घरै बस्नुपर्दा चिढिँदै बालबालिका- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरै बस्नुपर्दा चिढिँदै बालबालिका

अर्जुन शाह

धनगढी — विद्यालय छुटेयता धनगढी– ५ का ११ वर्षीय सोमित बिष्टको स्वभावमा निकै परिवर्तन आएको छ । चार कक्षामा अध्ययनरत उनी फरासिला अनि सबैसँग घुलमिल हुन रुचाउँथे । अहिले एक्लै बस्छन् । बेलाबेला आमाबाबुसँग झर्किरहन्छन् । समयमा खाजाखाना खानसमेत रुचाउँदैनन् । बरु राति अबेरसम्म इन्टरनेट गेम खेल्छन् ।

‘मेरो बच्चाको स्वभाव निकै फेरबदल भयो । अहिले पढलेखमा त लगाउनै मुस्किल भइसक्यो,’ सोमितका बुबा प्रदीपले भने, ‘भोकप्यास पनि मान्न छाडेको छ । बच्चा एकोहोरो भएको छ ।’ गाउँटोलका अधिकांश अभिभावकले आफ्ना बच्चामा उस्तै समस्या रहेको सुनाए ।

६ महिनादेखि विद्यालय अवरुद्ध हुनु तथा लामो समयको बन्दाबन्दीका कारण घरमै बस्नुपर्दा बालबालिकामा गम्भीर मनोवैज्ञानिक समस्या देखापरेको अध्येताहरू बताउँछन् । बिर्सने, दिक्क लाग्ने, हैरानी महसुस हुने, अरूसँग कुरा गर्न मन नलाग्ने, व्यक्तिगत सरसफाइ गर्न मन नलाग्ने समस्या देखिएका बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक कार्यकर्ताहरूको भनाइ छ । बालबालिकालाई समय बिताउन गाह्रो हुने, टाउको तथा शरीर दुख्ने, परिवारका सदस्यसँग बस्न मन नलाग्ने, रिस उठ्नेलगायत समस्या देखिएको एक अध्ययनले औंल्याएको छ ।

बाल सहभागिताको क्षेत्रमा कार्यरत ६८ वटा संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले सुदूरपश्चिमका अछाम, बझाङ, डोटी, कैलालीसहित ३१ जिल्लामा बालबालिकामा परेको असरबारे हालै अध्ययन गरेको हो । ‘लामो समय घरभित्रै बस्नुपर्दा बालबालिकालाई चौतर्फी असर परेको देखिन्छ,’ सेती प्रादेशिक अस्पतालका बालविशेषज्ञ डा. हेमराज पाण्डे भन्छन् ।

अध्ययनमा सहभागी बालबालिकामध्ये ९ प्रतिशतमा बिर्सने समस्या देखिएको छ । त्यस्तै ६५ प्रतिशतले समय बिताउन गाह्रो हुने, १७ प्रतिशतले हैरानी महसुस हुने गरेको गुनासो गरेका छन् । १३ प्रतिशतमा रिस उठ्ने समस्या पाइएको छ । ८ प्रतिशत बालबालिकाले टाउको तथा शरीर दुख्ने समस्या रहेको बताएको कन्सोर्टियमका अध्यक्ष किरण थापाले जानकारी दिए ।

अध्ययनअनुसार विगतमा सप्ताहमा एक–दुई दिन छुट्टी भए मक्ख पर्ने बालबालिका यति बेला खुसी छैनन् । ८८ प्रतिशत बालबालिका सकेसम्म चाँडो विद्यालय खुलोस् भन्ने चाहना राख्छन् । अध्ययन अनुसार २९ प्रतिशत बालबालिका मात्र कुनै खालको वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएका छन् । वैकल्पिक पठनपाठन सञ्चालन भएका विद्यालयमध्ये करिब २० प्रतिशत मात्र प्रभावकारी देखिएका छन् । वैकल्पिक कक्षामा पनि निजी विद्यालयका माथिल्लो कक्षामा पढ्ने बालबालिकामा मात्र पहुँच छ । ‘यो संख्या पनि निकै कम रहेको पाइएको छ,’ थापाले भने ।

