कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २ वर्षमा, धुर्मुस–सुन्तलीको महत्त्वाकांक्षी योजना

लागत ३ अर्ब

काठमाडौँ — देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने महत्त्वाकांक्षी योजनाको बुधबार औपचारिक घोषणा गरेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २ वर्षमा, धुर्मुस–सुन्तलीको महत्त्वाकांक्षी योजना

गत मार्च महिनामा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगितामार्फत नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकताले राष्ट्रिय रूप लिएको थियो । त्यसो त सन् २०१० यता नेपाली क्रिकेटले हासिल गरेको एकपछि अर्को सफलतामै सुविधासम्पन्न अत्याधुनिक रंगशालाको आवश्यकता टड्कारो भइसकेको थियो ।


भरतपुर महानगरपालिकाले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले नेपाली मौलिकता झल्कने विश्वकै नमुना स्तरको रंगशाला बनाउने घोषणा गरेको हो । महानगरपालिका प्रमुख रेणु दाहाल र फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलबीच बुधबार सार्वजनिक–निजी साझेदारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । रंगशाला निर्माणपछि भरतपुर महानगरपालिकाले यसको स्वामित्व लिनेछ र सञ्चालन गर्नेछ ।



गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा बुधबार प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, कलाकार मदनकृष्ण श्रेष्ठलगायत ।तस्बिर : अंगद ढकाल/कान्तिपुर


राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासहितको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशाला निर्माण अभियानको सुरुआत गरेका थिए ।


सरकारी सहयोगसँगै जनस्तरबाट आर्थिक सहयोग संकलन गरी अनुमानित ३ अर्ब रुपैयाँको लागतमा २ वर्षभित्र बन्ने भनिएको रंगशाला कम्तीमा २५ हजार दर्शक क्षमताको हुनेछ । क्रिकेट मात्र नभई रंगशाला परिसरमा दुई क्रिकेट अभ्यास मैदान, पौडीपोखरी, भलिबल कोर्ट, इन्डोर कभर्डहल, फुटबल मैदान पनि हुनेछ । रंगशाला प्रवेशद्वारदेखि नै नेपाली मौलिकता झल्कने कलाकृति, प्रख्यात मठमन्दिरको स्वरुप, भौगोलिक पहिचानलाई उतारिने छ ।


धुर्मुस आफैंको परिकल्पनामा तयार हुने रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली प्राविधिकले नै बनाउने छन् । आवश्यक परेमा विदेशी दक्ष जनशक्तिलाई कन्सल्ट्यान्टको रुपमा अनुबन्ध गर्ने फाउन्डेसनको योजना छ । डीपीआर कम्तीमा ६ महिनामा पूरा हुनेछ । त्यसपछि शिलान्यास भएको मितिले दुई वर्षभित्र रंगशालाले पूर्णता पाउने महत्त्वाकांक्षी लक्ष्य फाउन्डेसनले लिएको छ ।


महत्त्वाकांक्षी यसर्थमा पनि छ कि काठमाडौंको मुलपानीमा सरकारी लगानीमा बन्ने घोषणा भएको क्रिकेट रंगशाला करिब डेढ दशक भइसक्दा पनि सम्पन्न हुन सकेको छैन । यद्यपि यसअघिका चार परियोजना निर्धारित मितिमा सम्पन्न गरेर आफ्नो क्षमता देखाइसकेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाको परियोजना पनि समयमै सम्पन्न गर्ने आमखेलकुदप्रेमीको अपेक्षा छ ।


धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपछि काभ्रेपलाञ्चोकमा पहरी एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती, महोत्तरीको बर्दिवासमा मुसहर बस्ती र रौतहटको सन्तपुरमा एकीकृत बस्ती निर्माण गरिसकेको छ ।


आफ्नो महत्त्वाकांक्षी योजना नमुना नेपाल निर्माण अभियानलाई थाँती राखेर फाउन्डेसनले जनचाहनाअनुसार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा एक वर्षअघि नै गरेको थियो । काठमाडौंको गोदावरी, पोखरा, लुम्बिनीलगायतका ठाउँमा सम्भाव्यता अध्ययन पनि गरिएको हो । यद्यपि प्राविधिक कारणले ती ठाउँहरू अनुपयुक्त रहने देखिएकाले चितवनको प्रस्तावमा सहमति जुटेको हो ।


नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने गरेको छ । सुरक्षाको दृष्टिले अनुपयुक्त रहेकाले यस रंगशालाको विकल्प खोजिन थालेको धेरै समय भए पनि मूर्त रूप लिएको थिएन । त्रिवि मैदान र मुलपानी मैदानका अलावा पोखरा, बारा, वीरगन्ज, विराटनगर, जनकपुर, भैरहवा, कोहलपुर र धनगढीमा क्रिकेट मैदान भए पनि ती अन्तर्राष्ट्रिय रंगशालाको रुपमा छैनन् । एकपछि अर्को सफलता हासिल गरेको नेपाली क्रिकेट टोलीले आफ्नै देशमा सुविधासम्पन्न रंगशालामा खेल्ने सपना सार्थक बनाउन नपाएको अवस्थामा रंगशाला निर्माण हुने भएपछि सबै उत्साही बनेका छन् ।


