कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा बझाङ पार्टी कार्यालयमा ओली समूहको ताला

काठमाडौँ — नेकपा ओली समूहका कार्यकर्ताले आइतबार जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् । दाहाल–नेपाल समूहले एकतर्फी रुपमा गुट भेला गरी कार्यालय दुरुपयोग गरेकाे भन्दै उनीहरुले ताला लगाएका हुन् ।

नेकपा बझाङ पार्टी कार्यालयमा ओली समूहको ताला

‘टुटफुटका गतिविधिहरुमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरेका हौं,’ अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीले भने, ‘पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक हो भन्ने फैसला नआएको सर्न्दभमा कुनै एक पक्षबाट कार्यालयको दुरुपयोग हुन नदिन यसो गरेका हौं ।’ उनले पार्टीको आधिकारिकता सम्बन्धी विवादको अन्तिम टुंगो नलागेसम्म ताला नखोलिने बताए ।

सोमबार जिल्ला कमिटीको बैठकका लागि दाहाल–नेपाल समूहका केन्द्रीय नेताहरु आउने थाहा पाएपछि तालाबन्दी गरिएको नेकपा ओली समूहकाे भनाइ छ ।

नेकपाका कार्यालय सचिव सुरतबहादुर सिंहले भने, ‘माथि जेसुकै भए पनि जिल्लामा छलफल गरेर एकैतिर लाग्ने वातावरण बनाउने सोचेका थियौं । केही साथीहरुले ताला लगाइदिएछन् ।’

दाहाल–नेपाल पक्षका जिल्लाका सचिव दमन भण्डारीले पार्टी कार्यालयमा ताला लगाए पनि सोमबारकाे बैठक नरोकिने बताए ।

प्रकाशित : पुस १२, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?