गर्न गाउँसभाले चालु आर्थिक वर्ष ११ लाख बजेट छुट्याएको छ,’ उनले भने । स्थानीय सरकारको अनुभूत गराउन रनिङ सिल्ड गरिएको उनले बताए । पूर्वाधारयुक्त र सुविधासम्पन्न बनाएर अन्तरपालिका एवं जिल्लास्तरीय खेलकुद गतिविधि सञ्चालन गर्ने उनले बताए । छत्रदेव–५ का भलिबलका कप्तान राजु बस्नेतले पहिले यस्ता खेलमा भाग लिन सदरमुकाम धाउनुपर्ने सम्झिए । ‘एक वर्षदेखि गाउँमै ठूला प्रतियोगिता भइरहेका छन,’ उनले भने, ‘खेलका लागि बजेट छुट्याइएकाले हामी उत्साही छौं ।’ भूमिकास्थान नगरपालिकाले विभिन्न खेल मैदान निर्माणका लागि नगर, प्रदेश र संघ सरकारबाट बजेट लगानी गरेको छ ।

चिदीचौर, खिल्जी, ढाकावाङ, आरिचौर, धनचौरलगायतका ठाउँमा मैदान निर्माणका लागि तीनवटै सरकारको १ करोड लगानी गरेको नगर प्रमुख रेशम थापाले बताए । केही ठाउँमा क्रिकेट र धेरै ठाउँमा भलिबलको कोर्ट उपयुक्त छन् । हिउँदभर पालिका र वडास्तरीय खेलकुद प्रतियोगिता भइरहेका छन् । बुधबारदेखि डेवा धनचौरमा स्थानीय खेलाडीबीच भलिबल भएको उनले बताए । अन्य खेल प्रतियोगिता गर्न सम्भव नभए पनि भलिबल र क्रिकेटका खेलाडी उत्पादन गर्न बजेट विनियोजन गरिएको उनले बताए । जिल्लाको पाणिनि, मालारानी गाउँपालिका र शीतगंगा नगरपालिकाले पनि मैदान निर्माणमा बजेट छुट््याएका छन् । जिल्लाका छवटै स्थानीय तहका वडापिच्छे भलिबल खेल भइरहेका छन् ।

चाडपर्वमा लहर
दसैंतिहार जस्ता चाडपर्वमा पाल्पाका एक दर्जनभन्दा बढी स्थानमा भलिबल प्रतियोगिता भएका छन् । ग्रामीण भेगमा फुटबलभन्दा बढी भलिबलकै क्रेज भएकाले पनि यस्ता प्रतियोगिता क्लब, समूह, युवाले आयोजना गर्ने गरेका हुन् । अहिले राष्ट्रिय खेलको मान्यता पाएकाले पनि यसको क्रेज बढेको छ । १० हजारदेखि ६० हजार रुपैयाँसम्म पुरस्कार राखेर दसैं र तिहारमा थुप्रै भलिबल प्रतियोगिता भए । खुला, पालिकास्तरीय, क्लबस्तरीय, वडा कप हुने गरेको हो । फोक्सिङकोट, गोठादी, झडेवा, गेझा, गल्धा, जल्पा, मित्याल, मस्यामलगायतका स्थानमा दसैं अवसरमा प्रतियोगिता भएको थियो । तिहारलक्षित प्रतियोगिता पनि भएको छ ।

मण्डली स्पोर्ट्स क्लबले राखेको प्रतियोगितामा जिल्ला मात्र नभई छिमेकी स्याङ्जा, तनहुँ र पूर्व नवलपरासीबाट समेत सहभागी भए । ‘गाउँमा भलिबलको बढी नै क्रेज छ,’ मण्डली स्पोर्ट्सका अध्यक्ष अनन्त श्रेष्ठले भने, ‘फुटबल, क्रिकेटका लागि मैदान नै छैन । त्यही भएर भलिवलमा बढी उत्साही हुन्छन् ।’ गाउँका विद्यालयमा पनि प्रतियोगिता हुने गर्छ । विद्यालयस्तरीय प्रतियोगितामा पनि कक्षा ९ देखि १२ सम्मकाले भलिबलमै भाग लिन्छन् । दसैं र तिहारलक्षित प्रतियोगिताहरू ग्रामीण भेगमा बढी हुने गर्छ ।