यसअघिका परियोजनाजस्तै रंगशाला निर्माण अभियानमा पनि फाउन्डेसनले देशविदेशमा रहेका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरेको छ । यद्यपि यस परियोजनामा सरकारको पनि पूर्ण समर्थन छ । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पवित्र र राम्रो कामका लागि सरकारको सधैं सहयोग रहनेछ । क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरिरहेको छ र यो ऐतिहासिक प्रयासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन बधाई र शुभकामनाको पात्र हुनेछ ।’

कार्यक्रममै प्रधानमन्त्री ओलीले सबैलाई यस योजनामा साथ र सहयोग गर्न अपील गरेका थिए ।


‘एकताबद्ध भएर अघि बढ्ने हो भने हामी हाम्रै प्रयासमा केही वर्षभित्रै नेपालको पहिचान र परिचय परिवर्तन गर्न सक्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक शक्तिबीचमा पनि सहमति र पारस्परिक सहयोग तथा समन्वय हुनुपर्छ । तब मात्र देशको विकास हुन्छ ।’ करिब आधा घण्टाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले देश विकाशका लागि नागरिक तहबाट दृढ संकल्प र सोचको विकास जरुरी रहेको औंल्याए ।


नेकपाका अध्यक्ष दाहालले आफ्नो लामो समयदेखिको राष्ट्रिय एकता तथा मुलुकको विकासका लागि राष्ट्रिय संकल्पको सपना साकार पार्ने विशिष्ट कार्यक्रम आयोजना भएकोमा खुसी लागेको बताए ।


‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएको छ, त्यसलाई साकार पार्ने यस्तै कार्यक्रमले हो,’ रंगशाला बन्ने क्षेत्रका जनप्रतिनिधिसमेत रहेका दाहालले थपे, ‘यहाँ सबैको सामूहिक स्वार्थ छ, के कलाकार के राजनीतिज्ञ, के उद्योगपति, सत्तापक्ष, प्रतिपक्ष सबैको एकता देखें । सकारात्मक संकल्प देखें ।’


‘अब खेलकुद स्वास्थ्यका लागि र राष्ट्रका लागि मात्र रहेन, यो त पर्यटनका लागि, आर्थिक समृद्धिका लागि र समग्र मुलुकको पहिचान स्थापित गर्नका लागि बनिसकेको छ । विश्वमा नेपाललाई चिनाउने बहुआयामिक अभियानको थालनी भएको छ । यसमा सबैको साथ र सहयोगलाई अपील गर्छु,’ पूर्व प्रधानमन्त्री दाहालले थपे ।


कांग्रेसका महामन्त्री कोइरालाले पनि भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा बन्न लागेको नमुना रंगशाला निर्माणमा आफ्नो पार्टीको साथ र सहयोगबारे रहने जनाए । उनले भने, ‘क्रिकेटमार्फत नेपालले विश्वमै नाम कमाइसकेको छ । सन्दीप लामिछाने, पारस खड्का, रोहित पौडेलहरूले नेपालको नाम उँचो राखेका छन् । उनीहरूकै लागि सुविधासम्पन्न रंगशाला निर्माण गर्ने ऐतिहासिक सुरुआत भएकोमा सबै खुसी हुनुपर्छ ।’


अनुमानित तीन अर्ब लागतमा बन्ने महत्त्वाकांक्षी योजनाका लागि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सबैको सहयोग आहान गरेका छन् । ‘हामीले यसअघिका परियोजना करोडको लागतमा बनाएका थियौं, त्यति बेला पनि देशविदेशबाट धेरै दाजुभाइ–दिदीबहिनीले सहयोग गर्नुभएको थियो, यो अर्बको योजना हो र यसमा पनि उस्तै साथ र सहयोग अपेक्षा गरेको छु,’ उनले भने, ‘तपाईहरूको नि:स्वार्थ सहयोगलाई सकारात्मक काममा उपयोग गर्नेछु ।’


कार्यक्रमकै माझ फाउन्डेसनले आर्थिक सहयोग संकलन अभियानसमेत सुरु गर्‍यो । बुधबार मात्रै करिब ५ करोड रुपैयाँ सहयोग संकलन भएको छ । काठमाडौंको एस ट्राभल्स डटकमले ३ करोड सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै चितवन उद्योग परिसंघले ५१ लाख, चितवन उद्योग वाणिज्य महासंघले २१ लाख, अल्का अस्पतालले २५ लाख सहयोगको घोषणा गरेका छन् ।


आफ्नै महानगरपालिकाभित्र बन्न लागेको राष्ट्रिय महत्त्वको आयोजनाका लागि भरतपुर महानगरपालिकाले पनि आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । ‘रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई जिम्मा दिए पनि हामी चुप बस्दैनौं ।


