कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा फैलिँदै लागूपदार्थ

धनगढी‚ कञ्चनपुर — लागूपदार्थको उच्च मात्रा प्रयोग गर्दा ३ महिना अघि १४ वर्षीय सुदीपको मृत्यु भयो । कञ्चनपुरको कृष्णपुर–२ का स्थानीय उनी चरेश, गांँजा हुँदै पछिल्लो पटक भारतबाट औषधिका रुपमा अवैध रूपमा भित्रिने नाइट्रोभेट प्रयोग गर्थे । तर, एकै पटक नाइट्रोभेटको धेरै मात्रा सेवन गर्दा गिरीको ज्यान गयो ।

सुदूरपश्चिममा फैलिँदै लागूपदार्थ

कैलाली गोदावरीका शरदले १६ वर्षको उमेरमा चरेस सेवन गर्न थाले । गाउँमै साथीभाइको संगतमा परेर पहिलो पटक चुरोटमा राखेर उनले चरेस पिएका थिए । कोरेक्स, डाइजोपाम, कफ सिरफ, पिरीगाभा, ट्रामाडोल र नाइट्रोटभेटजस्ता औषधि पनि लागूऔषधकै रूपमा प्रयोग गर्न थाले ।

पछिल्लो एक वर्षयता भने उनी ब्राउन सुगर नै नियमित सेवन गर्थे । २ साताअघि प्रहरीले उनलाई ब्राउन सुगरसहित पक्राउ गरेपछि उनको नशाखोरीको यात्रा कारागारमा गएर टुंगिएको छ । कञ्चनपुरको कृष्णपुर २ मा आफ्नै छोराले घरको धान बेच्दै लागूऔषध प्रयोग गर्ने गरेको भन्दै वावुले विद्यालय उमेरको छोरालाई प्रहरी चौकी पुर्‍याएका छन् । प्रहरीले विद्यालय उमेरका किशोरलाई नसिहत दिएर अभिभावकको जिम्मा लगाएको छ ।

कैलाली र कञ्चनपुरका यी दुई/तीन घटना मात्र होइन प्रदेशका ९ वटै जिल्लामा पछिल्लो समय दिनैपिच्छे लागूऔषध सेवनका कारण ज्यान जाने, बेपत्ता हुने र प्रहरीले पक्राउ गर्ने गरेका धेरै घटना सार्वजनिक हुने गरेका छन् । पक्राउ परेका ९० प्रतिशत १४ वर्षदेखि ३६ वर्षका प्रयोगकर्ता बढी रहेको विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा देखिन्छ । तराईका कैलाली र कञ्चनपुरमा औसतमा दैनिक ४ जना युवायुवती लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्नेमध्ये ३ जना १४ देखि ३६ वर्ष उमेर समूहका हुन्छन् । यो संख्या निरन्तर बढिरहेको छ । धनगढी, महेन्द्रनगरजस्ता प्रदेशका प्रमुख सहरी क्षेत्रभन्दा पनि तीन वर्षयता ग्रामीण भेगका युवायुवती लागूऔषध सेवन र ओसारपसारमा लागेको पाइन्छ । पक्राउ परेकामध्ये पनि अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने परिवारका किशाोरकिशोरी र युवायुवती रहेको प्रहरी तथ्यांकले पनि देखाएको छ ।

‘प्रहरीको तथ्यांकअनुसार नै लागूऔषधले सुदूरपश्चिम आक्रान्त भएको स्पष्ट देख्न सकिन्छ,’ सुदूरपश्चिममा कार्यरत युवा पुनर्जागरण अभियानका संयोजक चूडामणि शर्मा भन्छन्, ‘प्रहरी तथ्यांकभन्दा लागूऔषध प्रयोगको व्यावहारिक पक्ष हेर्ने हो भने झन् डरलाग्दो अवस्था छ । पछिल्ला तीन वर्षको अध्ययन हेर्ने हो भने कैलाली र कञ्चनपुरका कुनै यस्ता गाउँ बाँकी छैनन्, जुन गाउँबाट लागूऔषध प्रयोग कर्ता न भेटिएका हुन् ।’