‘घरबाट बाहिर काममा गएकाहरू पनि आउने समय हुन्छ,’ फोक्सिङकोटको द रिमिघा लेकसाइड युवा क्लबका अध्यक्ष डम्बरबहादुर आलेले भने, ‘त्यसैले प्रतियोगिता गर्दा सहयोग पनि जुटाउन सजिलो हुन्छ ।’ जिल्लाका अधिकांश स्थानमा मगर बस्ती छ । मगर समुदायमा बढी भलिबल नै खेल्ने गर्छन् । विद्यालय तहबाटसमेत भलिबलमै रूचि जगाइएको हुन्छ । युवा करण गाहाका अनुसार कक्षा ७ देखि नै भलिबल खेल्ने भएकाले पनि यसमा बढी रूचि भएको हो । ‘खाजा छुट्टीमा नै हामी भलिबल खेलेर हुर्केका हौं,’ उनले भने, ‘मैदान पनि ठूला हुन्न त्यसैले गर्दा पनि अन्य खेलभन्दा बढी भलिवल नै बढी खेलिन्छ ।’

चाडपर्वमा साथीभाइ बढी जुट्ने भएकाले पनि प्रतियोगिता बढी आयोजना हुने गरेको उनले बताए । जिल्लाका ८१ मध्ये ६० बढी वडामा भलिबलको टिम छ । अधिकांस वडामा एउटैमा १० टिमभन्दा बढी छन् । तिनाउको मस्याममा २८ टिम छ भने झडेवा, कोलडाँडामा १५ टिम पुग्ने भलिबल खेलाडी छन् । ‘अवसर पाउने हो भने राष्ट्रिय स्तरमै गएर खेल्न सक्ने लायकका खेलाडी छन्,’ माथागढी, झडेवाका दीपक पन्थीले भने, ‘तर अवसर भने पाउँदैनन् । गाउँमा बस्ने खेलाडीको कुनै वास्ता नै हुँदैन ।’

जिल्लाको ग्रामीण भेगमा प्रायः मगर समुदायको बसोवास छ । भिरालो पहाडको गाउँमा गाउँलेले श्रमदान गरेर बारीको पाटोलाई नै खेलमैदान बनाएर खेल्नुपर्ने बाध्यता छ । दसैंतिहार लाग्यो भने बिदा हुने र भलिबल प्रतियोगिता हुने उनले बताए । सानो ठाउँमा नेट टांगेर भलिबल खेल्न सकिन्छ । फुटबल र क्रिकेटजस्ता खेलका लागि भने ठूलो मैदान आवश्यक पर्छ । ‘जहाँ पनि दुईवटा पोल र नेट टांगेर खेल्न सकिने भएकाले पनि गाउँमा लोकप्रिय छ,’ मस्यामका भलिबल खेलाडी गणेश दर्लामीमगरले भने, ‘हाम्रो गाउँमा मात्रै २८ भन्दा बढी भलिबल टिम होला ।’ ‘एउटै गाउँमा ४–५ टिमसम्म निस्कने भलिबलका खेलाडी छन्,’ उनले भने, ‘तर उनीहरूलाई प्रशिक्षण, सहयोगको खाँचो छ ।’

ग्रामिण भेगमा बारीको पाटो, बाटो, खोली, खोल्साको सानो जमिनमा पोल गाडेर जाली लगाई भलिबल खेल्छन् । ‘युवा मिल्यो भलिबलको कोर्ट बनायो,’ झडेवाका खेलाडी यमबहादुर सारुले भने, ‘सुरु गर्‍यो भलिवल खेल्न । सानैदेखि भलिबल खेल्ने सौख हुन्छ ।’ जिल्लाका अधिकांस स्थानमा खुला, विद्यालय र क्लबस्तरीय प्रतियोगिता भइरहने भएकाले पनि खेलाडी जन्मिछन् । गाउँमा सानादेखि अधबैंशे उमेरका र बुढा हुन लागेकाको समेत रूचि भलिबलमै हुन्छ । विद्यालयको खाजा छुट्टी होस् वा विद्यालय छुटिसकेपछिको समयमा होस् विद्यार्थीको हातमा भलिबल र नेट हुने गर्छ । गाउँमा मनोरञ्जन भनेकै भलिबल हुनेगर्छ ।

जिल्लास्तरीय प्रतियोगिता, प्रशिक्षणको व्यवस्था भने नभएको मित्यालका अगुवा खेलाडी लालबहादुर सोतीले बताए । जिल्लामा ठूलो धनराशिको प्रतियोगिता नहुँदा भने आफ्नो प्रतिभा देखाउन नसकिएको अवस्था रहेको खेलाडी तथा प्रशिक्षक कृष्णबहादुर आलेको गुनासो छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?