कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : निर्माण जारी, लक्ष्य यही वर्षभित्र

ठाकुरसिंह थारू, कमल पन्थी

नेपालगन्ज/बर्दिया — जीर्ण नेपालगन्ज रंगशाला सिँगारिएको छ । फुटबल मैदानमा ‘बर्मुडा’ घाँस रोपेर हरियाली बनाइएको छ । फोहोर खाल्डो पौडी पोखरीमा परिणत भएको छ । वर्षौंदेखि कुरूप प्यारापिटले नयाँ रूप पाएको छ । चीनबाट बनिबनाउ प्यारापिट आऊने क्रममा छ ।

आठौं राष्ट्रिय खेलकुद : निर्माण जारी, लक्ष्य यही वर्षभित्र

त्रिकेट पिच तयार गरिएका छन् । नेपालगन्जमा सञ्चालन हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताले बाँके मात्र होइन, प्रदेश ५ का धेरै जिल्लामा खेल पूर्वाधार निर्माण भएका छन् ।


भौतिक निर्माणका अधिकांश काम अन्तिम चरणमा छन् । ०७५ भित्र आयोजना गर्ने गरी काम अगाडि बढाइएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । कतिपय संरचना निर्माण पूरा भएका छन् । ढिलो गरी बजेट निकासा हुँदा माघमा सञ्चालन तय भएको प्रतियोगिता फागुनमा धकेलिएको थियो । प्रतियोगिता यसै वर्ष गरेर छाड्ने आयोजकले दाबी गरेका छन् ।


प्रतियोगितामा समावेश गरिएको सुटिङ खेलका लागि यहाँ हल निर्माण भइसकेको छ । त्यसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । नेपालगन्ज फुटबल मैदानको तयारी अन्तिम चरणमा पुगिसकेको छ । चीनबाट तयारी अवस्थामा मगाइएको प्यारापिटको क्षमता ३ हजार ५ सयको छ । तीनतर्फ पक्की प्यारापिट निर्माण भइरहेको छ ।


नेपालगन्ज रंगशालाको प्यारापिटमा १० हजार दर्शक अट्ने क्षमता छ । चीनबाट ल्याउन थालिएको प्यारापिटको मूल्य १९ करोड रुपैयाँ छ । फुटबल मैदानका लागि ५० करोड लागत छ ।


नेपालगन्जमै निर्माण जुडो हल निर्माण भई ट्रसको काम भइरहेको छ । २ करोड लागतमा हल निर्माण भइरहेको हो । दाङ लमहीमा क्रिकेट मैदान निर्माण भइसक्यो । त्यसका लागि १५ करोड खर्च भएको छ । ‘सबैजसो भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगिसकेको छ । त्यसैले यही वर्ष प्रतियोगिता सुरु हुने विश्वास हाम्रो छ,’ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले भने, ‘गत आर्थिक वर्षमा बजेट समयमा निकासा नहुँदा प्रतियोगिता अलि पछाडि सरेको हो ।’


प्रतियोगिताका लागि बेलझुन्डीमा एथलेटिक्स ट्र्याक र फिल्ड निर्माण भइरहेको छ । १२ करोड लागतमा निर्माण भइरहेको हो । प्यारापिटको काम सुरु भइसकेको छ । बाँकेको कोहलपुर क्रिकेट मैदान पिचको काम सकिएको छ । १० करोड लागतमा निर्माण भएको उक्त मैदान अन्तर्राष्ट्रियस्तरको हो । बजेट अभावमा उक्त फिल्ड अलपत्र पर्दै आएको थियो ।


१७ करोड लागतमा निर्माण भइरहेको नेपालगन्ज पौडी पोखरी तयार भई प्यारापिट ढलानको काम अन्तिम चरणमा पुगिसकेको छ । पौडी खेलका लागि आवश्यक पर्ने भवन तयार भइसकेका छन् । नेपालगन्ज कभर्ड हल मर्मतको काम सकिएको छ । फलसिलिङको काम भने भइरहेको छ ।