वैकल्पिक कक्षाको पहुँचमा भएका बालबालिका बढी मात्रामा अनलाइन कक्षामा छन् । तर यस माध्यमको पढाइमा सबैको सहज पहुँच छैन । ‘विश्वासिलो इन्टरनेट सुविधा नहुने, नियमित विद्युत् नहुने, विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक ल्यापटप, मोबाइल नहुनेलगायत समस्या छन्,’ धनगढीमै एक निजी विद्यालयका शिक्षक केशव महताले भने ।

अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार ५१ प्रतिशत विद्यालयसँग अनलाइन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्था छैन । ६८ प्रतिशत शिक्षक नै अनलाइन कक्षा व्यवस्थित सञ्चालन गर्न सक्षम नरहेको पाइएको छ । ८० प्रतिशत विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक सामग्री नै नभएको, ६० प्रतिशत परिवारले अनलाइन कक्षाका लागि आवश्यक सामग्री व्यवस्था गर्न सक्ने अवस्थामा नरहेको पाइएको थापाले बताए । ४६ प्रतिशत बालबालिकाले मात्र कोरोनाबाट बच्ने उपाय तथा रोकथामका उपाय अवलम्बन गरेको पाइएको छ ।

अध्ययनमा सहयोगी वर्ल्ड भिजनका अधिकृत विनयप्रकाश बरालका अनुसार सबै अभिभावकले आवश्यक विद्युतीय सामग्री किन्न नसक्ने र त्यससम्बन्धी आवश्यक जानकारीसमेत नहुने समस्या पनि छन् । सुविधा उपलब्ध हुने परिवारका बालबालिकाले पनि अनलाइन वा वैकल्पिक कक्षाका लागि शान्त वातावरण नपाउने, अनलाइन कक्षामा अनलाइन देखिए पनि ध्यान अन्यत्रै हुने अवस्था रहेको बरालले बताए ।

बालबालिकाले बन्दाबन्दीको समयमा पनि हिंसा महसुस वा अवलोकन गरेका छन् । जसमध्ये १६ प्रतिशत बालबालिकाले फोनमार्फत हिंसा भएको बताएका छन् । २२ प्रतिशतले मानसिक तनाब वा दबाब रहेको, १६ प्रतिशतले यौनजन्य हिंसा वा दुर्व्यवहार भएको उल्लेख गरेका छन् । यस्तै इन्टरनेटमार्फत हुने हिंसा १३ प्रतिशत, बलात्कारको प्रयास ९ प्रतिशत पाइएको अध्ययनले देखाएको छ ।

यस्तो अवस्थामा अभिभावकले बाल–मनोविज्ञानको निकै ख्याल गर्नुपर्ने मनोविद्हरू औल्याउँछन् । ‘बच्चाहरू एक्लो बस्न खोज्ने, मोबाइल बढी चलाउन खोज्नेलगायत समस्या विकराल बनिरहेका छन्,’ काउन्सिलिङ साइकोलोजी नेपालकी बालमनोविद् रोजी महर्जन भन्छिन्, ‘अभिभावकले आफ्नो बच्चामा पहिला र अहिलेको व्यवहारमा कुनै अन्तर आएन–आएको निकै ख्याल गर्नु जरुरी छ । यति फरक देखिन थाल्यो भने बेवास्ता गर्नै हुन्न ।’

प्रकाशित : भाद्र २४, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

बीपी कोइराला : एक शब्दचित्र

'मन नपरेपछि अथवा रिस उठेपछि बीपी आफूभन्दा कनिष्ठलाई पनि ‘तपाईं’ भनेर सम्बोधन गर्ने अनि ज्यादै प्रसन्न भएको बेलामा एकैपल्ट दुई खुट्किला भर्‍याङ चढ्ने स्वभाव थियो ।'
रमेशनाथ पाण्डे