‘किशोर उमेरदेखि नै लागूऔषध प्रयोग गर्नेको संख्या निरन्तर बढेको देखिएको छ,’ उनले भने, ‘प्रहरी, प्रशासन, नियन्त्रण र नियमन गर्ने निकायले धेरै प्रयास गर्दा पनि लागूऔषधबाट प्रदेश आक्रान्त हुन थालेको छ ।’

तीन वर्षअघिसम्म सहरी क्षेत्रमा कहिलेकाहीं प्रहरीले यस्ता लागूऔषध प्रयोगकर्तालाई पक्राउ गर्ने गरेका समाचार आउँथे,’ उनी भन्छन्, ‘तीन वर्षयता दैनिकजसो सुदूरपश्चिममा लागूऔषध र प्रयोगकर्ता पक्राउ परेका सामाचार प्रकाशित हुने गरेका छन् ।’

कैलाली र कञ्चनपुरका दुवै कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका कैदीबन्दी छन् । गत आर्थिक वर्षको तथ्यांकमा कञ्चनपुरमा मात्र २ सय २९ जना लागूऔषध सेवन र ओसारपसारमा पक्राउ परेका छन् । कैलालीमा गत आवमा ३ सय ३५ जना पक्राउ गरेको थियो । यो आर्थिक वर्षको बितेका ५ महिनामै यो दुवै जिल्लामा गतवर्षको संख्या पुगेको देखिन्छ । पक्राउ पर्नेमा ग्रामीण क्षेत्रमा जग्गाजमिन भएका, मध्यमवर्गीय परिवारका युवायुवतीको संख्या बढी रहेको देखिएको छ । विद्यालय उमेर पार गरेका तर विद्यालय उमेरदेखि नै कुलतमा फसेका युवायुवतीको संख्या पनि उत्तिकै छ । कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर भन्छन्, ‘सुरुमा कुलतमा फस्ने, बिस्तारै सीमापारिका कारो बारीका क्यारियरका रूपमा काम गर्नेको संख्या निकै बढी रहेको छ ।’ सेवनकर्ता र क्यारियरको काम गर्दागर्दै आफैं कारोबार सुरु गरेका पनि धेरै रहेको उनले जानकारी दिए ।

कञ्चनपुरका सामाजिक अभियन्ता सुरेन्द्र बम पनि स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेको बताउँछन् । ग्रामीण क्षेत्रमा अवैध रूपमा सञ्चालन भएका औषधि पसल, चिकित्सकको अनुमतिबिना औषधि बिक्रीवितरण गर्ने मेडिकल व्यवसायी र सीमाक्षेत्रका भारतीय बजारमा सहज रूपमा लागूऔषध पाइने गरेको बमले बताए । उनले आफ्नै गाउँमा लागूऔषधको अधिक मात्रा सेवन गरेका कारण मृत्यु भएको घटना सुनाउँदै भने, ‘प्रहरीसम्म पुग्न नसकेका लागूऔषध सेवनबाट भएका घटना र सेवनकर्ता हेर्ने हो भने समस्या गम्भीर भइसकेको देखिएको छ ।’ विद्यालय, अभिभावक, जनप्रतिनिधि, प्रहरी, सामाजिक संघसंस्था सबैको समन्वय गरेर नियन्त्रण गर्न पहल गर्न ढिलाइ भइसकेको उनले बताए ।

प्रहरीले अभियानकै रूपमा लागूऔषध नियन्त्रणको पहल चालेको छ । जिल्ला र प्रदेश प्रहरी कार्यालयको समन्वयमा विशेष टोलीहरू बनाएर पनि लागूऔषध नियन्त्रणको प्रयास भइरहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बितेका तीन महिनामा मात्र लागूऔषध बिक्रीवितरण गर्ने ६ वटा संगठित गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले बनाएको विशेष टोलीले कारोबारमा संलग्न रहेका ९ वटा गिरोहको पहिचान गरी ६ वटा गिरोह पक्राउ गरेको हो । ३ वटा गिरोह अझै पनि पक्राउ पर्न सकेका छैनन् । ‘स्थिति भयावह बन्दै गएको सत्य हो,’ कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर भन्छन्, ‘किशोर उमेरमै लतमा लाग्नेहरू नै विस्तारै यसका कारोबारी बन्ने गरेका छन् । सीमापारि लागूऔषध कारोबारमा संलग्नहरूको क्यारियरका रूपमा काम गर्दै पछि गएर आफैं डिलर भएर बिक्रीवितरण गरिरहेका ६ वटा गिरोह हामीले पक्राउ गरेका हौं ।’ प्रहरी सक्रिय भएपछि पछिल्लो समय नेपालतर्फ बिक्रीवितरण नगरी सानो सानो मात्रामा पारिबाटै ओसारपसार भइरहेकाले सीमा क्षेत्रमा प्रहरीले विशेष सक्रियता अपनाएका कारण दैनिकजसो यसरी पक्राउ पर्न थालेको पनि एसपी राठौरले बताए ।