बाँकेको खजुरामा भलिबल एकेडेमी निर्माणको काम सम्पन्न भइसकेको छ । नेपालगन्जबाट करिब १० किलोमिटरको दूरीमा ७ करोड रुपैयाँ लगानीमा एकेडेमी निर्माण गरिएको छ । ‘हालसम्म कुल भौतिक पूर्वाधारको ८५ प्रतिशत काम भइसकेको छ । यो महिनामा सानातिनाबाहेक सबै काम सक्छौं,’ इन्जिनियर कमलबहादुर शाहीले भने, ‘यही गतिले काम हुने हो भने यही वर्षमा प्रतियोगिता सुरु गर्न सकिन्छ ।’


अधिकांश निर्माण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दियामा एथलेटिक्स, खोखो र फुटबल प्रतियोगिता सञ्चालन हुनेछन् । त्यसका लागि ९० देखि शतप्रतिशत संरचना निर्माण भइसकेका छन् । सदरमुकाम गुलरियामा एथलेटिक्स र फुटबल प्रतियोगिताका लागि संरचनाको काम अन्तिम चरणमा पुगेको छ । गुलरियामा फागुन २५ गतेदेखि २८ गतेसम्म महिला फुटबल सञ्चालन हुनेछ । जिल्ला खेलकुद विकास समितिका सचिव महेश चन्दका अनुसार गुलरियास्थित तुलापुरमा एथलेटिक्स र फुटबल खेलका लागि शतप्रतिशत संरचना तयार भएका छन् ।


भुरीगाउँमा प्रदेशस्तरीय महिला तथा पुरुषका लागि हुने कपर्दी प्रतियोगिताको ९० प्रतिशत संरचना सम्पन्न भएको उनले जनाए । यहाँ १८ देखि २१ फागुनसम्म कपर्दी खेल सञ्चालन हुनेछ ।


भुरीगाउँस्थित सिंहबाहिनी मैदानमा खोखो प्रतियोगिताका लागि ९५ प्रतिशत संरचना तयार भएको खेलकुद विकास समितिले जनाएको छ । भुरीगाउँमा फागुन २२ देखि २४ गतेसम्म खोखो प्रतियोगिता हुनेछ । आठौं राष्ट्रिय खेलुकुद प्रतियोगिताअन्तर्गत जिल्लामा एथलेटिक्स, कपर्दी, हकी, आर्चरी, खोखो र सेपाटाक्रो खेल हुने भएको छ । गुलरियामा एथलेटिक्स, हकी, आर्चरी र सेपाटाक्रो खेल हुने भएको छ । गुलरियामा हकी खेलका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको खेलकुद विकास समितिले जनाएको छ ।


प्रतियोगिताअन्तर्गत ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा खोखो र ठाकुरद्वारामा आर्चरी खेल हुने भएको छ । यसैगरी बासगढीमा कपर्दी प्रतियोगिता गरिने भएको छ । ठाकुरबाबा र बासगढीमा संरचना निर्माणका काम धमाधम भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले बताए । ‘उधारोमा संरचनाको काम भइरहेको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रले चाँडै बजेट निकासा गरिदिने आश्वासन पाएका छौं ।’


मिति सरेपछि शंका

सुरुमा राष्ट्रिय प्रतियोगिता मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । पत्रकार सम्मेलन गरी समयमै प्रतियोगिता गर्ने दाबी गरिएको थियो । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भयो । तयारी पूरा नभएको भन्दै राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले माघ मसान्तमा सार्‍यो । त्यो मितिमा पनि भौतिक पूर्वाधार पूरा

हुन सकेनन् ।


परिषद्का सदस्य–सचिव केशवबहादुर

विष्टले फागुनको दोस्रो सातामा प्रतियोगिता सञ्चालन हुने बताए । उक्त मितिमा पनि प्रतियोगिता हुन सकेन । त्यसलगत्तै फागुनको अन्तिम साता गर्ने भनिएको छ । भौतिक पूर्वाधारको काम अझै बाँकी छ । ‘ढिलो गरी बजेट आयो । बजेट आएपछि निर्माणका कामले गति पाएको छ,’ अध्यक्ष ओलीले भने, ‘जति मिति सरे पनि अब सर्ने छैन । राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधारका लागि १३ वटा ठूला आयोजना सञ्चालनमा छन् ।


प्रकाशित : फाल्गुन १५, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?