कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध रुपमा खोला उत्खनन गर्ने ६ ब्याकोलोडर प्रहरी नियन्त्रणमा

भवानी भट्ट

कञ्चनपुर — प्रहरीले बेदकोट नगरपालिका-४ बैतडास्थित बगुन खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ६ वटा ब्याकोलोडर नियन्त्रणमा लिएको छ । 

अवैध रुपमा खोला उत्खनन गर्ने ६ ब्याकोलोडर प्रहरी नियन्त्रणमा

ब्याकोलोडरबाट उक्त खोला अनियन्त्रित ढंगले दोहन गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बस्ती र वनकोबीचमा अविस्थित उक्त खोला उत्खननका लागि एकै ठाउँमा १० वटा ब्याकोलोडरको प्रयोग भइरहेको थियो । जसमध्ये ६ वटा प्रहरीले नियन्त्रणमा लिएको हो । एउटा बिग्रेको र अरु ठूला खालका भएकाले खोलामै छाडिएको छ ।

‘अनियन्त्रित ढंगले खोलाबाट उत्खनन् भइरहेको भन्ने गुनासो आएपछि हामीले नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको डीएसपी अमरबहादुर थापाले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’

उक्त खोलामा निर्माण सामग्री उत्खननका लागि बेदकोट नगरपालिकाले ८५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईई)को मापदण्डअनुसार दिनमा ३ सय घनमिटर मात्रै उत्खनन् गर्न पाउने उल्लेख छ । तर उक्त खोलाबाट तोकिएको भन्दा दोब्बर बढी उत्खनन भइरहेको देखिन्छ ।

प्रहरीका अनुसार खोला उत्खननमा १० लोडरसँगै ढुवानीका लागि ३६ टिपर र २२ ट्रयाक्टरहरुको प्रयोग भईरहेको थियो । टिप्पर र ट्रयाक्टरलाई भने फिर्ता पठाइएको प्रहरीले जनाएको छ । ‘खोला उत्खननले महाकाली सिँचाइ आयोजना तेस्रो चरणको संरचना समेत भत्किएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘लोडरले वन क्षेत्रभित्रै पसेर उत्खनन भएको छ ।’

उनले बेदकोट नगरपालिकाबाट ठेक्का सम्झौता र आईई रिपोर्ट माग गरिएको र त्यसको अध्ययनपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताए ।

खोलामा मापदण्ड विपरीत उत्खनन भइरहे पनि नगरपालिकाले भने नियमित अनुगमन गरिरहेको दाबी गरेको छ । ‘हामीले दैनिक रुपमा खोला नालाको अनुगमन गरिरहेका छौं,’ बेदकोट नगरपालिकाका इन्जिनियर सतिश शाहीले भने, ‘लाइन हाल्नेदेखि क्षेत्र छुट्याउने काम गरिरहेका छौं ।’

बेदकोट नगरपालिकाले बगुनसँगै घुर्सुवा र छेला खोला उत्खननका लागि ठेक्का दिएको छ । सबै खोलाबाट दैनिक बढीमा ३ सय घनमिटर मात्रै उत्खनन गर्न पाउने आईई रिपोर्टमा उल्लेख गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार बगुन खोलामा उत्खनन भइरहेको स्थल वन क्षेत्रमा पनि पर्छ । बैतडा सामुदायिक वन छेउबाटै उत्खनन भइरहेकाले यस विषयमा पनि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले बताए ।

प्रकाशित : मंसिर २३, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?