कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छात्रा बलात्कार घटना : उच्च अदालतले मिसिल झिकायो

कात्तिक १९ मा आरोपित भट्टलाई तीन लाख रुपैयाँ नगद धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको थियो ।
मोहन शाही

डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ । उच्च अदालत दिपायलले शिक्षक सोपीनाथ भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन बुझाउन जिल्ला अदालत डोटीलाई सोमबार आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय डोटीले आरोपित शिक्षक भट्टलाई पुर्पक्षका लागि तारेखमा छोड्ने जिल्ला अदालतको आदेश बदरका लागि उच्चमा पुनरावेदन गरेको थियो । पीडित छात्रा र उनका आफन्तले जिल्ला अदालतको आदेशले थप मर्माहित र पीडित बनाएको गुनासो राख्दै आएका थिए ।

केआई सिंह गाउँपालिका–४ स्थित झिमेमालिकाका भट्टमाथि १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । शिक्षक भट्टमाथि विभिन्न प्रलोभन र धम्की दिई बलात्कार गरेको आरोप छ ।

जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले कात्तिक १९ मा आरोपित भट्टलाई तीन लाख रुपैयाँ नगद धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको थियो । आइतबार दर्ता भएको पुनरावेदन मुद्दामा सोमबार सुनवाइ गर्दै उच्चका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीको एकल इजलासले ३ दिनभित्र सुरुको सक्कल मिसिलसमेत साथै राखी कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको हो ।

जिल्ला अदालतलाई थुनछेक आदेश गर्दा लिइएका आधार प्रमाणसमेत खुलाउन उच्चले भनेको छ । जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर केसीले अभियुक्त भट्टलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्नेमा जिल्ला अदालतले धरौटीमा छोड्दा न्यायसंगत नभएकाले पुनरावेदन गरेको बताए । जिल्ला अदालतबाट मिसिल आएमा संयुक्त इजलासबाट फैसला हुने उच्च अदालत दिपायलका शाखा अधिकृत चेतबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित : कार्तिक २४, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?