कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरैपिच्छे रुघाखोकीका बिरामी

कोरोनाको डरले चेक गराउनै मान्दैनन् बिरामी 
 कोरोना भए सामाजिक रुपमा गाह्रो हुन्छ भन्ने सोच 

बैतडी, अछाम, कञ्चनपुर — सातायता जिल्लामा घरघरै रुघाखोकीका बिरामी बढेका छन् । बालबालिकादेखि पाको उमेरसम्मका अधिकांशलाई रुघाखोकीले सताएको छ । केही दिनदेखि रुघाखोकीले परिवारलाई नै सताएको दशरथचन्द नगरपालिका–४ की पूजा बोगटीले बताइन् ।

घरैपिच्छे रुघाखोकीका बिरामी

उनले भनिन्, ‘एक हप्ता बढी भइसकेको छ । अझै सबै परिवारलाई सञ्चो भएको छैन ।’ रुघाखोकी भए पनि आफूहरूले कोरोना परीक्षण भने नगराएको र घरमै औषधि खाएर बसेको उनले बताइन् ।

जिल्लाका स्वास्थ्य संस्थाहरूमा पनि रुघाखोकी र ज्वरोका बिरामी बढिरहेका छन् । एक/दुई सातायता गाउँमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढिरहेको डिलासैनी गाउँपालिकाको गोकुलेश्वर स्वास्थ्यचौकीकी इन्चार्ज निर्मला जोशीले बताइन् । ‘घरघरमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ उनले भनिन्, ‘गाउँमा घरैपिच्छे मानिसहरू सुतेका छन् । स्वास्थ्यचौकीमा उपचारका लागि आउनेको संख्या पनि बढेको छ ।’

अहिले दैनिक उपचारका लागि स्वास्थ्यचौकी आउने बिरामीमा ३५ प्रतिशत रुघाखोकी र ज्वरोकै बिरामी रहेका पञ्चेश्वर गाउँपालिका–३ को कुलाउ स्वास्थ्यचौकीका इन्चार्ज दिनेश तिवारी बताउँछन् । गाउँघरमा अझै धेरै यस्ता बिरामी भए पनि कोरोना परीक्षण गर्न स्वास्थ्य संस्थामा नआउने गरेको उनले बताए । ‘कोरोना देखिए गाउँमा हल्ला हुने र एक्लै बस्नुपर्छ भन्ने डरले परीक्षण गराउन हिचकिचाउने प्रवृत्ति छ,’ उनले भने, ‘हामीले स्वास्थ्यचौकीमा आउनेमध्ये लक्षण मिलेका केहीको परीक्षण गर्छौं । केहीमा पोजिटिभ पनि देखिन्छ । धेरैजसो उपचारका लागि नै आउँदैनन् ।’

कोरोना परीक्षणका लागि स्थानीय डराउने गरेको गोकुलेश्वर स्वास्थ्यचौकीकी इन्चार्ज जोशी बताउँछिन् । उनले भनिन्, ‘गाउँभरि बिरामी भए पनि कोरोनाको डरले चेक गराउनै मान्दैनन् । कोरोना भयो भने सामाजिक रूपमा घुलमिल गर्न गाह्रो हुन्छ भन्ने सोच गाउँघरतिर छ ।’

जिल्ला अस्पताल बैतडीमा पनि अहिले रुघाखोकी र ज्वरोका बिरामीहरू दैनिक आउने गरेका छन् । २० जना जति रुघाखोकीका बिरामी मात्र आउने गरेका अस्पतालले जनाएको छ । उनीहरू सबैलाई कोरोना परीक्षण अनिवार्य गरिएको अस्पतालका सूचना अधिकारी हरिश पन्त बताउँछन् । उनीहरूमा केहीलाई कोरोना पनि देखिने गरेको उनले बताए ।

जिल्ला अस्पतालकै १३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ३ डाक्टर, ५ स्टाफ नर्स र अन्य ५ जना गरी १३ जना संक्रमित छन् । अन्य पालिकाका स्वास्थ्यकर्मीहरू पनि संक्रमित भएका छन् । मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूलाई कोरोना देखिएपछि इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको छ । ७ स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए ।

पालिकामा परीक्षण छैन

गाउँघरमा रुघाखोकीका बिरामी बढे पनि पालिकाले परीक्षणमा चासो दिएका छैनन् । जिल्लामा नेपाल—भारत सिमानाका झुलाघाट र जिल्ला अस्पतालमा मात्र दैनिक परीक्षण भइरहेको छ ।

पालिकाका स्वास्थ्य संस्थाहरूमा स्थानीय पनि जाँचका लागि नपुग्ने र पालिकाले पनि चासो नदेखाउँदा परीक्षणको काम भएको छैन ।केही दिनअघि पालिकामा परीक्षण गरिए पनि आजभोलि नभएको सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले बताए । अहिले पालिकामा एन्टिजेन किट नभएकाले पनि परीक्षण रोकिएको र जिल्लाबाट किट आए सुरु गर्ने योजना बनाएको उनले बताए । दोगडाकेदार गाउँपालिकामा पनि एन्टिजेन किट नभएको स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए । किट नभएकाले परीक्षण हुन नसकेको उनको भनाइ थियो । तर स्वास्थ्य कार्यालय, बैतडीका निमित्त प्रमुख जयबहादुर कुँवरले जिल्लामा किट मौज्दात भएको बताए । ‘पालिकाहरूमा पठाइरहेका छौं र माग फेरि आएका तत्काल पठाउने छौं,’ उनले भने ।