तराईमा मात्र होइन, पछिल्लो समय पहाडी जिल्लामा पनि आधुनिकखाले लागूऔषधको बिक्रीवितरण र सेवन बढ्न थालेको छ । लागूऔषध सेवन र यसको ओसारपसारका विषयमा अनुसन्धानरत डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर भट्ट तराईका कैलाली र कञ्चनपुरसँगै विस्तारै पहाडतिर पनि लागूऔषध सेवनकर्ता बढ्न थालेको बताउँछन् । ‘परम्परागत रूपमा पाइने चरेस गाँजाको सेवनकर्ता रहेका पहाडी जिल्लामा विस्तारै ब्राउन सुगरजस्ता लागूपदार्थका सेवनकर्ता पनि देखिन थालेका छन् ।’ तराईका कैलाली, कञ्चनपुर जस्तो अवस्था नभए पनि विस्तारै पहाडी जिल्लामा पनि ओसारपसार हुन थालेको देखिएपछि प्रहरी सक्रिय भएको उनले बताए । भट्टले भने, ‘यसको दीर्घकालीन नियन्त्रणका लागि प्रहरीको सक्रियताले मात्र पुग्दैन सरोकारवाला सबैको समन्वयमा अभियानकै रूपमा प्रहरीले नियन्त्रणको पहल सुरु गरेको छ ।’

कैलाली र कञ्चनपुरमा लागूऔषध कुलतमा फसेकाहरूको पुनर्स्थापनाका लागि खुलेका डेढ दर्जनबढी पुनर्स्थापना केन्द्रहरू छन् । व्यक्तिगत लगानीमा खुलेका यस्ता केन्द्रहरूमा तीन वर्षयता ४ सय बढी कुलतमा फसेका किशोरकिशोरी र युवायुवतीहरूको पुनर्स्थापना गरिएको देखिन्छ । ‘एकपटक कुलतमा फसेपछि पुनर्स्थापना केन्द्रमा बसेर पनि धेरैजसो सुधार हुन सकेको देखिँदैन,’ हरित सञ्जीवनी केन्द्रका प्रमुख सुरेन्द्र जोशी भन्छन्, ‘पुनर्स्थापना केन्द्रमा राखेर मात्र समस्याको समाधान हुन सक्दैन । यसका लागि स्थानीय सरकार, प्रहरी, सरोकारवाला सबैको समन्वय गरी कुलतमा फस्नै नदिने वतावरण बनाउनुबाहेक अर्को विकल्प देखिँदैन ।’

कैलालीका प्रहरी प्रमुख राठौर सरकारी तहको ठूलो सुधार गृहको स्थापनाका लागि पहल भइरहेको बताउँछन् । मापदण्डअनुसार चिकित्सकीय पद्धति र काउन्सिल दुवै गर्न सक्ने गरी सरकारी सुधार गृहको आवश्यकता छ । राठौरले भने, ‘जनचेतना, सुधार केन्द्र, विद्यालय शिक्षा, नियन्त्रणका लागि स्थानीय तहको कार्यक्रम र प्रहरी सक्रियताको साझा प्रयास भयो भने यो नियन्त्रण हुन सक्छ ।’ प्रहरीले विशेष योजना बनाएर सबै पक्षसँग समन्वय गरी अभियान सुरु गरिसकेको पनि उनले बताए ।

प्रकाशित : पुस ६, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?