तत्कालीन नेपालको राजनीति तरल अवस्थामा थियो । २०१४ मङ्सिरको कुरा हो । अस्थिर राजनीति, आमचुनाव तथा अन्य समसामयिक विषयमा नेपाली कङ्ग्रेसका सभापति बीपी कोइरालाको अन्तरवार्ता लिन म बिहानै नारायणचौर बाँसको झाडीछेउ उभिएँ ।

क्षेत्रपाटीबाट गणेशमान सिंह हिँडेरै बीपी निवास आउनुहुन्थ्यो, बीपी र गणेशमान बालुवाटारस्थित सुवर्णशमशेरको घर ललिता निवास हिँडेरै जानुहुन्थ्यो । भाटभटेनी बस्ने सूर्यप्रसाद उपाध्याय पनि सम्मिलित हुनुहुन्थ्यो । अनि, कङ्ग्रेसका चार शीर्षस्थ नेताहरु बिहानको चिया खाँदै सरसल्लाह गर्न थाल्थे । यो उनीहरुको प्रतिदिनको कार्यक्रम थियो । घरबाट बालुवाटारसम्मको बाटोमा हिँड्दै मैले बीपी कोइरालासँग पहिलो अन्तर्वार्ता लिएँ । दिउसो अङ्ग्रेजी दैनिक 'दि कमनर' र 'दैनिक जनता'मा छापियो । नागपोखरीदेखि ललिता निवासको बाटो हिँड्दाहिँड्दै बीपीसँग धेरै पटक र गणेशमान सिंहसँग एक पटक अन्तर्वार्ता लिएको थिएँ ।

पहिलो पटक अन्तरवार्ता लिँदाको बीपीको छवि मेरो स्मरणमा यस्तो छ- घिउ रङको लबेदा सुरूवाल, त्यस्तै रङको कोट, ढाकाको टोपी, अग्लो कद अनि गोरो अनुहार । बीपीको हिँडाइको गति असामान्य हुन्थ्यो । आफ्नो‍ कुरा टिप्न मलाई सजिलो होस् भनेर बीचबीचमा उहाँ हिँडाइको गति सुस्त बनाउनुहुन्थ्यो । मेरो प्रश्न सुनेर उहाँको ओठमा आउने हलुका मुस्कान र अनुहारको स्नेहभाव अहिले पनि झलझली सम्झना हुन्छ । बीपी राम्रो हुनुहुन्थ्यो, सुन्दर देखिने सबै कुरा थियो उहाँमा । शरीरको बनोट, कद, रङ र बोलीचाली, मुस्कान सबै आकर्षक भएका बीपी कोइराला २००७ सालपछिका नेपालका प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा राम्रा हुनुहुन्थ्यो । बीपीको कुन पक्ष मलाई सबैभन्दा राम्रो लाग्छ ? जवाफ खोज्न सोच्नै पर्दैन । मलाई बीपीको मुस्कान बढी मन पर्थ्यो । आँखा चिम्लिएर सम्झँदा सामुन्ने मुसुक्क हाँसिरहेको, निर्दोष मुस्कानले हेरिरहेको- मन छुने मुस्कान, तिलस्मी मुस्कान ! अनि जिभ्रोले ओठ भिजाइरहने, रूमालले ओठ पुछिरहने, दिल छुने हेराइ र सम्मोहनकारी मुस्कान !