भौतिक र आर्थिक रूपमा सकेको सहयोग गर्नेछौं । यो महाअभियानलाई समयमै सम्पन्न गर्न संघ र प्रदेश सरकारको पनि सहयोग अपेक्षा गर्छौं,’ सहमतिपत्रमा हस्ताक्षर गरेपछि भरतपुर महानगर प्रमुख रेणु दाहालले भनिन्, ‘यो रंगशाला बनेपछि नेपाललाई क्रिकेटको तटस्थ भूमिको रूपमा प्रयोग गर्न पाउने छौं ।’


रंगशाला बन्ने जग्गा

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा लालपुर्जा रहेको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले भोगचलन गर्दै आएको छ ।


भरतपुर महानगर प्रमुख रेणु दाहाल र धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल सम्झौतापत्र आदानप्रदान गर्दै । तस्बिर : अंगद ढकाल/कान्तिपुर


२० बिघामा रंगशाला बनाउन भरतपुर महानगर, त्रिवि र एएफयुबीच त्रिपक्षीय सहमति भइसकेको छ । महानगरले एएफयुलाई जग्गा सट्टाभर्ना दिनेछ । रामपुरमा त्रिविको नाममा ३ सय ३८ बिघा जग्गा छ । त्रिविअन्तर्गत रामपुरमा केन्द्रीय कृषि तथा पशुविज्ञान अध्ययन संस्थान सञ्चालन हुँदै आएको थियो । रामपुरमा कृषि तथा वन विश्वविद्यालय स्थापना भएर सञ्चालनमा आएको लामो समय भए पनि त्रिविले सम्पत्ति हस्तान्तरण गरेको छैन । कुल जमिनमध्ये ४० बिघा त्रिविलाई दिने र अरु एएफयुकै हुने निधो भए पनि प्रक्रिया टुंगिसकेको छैन ।


‘औपचारिक रूपमा सम्पत्ति हस्तान्तरण नभएका कारण दसैंपछि त्रिवि, हामी र महानगरबीच रामपुरको २० बिघा जमिनमा क्रिकेट रंगशाला बनाउने औपचारिक सम्झौता भएको हो,’ वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले भने ।


‘भरतपुर–१९ मा १५ बिघा जग्गा रहेछ जुन महानगरले हामीलाई दिँदै छ । थप पाँच बिघा जग्गा रंगशाला बन्दै गर्दा प्राप्त भइसक्नेछ,’ उपकुलपति ढकालले थपे ।


क्रिकेट स्टेडियम बनाउने कुरा एएफयुको सिनेटबाट पारित हुन सकेको थिएन । चितवनका जनप्रतिनिधि समेत रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै राजनीतिक सहमति जुटाएर दुई विश्वविद्यालय र महानगरबीच समझदारी गराएका हुन् । रामपुर क्याम्पसको पशु विकास फार्मका गाईवस्तु चराउन र घाँस रोप्न प्रयोग हुँदै आएको जग्गामा रंगशाला बन्ने भएको हो ।


रामपुरको जग्गाको त्रिवि साइनो

०६७ साल असारमा कृषि तथा वन विश्वविद्यालय ऐन जारी भएको थियो । दफा ३ को उपदफा २ मा त्रिविको आंगिक क्याम्पसका रूपमा रहेका चितवनका कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र मकवानपुरको वन क्याम्पसलाई संयुक्त रूपमा समावेश गरी कृषि विश्वविद्यालय स्थापना गर्ने र केन्द्रीय कार्यालय चितवनमा रहने व्यवस्था छ ।


कृषि तथा वन विश्वविद्यालय ऐनमा रामपुर र हेटौंडाको जग्गा त्यहाँका क्याम्पसलाई सरकारबाट अनुदानमा प्राप्त भएको भन्ने उल्लेख छ । त्रिविले रामपुरको जग्गा २०२९ सालमा प्राप्त गरेको थियो । त्यसअघि सो जग्गा पञ्चायत प्रशिक्षण केन्द्रको नाममा थियो । काठमाडौंमा सिंहदरबारको पुतली बगैंचामा कृषि स्कुल खुलेको थियो । पछि कलेजको रूपमा हरिहर भवनमा सर्‍यो । हरिहर भवनको जग्गा रानी जगदम्बाबाट दानका रूपमा प्राप्त भएको थियो ।


कृषि कलेज रहेको हरिहर भवनमा स्थानीय विकास मन्त्रालय बस्ने भयो । कलेजलाई सोही मन्त्रालयअन्तर्गत रामपुरमा रहेको पञ्चायत प्रशिक्षण केन्द्रको जग्गा र भवन प्राप्त भएको हो । हरिहर भवनको कलेज रामपुरमा सर्दा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका रूपमा स्तरोन्नति भएको थियो । अहिले विश्वविद्यालय बनेको छ ।


प्रकाशित : माघ १७, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×