तराईमा बाढीले विध्वंस- सुदूरपश्चिम - कान्तिपुर समाचार

तराईमा बाढीले विध्वंस

खोला र नदीमा जलस्तर बढेर बस्तीमा पसेपछि कैलालीको पूर्वी क्षेत्रका झन्डै दुई हजार परिवार विस्थापित
मोहन बुडाऐर, भवानी भट्ट, मनोज बडू

धनगढी, कञ्चनपुर, दार्चुला — खोला र नदीमा जलस्तर बढेर शनिबार बिहानदेखि बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएका छन् । बस्ती जलमग्न भएका कारण स्थानीय बासिन्दा ज्यान जोगाउनै मुस्किल भएको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीका अनुसार विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर जोशीपुरमा ४ सय, कैलारीमा १ सय ८०, टीकापुरमा १ सय ७५, भजनीमा १ हजार ५०, जानकी गाउँपालिकामा ९५, लम्की चुहामा १ सय ५०, धनगढी उपमहानगरमा १५ परिवार गरि २ हजार ५५ घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको बताए ।

यस्तै, टीकापुरमा ७० र जानकीमा ६५ परिवार र भजनी नगरपालिकामा ८ सय जना बिस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय काँडा, कान्द्रा, पथरिया, कटनी, मोहना र कर्णाली नदीको बाढी पसेर दक्षिणी पुर्वी क्षेत्रमा पर्ने टीकापुर, भजनी नगरपालिका, जोशीपुर, कैलारी र जानकी गाउँपालिका अधिकांस वडा जलमग्न बनेका छन् । ‘बिहान काडा नदीको बाढी पसेपछि ज्यान जोगाउनै मुस्किल भयो,’ भजनी थापापुरका कृष्ण चौधरीले टेलिफोनमा भने, ‘गाँउका अधिकांश परिवार भजनी बहुनिया सडकको पुल माथि आयौं । घर डुब्नै लागेका थिए । घरभित्रको सामान त के बाँचेको होला र ?’

भजनी नगरपालिका प्रमुख केवल चौधरीले नौ वटै वडाका बस्ती जलमग्न भएको बताए । ‘प्रायः सबैको घरभित्र पानी पसेको छ । बाढीले थुनिएका परिवारलाई उद्धार जारी छ,’ उनले भने । धेरै परिवार आफ्नै घरको माथिल्लो तलामा थुनिएका छन् । डुंगा र ट्युबको माध्यमबाट थुनिएकाहरू को उद्धार भइरहेको छ । उद्धारकर्मीलाई एकबाट अर्को बस्तीमा जान समेत मुस्किल भइरहेको नगर प्रमुख चौधरीले बताए । भजनीकै लालबोझीको चर्रामा १०/१५ जना रुखमा चडेर बसेको खबर पाएको उनले बताए । ‘उनीहरूको उद्धारका लागि हेलिकोप्टर बोलाउने कि भन्ने छ ?,’ उनले भने ।

उनले भजनी नगरपालिकाभित्र एक हजार भन्दा बढी परिवार डुबानमा परेको बताए । उनले तीन सय बढी परिवार अर्काको विद्यालय, हुलाकी सडक, सेफ हाउसलगायतमा आश्रय लिएर बसेको बताएका छन् । जिल्लाको सवैभन्दा होचो भूभागमा रहेको भजनी हरेक वर्ष डुबानमा पर्छ । भजनी थापापुरका गंगा चौधरीले गत कात्तिकको जस्तै यो बर्ष पनि बाढीले धान बाँकी नराखेको बताए । घर र खेतमा पथरिया नदीको बाढी पसेपछि भित्रको अन्न र लत्ताकपडा सबै बगाएको उनले बताए । यस्तै, जानकी गाउँपालिका–४, ७ र ९ मा कर्णाली नदी, रानी जमरा कुलो र पथरैया नदीको बाढी पसेका छ । ‘पाँच सय भन्दा बढी बाढीबाट प्रभावित भएका छन्,’ चौधरीले भने, ‘साँझसम्म तीन सय परिवारलाई सुरक्षित स्थानमा सारेका छौं ।’

कैलारी गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले वडा ५ को मनकापुर, बन्दपुर, बजैपुर, सपान वडा ७ को बसन्ता, छटकपुर, रामपुर, नरायणपुर बस्ती जलमग्न बनेको बताए । जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले वडा ३ र ४का बस्तीमा पथरिया नदीको बाढी पसेको बताए ।