बीपीको जीवनलाई नियतिले असङ्गतिहरुको सँगालो बनाइदिएको थियो । सरस्वतीको वरदान भए पनि लक्ष्मीको कृपा भएन । उहाँ सौखिन हुनुहुन्थ्यो तर अम्मली होइन । पैसाको दु:ख थियो तर राम्रो लाउनुपर्ने, मिठो खानुपर्ने । काफलको सर्बत उहाँलाई खुब मन पर्थ्यो । नेपालमा बीपीले सधैं लबेदा सुरूवाल, कोट र टोपी मात्रै लाउनुभयो । प्रधानमन्त्री रहँदा कालो कोट, सेतो लबेदा र सुरूवाल अनि कालो भादगाउँले टोपी तर त्यसअगि अन्य रङको लबेदा सुरूवाल, कोट र ढाकाको टोपी । प्रधानमन्त्री रहुन्जेल बीपीसँग जम्मा तीनओटा कोट मात्र थिए । सुट, कमिज र टाई एउटा पनि थिएन । संयुक्त राष्ट्रसङ्घ महासभाको अधिवेशनमा भाग लिन २०१७ असोजमा न्युयोर्क जाँदा बीपीले आफ्‍नै मन्त्री डा. तुलसी गिरीका दुई जोर सुट सापटी लिनुपरेको थियो । ती सुटहरु मन्त्री गिरीका निजी सचिव सुशील कोइरालाले ल्याएका थिए । बीपीले कहिल्यै चुरोट नखाए पनि पछिल्लो समय सिगारको भने राम्रै सौख थियो । सुन्दरीजल जेलमा थुनिँदा सुरू भएको यो सौखबारे मेरा दुइटा सम्झना छन् ।

पहिलो छ, चुरोटबारे । बीपी प्रधानमन्त्री भएको बेला भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो दोस्रो पटक । म जनता दैनिकको सम्पादक थिएँ । नेहरुलाई भेटाउन दिवाभोजपछि कोठामा आउने अनुमति दिनुभएको थियो बीपीले । भ्रमणको दोस्रो दिन दुई प्रधानमन्त्रीबीच त्रिपुरेश्वरस्थित प्रधानमन्त्री निवासको माथिल्लो कोठामा दिवाभोज भएको थियो । म पस्ता दिवाभोज सकेर दुवै प्रधानमन्त्री आराम गरिरहेका थिए । नेहरुको मुखमा चुरोट थियो, बीपी अलि पर झ्यालअगाडि हुनुहुन्थ्यो । बीपीलाई चुरोटको गन्ध र धुवाँ दुवै मन पर्दैनथ्यो, त्यसैले विशिष्ट पाहुनाभन्दा निकै पर बस्नुभएको । तर, सुन्दरीजल जेलमा थुनिएपछि बीपीले सिगार खान थाल्नुभयो । क्युबाको रोमियो जुलियट उहाँको मन पर्ने सिगार थियो । २०२० साउन ३ गते म सुन्दरीजल जेलमा अबेर राति गएको थिएँ । हलुका हरियो रङको टपकोट लगाएका बीपीले खल्तीबाट रोमियो जुलियट सिगार झिकेर एकैछिन औंलाले चलाएपछि सल्काएको, लामो कस लिएर धुवाँ फ्‍याँकेको, भेटघाट गर्न प्रयोग भएको पहिलेको ग्यारेज धुवाँले भरिएको दृश्य अहिले पनि आँखामा आइरहेछ । सिगारको कस लिँदा उहाँको अनुहारमा चिन्तन र धुवाँ फ्‍याँक्ता तनावमुक्त भावभङ्गी देखेको थिएँ ।

बीपीका बानीहरु असामान्य थिए । उहाँलाई आफ्नो लोकप्रियतामा विश्वास थियो । यसैले राजालाई भेटेर नारायणहिटी दरबारबाट निस्किएपछि झन्डावाल गाडी र सुरक्षा अधिकारीलाई छाडेर एक्लै हिँडेरै नागपोखरीस्थित भाइ तारिणीप्रसाद कोइरालाको निवास आउने बानी थियो । मन नपरेपछि अथवा रिस उठेपछि बीपी आफूभन्दा कनिष्ठलाई पनि ‘तपाईं’ भनेर सम्बोधन गर्ने अनि ज्यादै प्रसन्न भएको बेलामा एकैपल्ट दुई खुट्किला भर्‍याङ चढ्ने स्वभाव थियो । यसै गरी विशेषै रुपमा उत्साहित हुँदा उहाँको हिँडाइको गति तेज हुन्थ्यो । पारिवारिक मामिलामा अप्रिय प्रतिक्रिया व्यक्त गर्नै पर्ने अवस्था पन्छाउन शीर्षासन गर्नुहुन्थ्यो ।

