कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कर्णाली र सुदूरपश्चिममा ४ सय केभी प्रसारण लाइन निर्माण हुँदै

बर्दगोरिया, कैलाली — कर्णाली करिडोर (फुकोट वेतन) ४ सय केभी प्रसारण लाइन आयोजनाको निर्माण सुरु हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ नैनियामा शुक्रबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका बीच प्रसारण लाइनको टावर निर्माणको शिलान्यास गरेका छन् ।

कर्णाली र सुदूरपश्चिममा ४ सय केभी प्रसारण लाइन निर्माण हुँदै

फुकोट-कर्णाली, वेतन-कर्णाली र तिलालगायतका जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ३ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी आन्तरिक मागलाई सम्बोधन गर्ने र विद्युत् निर्यात गर्ने लक्ष्यसहित राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारण लाइन निर्माण गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले टावर शिलान्यासका अवसरमा पहाडदेखि तराई हुँदै अन्तरदेशीय रुपमा निर्माण हुने डबल सर्किटको प्रसारण लाइनको लम्बाई १२५ किलोमिटर, निर्माण लागत ८ अर्ब र ३ वर्षमा निर्माण सम्पन्न हुने बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबाट निर्माण हुन लागेको यो प्रसारण लाइन राष्ट्रिय रुपान्तरकारी आयोजनामध्ये एक रहेको बताए । ‘यो आयोजनाअन्तर्गत कर्णाली प्रदेशको कालीकोट र सुर्खेतका साथै सुदूरपश्चिमको अछाम र कैलाली हुँदै प्रसारण लाइन विस्तार गर्न लागिएको छ,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।

कालीकोटको त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल, बर्दगोरिया, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका हुँदै निर्माण हुने आयोजनाको जम्मा लम्बाई १२५ किलोमिटर रहेको छ । उनकाअनुसार कर्णाली प्रदेश कालीकोटको फुकोट, सुर्खेतको वेतन र सुदूरपश्चिमको कैलाली दोदोधारा हुँदै नेपाल–भारत सिमानामा अवस्थित कर्मादेवसम्म १२५ किलोमिटर प्रसारण लाइन तथा फुकोट, वेतन र दोदोधारामा नयाँ ४००/१३२/३३ केभीका सवस्टेशनको निर्माण हुनेछ । ‘२५६ वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको एपी-१९१ बाट निर्माण सुरु गर्न लागिएको हो,’ शिलान्यास कार्यक्रममा उनले आयोजनाबारे जानकारी दिँदै भने ।

४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणको लागि भारतीय कम्पनी कल्पतरु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग करिब ८ अर्बमा २०७९ माघ ११ मा ठेक्का सम्झौता भएको आयोजनाका राष्ट्रिय प्रबन्धक विकेन बज्राचार्यले जानकारी दिए । उनका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन सम्पन्न गरिएको फुकोट, वेतन र दोदोधारा प्रसारण लाइन खण्डको चेक सर्भे, डिटेल सर्भे सम्पन्न भएको टावर स्पटिङका सम्पूर्ण कार्य सम्पन्न गरिएको छ ।

यसैगरी एनइए इन्जिनियरिङ कम्पनीसँग सम्झौता सम्पन्न गरी डिजाइन कार्य अन्तिम चरणमा रहेको बज्राचार्यले बताए । उनले आव २०८३/८४ मा आयोजना सम्पन्न हुने बताए । शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले उर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइन प्रमुख पूर्वाधारका रुपमा रहेको बताए । उर्जा क्षेत्रमा तीव्रताका साथ विकास भइरहेको दाबी गर्दै उनले हाल देशमा ३४/३५ सय मेगावाट विद्युत् उत्पादन भइरहेकोमा अबको १२ वर्षमा २८ हजार ५ सय मेगावट सहजै उत्पादन हुने गरी उर्जा पूर्वाधार विकासका काम भइरहेको जानकारी दिए ।

उत्पादन गरेर प्रसारण गर्ने पूर्वाधार नभएर लगानी हुन नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले कर्णाली करिडोरझैं सेती, भेरीलगायतका करिडोरहरुको निर्माण गरिने बताए ।

प्रकाशित : असार १५, २०८१ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×