टीकापुर–१, २, ३ मा कर्णालीको बाढीले सात सय बढी घर प्रभावित भएको र दुई सय परिवार विस्थापित बनेको नगर प्रमुख रामलाल डगौराले बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले तीन दिनदेखिको वर्षाको बाढीले जिल्लाभरका खोलानाला र नदीमा बाढी आएको बताए । ‘खोलानालामा आएको बाढीले नदी तटिय क्षेत्रका अधिकांस बस्ती डुबान र कटानमा परेका छन्,’ उनले भने, ‘जिल्लाको दक्षिणी पुर्वी क्षेत्र जलमग्न भएको छ ।’ सेना, सशस्त्र र नेपाल प्रहरीलगायत रेडक्रसकर्मी उद्धार तथा तत्कालको राहात वितरणमा परिचालन भएको उनले बताए ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१३ झालागरी गाँउमा १७ वर्षीय नविना चौधरी बाढीले भरिएको तलाउमा माछा मार्न जाने क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा ४ सय परिवार विस्थापित

कञ्चनपुरको बनहरा र दोदा नदीको बाढीले दर्जनौं बस्ती डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्ती पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई अहिले स्थानीय विद्यालयमा राखिएको छ । दोदाको बाढीले लालझाडी गाउँपालिका पुरै डुबानमा परेको अध्यक्ष निर्मल रानाले बताए । उनका

अनुसार शिखलपट्टी जाईबाट बाढी वस्तीमा पसेर पूरै गाउँपालिका डुबानमा परेको छ । वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरूमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएको कञ्चनपुर प्रहरीका डीएसपी चक्रबहादुर शाहले बताए । ‘राति दुई/तीन बजे दोदाको बाढी बस्तीमा पसेपछि भागाभाग चल्यो,’ लालझाडी ३ कन्जका पहिलाद रानाले भने, ‘एकाएक घरभित्रै बाढी पसेर पिठो चामलसमेत जोगाउन सकिएन ।’

माथिल्लो क्षेत्रबाट तल्लो तटीय क्षेत्रमा दोदाको जलस्तर बढेको खबर ढिलो गरी पाइएकाले राति सुरक्षित स्थानमा जान नसकिएको उनले बताए । उनका अनुसार विस्थापित परिवारहरू नजिकैको विद्यालयमा बसिरहेका छन् । यसैगरी कृष्णपुर नगरपालिका ५ को पवित्रा वस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । कृष्णपुर ४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन् । बनहरा नदीको बाढी वस्तीमा पसेर बीचमा फसेका शुक्लाफाँटा नगरपालिका १२ दुबाहाका ४ परिवारका १६ जनालाई शनिबार बिहान उद्धार गरिएको छ ।

राति दुई बजेदेखि बाढी बस्तीमा पसेको हो । बनहराको बाढीले शुक्लाफाँटा नगरपालिका ११ को बनहरा शिविरका २५ टहरा बगाएको प्रहरीले जनाएको छ । बनहरा नदीको बाढीले शुक्लाफाँटा नगरपालिका १२ चित्रपुर र लालझाडी गाउँपालिकाको तिल्की जोड्ने झोलुंगे पुल भत्काएको छ । यसैगरी दोदाको बाढी बस्तीमा पस्दा पुनर्वास नगरपालिका–५ सिमरीमा पनि डेढ सय बढी परिवार विस्थापित भएका छन् । घरको आधा भाग बाढीले ढाकिएको छ । बाढीले हुलाकी सडक समेत बगाएको छ । जसका कारण आवागमन ठप्प भएको छ । शनिबार साँझदेखि नदीहरूमा जलस्तर घटे पनि विस्थापितहरू फर्किन सकेका छैनन् । घरभित्र पानी र हिलो भरिएका कारण अहिले नै जान सकिने अवस्था नरहेको डीएसपी शाहले बताए ।

महाकालीको जलस्तर बढ्यो

चुरेबाट बग्ने खोलामा जलस्तर घट्न थाले पनि महाकालीको जलस्तर बढ्दै गएको छ । शनिबार दिउँसो महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्युसेक पुगेको थियो । महाकालीमा जलस्तर बढेपछि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्दा चारपांग्रे सवारी आवागमनमा रोक लगाइन्छ । दार्चुला सदरमुकामको निर्माण भएको आठ मिटर उचाइको तटबन्धमाथि महाकालीको बहाव पुगेको छ । सदरमुकामको बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय र दशरथ आधारभूत विद्यालयको पछाडितिर महाकाली तटबन्धमाथि बगिरहेको स्थानीय चक्रबहादुर बमले बताए । दिउँसोपछि जलस्तर केही घटेको छ ।