***

हिजोआज मानिसहरुमा औंलाले कलम समातेर कागजमा चिठी लेख्ने जाँगर मरिसकेको छ । चिठी पठाउन हुलाक अड्डासम्म गएर, टिकट किन्न लाममा उभिने जाँगर अनि पालो कुरेर चिठी खसाल्ने उत्साह र जबाफको प्रतीक्षामा अनुभूत गरिने उत्तेजना पनि अब एकादेशको कथा भइसक्यो । लेख्न सजिलो, पठाउन सजिलो, पाउन सजिलो मेसेन्जर, ट्विटर, भाइबर र विभिन्न एपहरुको प्रभुत्व पूर्ण रुपमा कायम भएकाले अब इमेलसमेतले आफ्नो प्रभाव क्षेत्र खुम्च्याउँदै गएको छ । बाल्यकालदेखि नै इन्टरनेट जीवनको अभिन्न अङ्ग बनिसकेको आजको पुस्तामा चिठी लेख्ने कला पनि शिथिल भइसकेको छ । की–बोर्डमा औंला चलाएर लेख्ने, मेट्ने, पुनर्लेखन गर्ने सुविधामा हुर्किएको युवा पुस्ताले हस्तलिखित चिठीको विशेषता भावनात्मक परिवेशमा अनुभूत गर्न सक्तैन ।

वास्तवमा इन्टरनेटमा मेल पढ्ने र लेख्ने, छिनभरमै पुगिहाल्ने, पढेर जवाफ पनि आइहाल्ने तीव्र गतिको यन्त्रवत् युगमा हस्तलिखित चिठी लेख्ताको मानसिक अवस्था, पत्र आउने अनिश्चयको पीडा र प्रतीक्षाको छटपटी, भावनात्मक व्यग्रताको तुलबुली उत्सुकतासहितको उत्तेजनाको राप अनि खाम खोलेर पट्याएको चिठी जतनसँग फुकाएर पढ्ने धैर्य वा हतारोको दबाब बुझ्न र बुझाउन सजिलो छैन । दिलको मनोभाव र दिमागको नापतौल मिलाएर व्यक्त गरिने लिखित विचार तथा मेसिनको सरल माध्यमबाट प्रकट हुँदा विचारको गहिराइ एवं दिल र दिमागबीचको दूरी नाप्ने भावनात्मक उत्तेजना अनुभूत गर्ने धैर्य कम्प्युटर युगका मानिसहरुसँग छैन । यस्तो अवस्थाको खुलदुली पढेर हृदयस्पर्शी अनुभव गर्ने जाँगर पनि अहिलेको हतारोको युगसँग छैन ।

तर, हातमा मसी पोत्तै, अक्षर राम्रो पार्दै, सिप मिलाएर डिकोले शृङ्गार लाउँदै कलमले चिठी लेख्ता र हुलाकीको बाटो हेरेर चिठीको जबाफको प्रतीक्षामा बिताइने उत्तेजनायुक्त दिनहरु, दोधारको मानसिक चञ्चलता, अज्ञात आशङ्काले हुने पीडा र उदासीनता एवं हातमा आएको खाम च्यातेर, जतनसाथ पट्याएको पत्र खोलेर मनमनमा पढ्न थाल्दा लाग्ने थोरै समयमा पनि एक्कासि बढ्ने मुटुको धड्कनको उत्सुकता र आशङ्काको भूकम्प अवर्णनीय हुन्थ्यो । यसको सानो अंश पनि छिनभरमै पठाउन र जवाफ पाउन सकिने सरल संयन्त्रमार्फत विद्युतीय गतिमा आदानप्रदान हुने चिठीमा अनुभूत गर्न सकिँदैन । यसैले हस्तलिखित चिठीको भावनात्मक खुलदुली, लेखेर काटेको शब्द पढ्ने उत्सुकता र फेरेको शब्दसँग तुलना गर्दाको मानसिक हलचल कम्प्युटरमा लेखिएको यन्त्रवत् चिठीमा हुँदैन । कलमले लेखेको चिठीमा जस्तो कम्प्युटरमा लेखेको चिठीमा मुटुको धड्कन सुनिँदैन ।