अछाममा बुस्टर डोज सुरु

अछाममा कोरोनाविरुद्धको तेस्रो चरणको खोप लगाउन सुरु भएको छ । कोभिसिल्ड र भेरोसेल खोप लगाएर ६ महिना पूरा भएका फ्रन्ट लाइनमा खटिनेहरूका लागि बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय अछामका फ्रन्ट लाइनमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मी, सञ्चारकर्मीलाई अहिले बुस्टर डोज लगाउन थालिएको छ । हालसम्म २ हजार १ सय ६ जनाले बुस्टर डोज खोप लगाएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

उनका अनुसार १८ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई कोभिसिल्ड, एस्ट्राजेनेका, भेरो सेल–साइनोफार्म र जोन्सन नामक खोप दिइएको छ भने १२ वर्षदेखि १७ वर्षभन्दा माथिका व्यक्तिहरूलाई फाइजर–बायोएनटेक र मोडर्ना खोप दिन थालिएको छ । अछाम १२ वर्षदेखि १७ वर्षसम्मका ३३ हजार ८ सय २४ जनालाई मोडर्ना खोप दिइएको उनले बताए ।

३२ हजार ८ सय ८७ लाई लगाउने लक्ष्य भए पनि धेरै समेट्न सकिएको उनको भनाइ छ । १८ वर्षभन्दा माथिका ५२ प्रतिशत जनताले दोस्रो डोज लगाइसकेको उनले बताए । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अछाममा पहिलो डोज लगाउने १ लाख २४ हजार ९ सय ६६ , दोस्रो डोज लगाउने ९९ हजार २ सय ७३ जना छन् ।

अगामी दिनमा १२ वर्षमाथिका सबैलाई खोप दिने तयारी भएको ढुंगानाले बताए । ढुंगानाका अनुसार निश्चित स्वास्थ्य संस्थाहरूबाट नियमित खोप सेवा प्रदान गर्ने कार्यनीति बनाइएको छ ।

उक्त नीतिमा प्रदेश र स्थानीय तहको नेतृत्वमा निश्चित स्थानमा अभियानका रूपमा खोप सेवा सञ्चालनका लागि योजना बनाउन थालिएको छ । छुटेका स्थान र समूहको पहिचान गरी कारण पत्ता लगाएर तिनीहरूलाई खोप प्रदान गरिनेछ । र कोभिड–१९ खोप सेवा सञ्चालनका कार्यनीतिअनुरूप निश्चित प्रकारको सूचना सम्प्रेषण, प्रवाहका लागि तयार पारिएको उनले बताए ।

कोरोनाविरुद्धको खोप सञ्चालनका क्रममा चुनौतीहरू भएको ढुंगानाले बताए । ‘सुरुवाती चरणमा खोपको बारेमा अफबाह फैलाएकाले सर्वसाधारणमा डर पैदा भयो,’ उनले भने, ‘सबैलाई खोप लगाउन सचेत गर्‍यौं अहिले कोभिड–१९ रोगविरुद्धको खोप लगाउन केही सर्वसाधारणले अझै मानिरहेका छैनन् ।’ उनका अनुसार अहिले पनि ढुवानीमा कठिनाइ, सीमित भ्याक्सिन र उमेर समूहको बाध्यता छ ।

कञ्चनपुरमा ६ हजारले लगाए बुस्टर डोज

कञ्चनपुरमा ६ हजार बढीले बुस्टर डोजको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेल र कोभिसिल्डको गरी ६ हजार ३ सय ६१ ले बुस्टर डोजको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवरका अनुसार कोभिसिल्डको खोप ५ हजार १ सय ४५ र भेरोसेलको खोप १ हजार २ सय १६ जनाले लगाएका हुन् । बुस्टर डोजको खोपका लागि २० हजार डोज कोभिसिल्डको खोप प्राप्त भएको छ । यसैगरी भेरोसेलको पनि केही मात्रा बाँकी रहेको कुँवरले बताए । अहिले जिल्लाका सबै स्वास्थ्य चौकीमा बुस्टर डोजको खोप दिइएको छ ।

कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र जनप्रतिनिधिलगायतलाई सरकारले माघ पहिलो साताबाट बुस्टर डोजको खोप दिन सुरु गरेको थियो । कञ्चनपुरमा भने खोप अभावका कारण केही दिन ढिलो गरी बुस्टर डोज खोप दिन सुरु गरिएको हो ।

जिल्लामा हालसम्म पहिलो डोज खोप पाउनेको संख्या करिब ८८ प्रतिशत पुगेको छ । खोप लगाउनुपर्ने ३ लाख ५२ हजार ९ सय ६२ मध्ये ३ लाख ९ हजार ४ सय २० ले पहिलो मात्रा खोप लगाएका छन् । यसैगरी खोप दिनुपर्ने लक्षितमध्ये ७२ प्रतिशतले दोस्रो मात्राको खोप पाएका छन् । दोस्रो मात्रा खोप पाउनेको संख्या २ लाख ५३ हजार २ सय ७६ छ ।

‘सरकारले तोकेको लक्ष्यभन्दा बढी नै खोप दिन सफल भएका छौं,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारले भने, ‘अहिले पनि जिल्लामा निरन्तर खोप अभियान चलिरहेको छ ।’

प्रकाशित : माघ १५, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?