प्रकाशित : आश्विन ३, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

गुमनाम गिडी दह

पर्यटकीय गन्तव्य बनाउन आवश्यक संरचना निर्माण र प्रचारप्रसारको माग
डीबी बुढा

जुम्ला — पर्यटकीय सम्भावना भए पनि तातोपानी गाउँपालिका–४ स्थित गिडी दहको प्रचारप्रसार हुन सकेको छैन । दहको संरक्षणका लागि सरकारी स्तरबाट कुनै प्रयास हुन सकेको छैन भने हालसम्म पर्यटक आकर्षणका लागि कुनै पूर्वाधार पनि निर्माण भएको छैन । संरक्षण गरी दहलाई पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको भनाइ छ । स्थानीय कपिल रोकायाका अनुसार घना जंगलको बिचमा रहेको दहले क्षण क्षणमा रंग बदल्छ ।

तालबाट बग्ने गिडी खोलाले तातोपानीका अधिकांश गाउँमा सिँचाइ सुविधा पुर्‍याइरहेको उनको भनाइ छ । ‘गिडी दहकै पानीले आसपासका बस्ती हराभरा भएका छन्, गिडी खोलाको पानीबाट निकालिएको बत्तीले गाउँहरू झिलीमिली भएका छन्,’ उनले भने, ‘तर त्यही खोलाको मुहानको रूपमा रहेको गिडी दह संरक्षणमा कसैको चासो देखिँदैन ।’

गिडी दह जंगलभित्र झन्डै २ दर्जन प्रजातिका वन्यन्तु र विभिन्न लोपोन्मुख पन्छीहरू पनि पाइने उनले बताए । जंगलभित्रको चराको चिर्बिर र वन्यजन्तुको आवाजले पर्यटकलाई रोमाञ्चक अनुभूति प्रदान गर्ने उनको भनाइ छ । तर अहिलेसम्म गिडी दहको क्षेत्रफल र गहिराइ ननापिनु विडम्बना भएको उनको भनाइ छ । तातोपानी–४ का वडाध्यक्ष अमर रोकाया गिडी दहले धेरैलाई उज्यालो र गाउँमा हरियाली दिए पनि केही गर्न नसकिएकोमा पछुतो व्यक्त गरे । उनले गिडी दहको प्रचारप्रसारका लागि असोज पहिलो साता गिडी दह सम्मेलनको आयोजना हुन लागेको जनाए । उनका अनुसार असोज ४ देखि ८ गते सम्म गिडी दहमा सम्मेलन गर्न थालिएको हो ।

‘सम्मेलनले कार्यपत्र प्रस्तुत गरी योसँग जोडिएका विभिन्न विषयहरूलाई बृहत् छलफलमा ल्याउनेछ,’ उनले भने, ‘जसले सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार निर्माणका लागि पनि ध्यानाकर्षण गराउने हाम्रो अपेक्षा छ ।’

सदरमुकाम खलंगादेखि तातापानी–४ हाँकुसम्म गाडीबाट यात्रा गर्ने सुविधा छ । हाँकुदेखि फुलचाउले पाटन हुँदै पानसय पाटन भएर झन्डै एक दिनको पैदल यात्रामा गिडी दह पुगिन्छ । दह पालिकाको आर्थिक समृद्धिको आधार पनि बन्ने उनले बताए । ‘गिडी दह कर्णाली प्रदेशको प्रख्यात ताल नै हो, तर प्रचारप्रसारको अभावले लुकेको अवस्थामा छ,’ वडाध्यक्ष रोकायाले भने, ‘सम्मेलनले दहको पर्यटन प्रवर्द्धनका लागि ठोस कार्ययोजना बनाउन सहयोग पुग्नेछ ।’ गिडी दहको संरक्षणका लागि राष्ट्रिय ताल संरक्षण समितिसँग समन्वय गरी पूर्वाधार निर्माणका लागि प्रस्तावना पेस भइसकेको उनले बताए । गिडी दहसम्म जाने बाटोको अवस्था अध्ययन गर्ने र होर्डिङ बोर्ड राख्ने वडा कार्यालयले सुरु गरिसकेको उनले जनाए ।

प्रकाशित : आश्विन ३, २०७९ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×