हस्तलिखित अक्षरको सौन्दर्य वा कुरुपता जे भए पनि त्यसबाट बनेका शब्दहरुको मिठास एवं आत्मिक अनुभव अलौकिक हुन्छ । चिठीका अक्षर र हरफका अस्थिर बाङ्गाटिङ्गा रेखामा प्रेषक (लेख्ने) को चरित्र र मनस्थितिबारे मनोवैज्ञानिक अध्ययन गर्ने ज्ञानको महत्‍त्‍वपूर्ण फाँट नै अहिले बन्द भइसक्यो । लेख्ने व्यक्तिको वैचारिक स्तर तथा सामाजिक हैसियतबाट बनेको छविबीचको भिन्नता उदेकलाग्दो अथवा सम्मोहक हुन्छ । हस्तलेखन शैक्षिक विराशतको अंश हो, लेख्ने मानिसको सीप । यो गुमाउनुको अर्थ अक्षरको अपाङ्गता हो । कम्प्युटरमा लेखिने चिठीका अक्षरहरु भावनात्मक अनुभूतिको सन्दर्भमा कहिल्यै जीवन्त हुँदैनन् । बुढीऔंलाको छाप जस्तै हस्तलेखन व्यक्तिको आफ्नो, अलग्ग, मौलिक हुन्छ, अरुसँग मिल्दैन । डिको दिने ढाँचा र अक्षरको आकारले लेखकको स्वभाव बताउँछ । यो मापदण्डमा विश्वेश्वरप्रसाद कोइरालाका चिठी कहाँ उभिन्छन् ? अक्षरविज्ञानका आधारमा मूल्याङ्कन गर्दा यी चिठीहरुले बीपीकोे कस्तो मानसिक, चारित्रिक र बौद्धिक परिचय दिन्छन् ? हस्तलेखनको वैज्ञानिक मूल्याङ्कनले लेख्ताको मानसिक अवस्था तथा व्यक्तित्वको कस्तो परिचय दिन्छ ?

टाइप राइटर अथवा कम्प्युटरमा छापिने चिठीमा प्रयोग हुने शब्दहरु यन्त्रवत् हुन्छन् तर हस्तलिखित चिठीमा भावनाको खटनमा शब्दहरुको चयन हुने, मानसिक अवस्थाअनुसार हरफहरु सोझो वा माथि उक्लने अथवा भिरबाट तल झर्ने निर्क्यौल अनुसन्धाताहरुको छ । महात्मा गान्धीका अङ्ग्रेजी र हिन्दी हस्तलिपि साह्रै खराब थिए । उहाँ आफैले लेखेका अक्षर चिन्नु हुन्नथ्यो, यसैले आफ्नै अक्षरबाट बनेका वाक्यांशहरु आफै पढ्न सक्नु हुन्नथ्यो । गान्धीले १९३९ जुलाई २३ मा जर्मन तानाशाह एडल्फ हिटलरलाई ‘मानवताको हितमा द्वन्द्व पन्छाउन’ आग्रह गर्दै चिठी लेख्नुभएको थियो । तर, टाइप गरिएको हुनाले अक्षरविज्ञानमा यसको कुनै महङ्खव छैन ।

गान्धीले दोस्रो विश्वयुद्ध रोक्ने प्रयासमा लेखेको सो चिठी भारतलाई उपनिवेश बनाएर शासन गरिरहेको ब्रिटिस सरकारले जफत गरेकाले हिटलरले पढ्न पाएनन् । हिटलरलाई ‘प्रिय मित्र’ भनी सम्बोधन गरिएको सो चिठी टाइप गरिएको थियो, गान्धीले सही मात्र गर्नुभएको थियो । औपचारिकता निर्वाह मात्र अनुभूत हुने यो पत्र विपरीत सन् १९५३ मा ब्रिटिस वैज्ञानिक फ्रान्सिस क्रिकले बिसौं शताब्दीको महानतम आविष्कार डीएनए पत्ता लगाएपछि आफ्नो २१ वर्षको छोरालाई कलमले चिठी लेखेका थिए ।

साठी वर्षपछि सन् २०१३ अप्रिलमा भएको लिलामीमा ६० लाख अमेरिकी डलरमा बिक्री भएको यो हस्तलिखित चिठीमा वैज्ञानिक क्रिकले आफ्नो आविष्कारको प्रसन्नतामा छोरालाई सामेल गर्न लेखेका वाक्यांशहरु प्रभावकारी छन् । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयले तत्कालीन अमेरिकी राष्ट्रपति आइजनहावरलाई सन् १९६० जनवरी २४ मा लेखेको चिठी पनि हस्तलिखित थियो । एउटा राष्ट्रप्रमुखले अर्को राष्ट्रप्रमुखलाई लेखेको व्यक्तिगत सामीप्य दर्सिने यस्तो चिठी विरलै पाइन्छ । ठुलठुला र नराम्रा अक्षरमा लेखिएको यो चिठीमा व्यक्त सम्बन्ध र अनुभूतिको न्यानोपन टाइप वा कम्प्युटरमा छापिने चिठीमा अनुभूत गर्न सकिँदैन ।

***

चर्चिल, नेहरु र बीपीका हस्ताक्षरमा धेरै समानता थिए, बुझिनेमा निरन्तरता । माओ त्से तुङको हस्ताक्षर कुनै बेला सिधा र कुनै बेला माथिबाट तल हुन्थ्यो । ‘हिस्टोरम डट कम’ ले उद्धृत गरेको माओको अङ्ग्रेजी हस्ताक्षर नेहरु र बीपीका जस्तै प्रस्ट बुझिने नाम थिए । ‘अटोग्राफ कलेक्सन डट कम (युके)’ ले प्रदर्शन गरेको चार्ल्स दे गालका दस्तखतहरु पनि प्रस्ट बुझिने नाम छन् । लिलाम बजारमा १२,५०० डलरमा बिक्री भएको स्टालिनको हस्ताक्षर रुसी क्रान्तिलगत्तै १२ मे १९१७ मा गरेको हस्ताक्षरभन्दा छोटो थियो ।

व्यक्तिको हैसियत एवं आत्माभिमानबीच हस्ताक्षरको आकारले निकटको सम्बन्ध राखेको हुन्छ । प्राविधिक शब्दावलीमा अक्षर विज्ञानको निष्कर्षमा प्रत्येक व्यक्तिको हस्तलेखन शैली अनुपम हुन्छ र यसले व्यक्तिको व्यक्तित्व दर्साउँछ । यस आधारमा बीपीका चिठीहरुलाई सिर्जनात्मक चिठी लेखन सीपको नमुनाको रुपमा लिनु सही हुन्छ । मलाई लेखेका छोटादेखि निकै लामा चिठीहरुमा उल्लेखनीय विशेषतायुक्त छन् । कुनै कुनै चिठीमा मात्र एक–दुई शब्द काटेर नयाँ शब्द लेखिएका छन् ।

हरफ त कुनै चिठीमा पनि काटिएको छैन । यसले बीपीको लेखाइमा व्यक्त विचार र भावमा कृत्रिमता पटक्कै नरहेको बोध हुन्छ । नेसनल पेन कम्पनीका अनुसार हस्तलिखित चिठीमा अक्षरको आकारमा भिन्नता, शब्दहरुबीच छोडेको ठाउँ, बीचको फराकिलो अथवा साँघुरो ठाउँले मानसिक चरित्र बताउँछ । बीपीका हस्तलिखित चिठीहरुको लेखाइमा अक्षरको समान आकार, डिको दिने मौलिक शैली र अभिव्यक्तिको अविरल धार उल्लेखनीय छन् ।

-लेखकको प्रकाशोन्मुख कृति ‘क्रान्ति र प्रतिक्रान्ति’ एक अंश

प्रकाशित : भाद्र २४, २०७७ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×